विचार–गोष्ठीमा इतिहास शिरोमणि: ‘बाबुराम आचार्य र उनको योगदान’ योगदानमाथि चर्चा

विचार–गोष्ठीमा इतिहास शिरोमणि: ‘बाबुराम आचार्य र उनको योगदान’ योगदानमाथि चर्चा

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १, २०७८

काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औँ जन्मजयन्तीका अवसरमा आइतवार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सामाजिक शास्त्र विभाग प्रमुख प्राध्यापक दिनेशराज पन्तको सभाध्यक्षतामा आयोजित उक्त विचार–गोष्ठीलाई सम्बोधन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न र पुरस्कार स्थापना गर्ने प्रस्ताव सर्वप्रथम प्रज्ञा–प्रतिष्ठानले नै अघि बढाएको सुनाउनुभयो ।

आचार्यको जन्मदिन पारेर इतिहास दिवस घोषणाको प्रस्ताव राम्रो भएकाले सरोकार भएका सबै निकायको सल्लाहमै यसलाई पनि कार्यान्वयनमा अघि बढाइने उहाँको भनाई थियो ।

उपकुलपति डा. जगमान गुरुङले सन् १८५६ मा विदेशी नागरिकका नाममा विश्वको सर्वोच्च शिखरको नामकरण भएकामा बाबुराम आचार्यले नेपाली नाम सगरमाथा नामकरण गरेकाले उहाँको योगदान नेपालका लागि उच्च रहेको बताउनुभयो । यस्ता व्यक्तित्वको नाममा इतिहास दिवस घोषणा गर्नु उपयुक्त हुने उहाँको विचार थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको बताउनुभयो ।

विचार–गोष्ठीमा गोष्ठीपत्र प्रस्तुत गर्नुहुँदै वरिष्ठ संस्कृतिविद् डा. गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभयो । 'आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासका रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो । नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा नेपाली नाम राख्ने लगायतका योगदानको कदर गर्दै उहाँको जन्म दिन फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गरिनुपर्छ'  उहाँले भन्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले इतिहास शिरोमणि बाबुराम आचार्यका नाममा यसै वर्षदेखि सरकारले पुरस्कार दिने तयारी गरेको जानकारी गराउनुभयो । रु दुई लाख राशिको पुरस्कार प्रत्येक वर्ष इतिहास, पुरातत्व, संस्कृतिका क्षेत्रमा योगदान गर्नेलाई प्रदान गरिने उहाँले सुनाउनुभयो । उहाँले पुरस्कार छनोटका लागि समिति गठन भइसकेकाले केही दिनमा नै घोषणा हुने जानकारी गराउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेश आचार्यले आफू संस्कृति मन्त्रालयको संस्कृति महाशाखा प्रमुख हुँदा पुरस्कार दिन प्रस्ताव गरेको स्मरण गर्नुभयो । बिपीको नाममा लोकतान्त्रिक पुरस्कार र पूर्व संस्कृति मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका नाममा पनि पुरस्कार स्थापनाका लागि त्यसबेला प्रस्ताव गरी अघि बढेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । उहाँले इतिहास शिरोमणि आचार्यका नाममा बागमती किनारमा पार्क र पर्यटन बोर्डको भवनको नाम राख्न सकिने बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री मोदनाथ प्रश्रित, प्रा.डा. सुरेन्द्र केसी, पूर्व राजदूत निरञ्जनमानसिंह बस्नेत, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभएको थियो ।