प्रदेश प्रमुख यादव चन्द्र शर्माद्वारा हेटौंडाको सेन्टर फर अटिजम अवलोकनमा

प्रदेश प्रमुख यादव चन्द्र शर्माद्वारा हेटौंडाको सेन्टर फर अटिजम अवलोकनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७८

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार हेटौँडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि सञ्चालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिजम सन्तानका आमाबाट सञ्चालन आरम्भ भएको सेन्टरलाई सफलताको कामना गर्दै यस कार्यबाट आफू प्रभावित बनेको बताए । ‘अटिजम भएका बालबालिकालाई ध्यान दिएर यहाँहरूले सञ्चालन गर्नुभएको सेन्टरले सफलता प्राप्त गरोस् ।’ प्रमुख शर्माले भने,‘यसबाट अटिजम भएका बालबालिकाको सिकाई तथा विकास अभिवृद्धि भई सक्षम नागरिक तयार गराउन सघाउ पुग्नेछ भन्ने आशा लिएको छु ।’

सेन्टरमा हाल अटिजम भएका ३ देखि १० वर्षका १३ जना बालक रहेका छन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उनीहरूलाई आवश्यकता अनुसार सिकाई तथा थेरापी पद्धतिबाट उपचार गराइने सेन्टरकी संयोजक अस्मिता कालिका थपलियाले जानकारी दिइन् । ‘हामी तीन जना अटिजम सन्तानका आमाहरूले सुरु गरेको सेन्टरमा अहिले धेरैको चासो छ ।’ उनले भनिन्, ‘अटिजम भएका बालबालिकाको शिक्षा सिकाई तथा उनीहरूको मानसिक विकासका लागि हामीले एउटा प्रयत्न गरेको हौँ ।’

अहिले भाडाको घरमा सञ्चालन गरिएको सेन्टरको संयोजक थपलिया, निशला श्रेष्ठ र उमा पौडेलले व्यवस्थापन गरिरहेका छन् । एक जना अकुपेसनल थेरापिस्ट तथा अन्य ८ जना शिक्षक गरी ९ जना कर्मचारीको पारिश्रमिक तथा अन्य आवश्यक व्यवस्थापन उनीहरूले गरिरहेका छन् । आफ्नै बच्चाको सिकाई तथा उपचार हुनाका साथै समुदायका अन्य अटिजम बालबालिकालाई लाभ पुगिरहेको सेन्टरका सचिव शेखर थपलियाले बताए ।

गत वर्ष चैतबाट संचालित सेन्टरलाई अझै व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन गराउन सहयोगीको खाँचो रहेको थपलियाले बताए । ‘समुदायमा अटिजम भएका धेरै बालबालिका छन् । उनीहरूलाई सिकाई तथा उपचारमार्फत सामान्य जीवनमा पुर्‍याउन यस सेन्टरलाई थप विकास गर्नु आवश्यक छ ।’ उनले भने,‘ सहयोगी दाता तथा सरकारी क्षेत्रबाट यसतर्फ ध्यान गएमा हामीले सोचे अनुसार सफलता प्राप्ति हुने थियो ।’

धेरैलाई अटिजम के–कस्तो खालको रोग हो भनेर जानकारी समेत नहुने भएकाले यसबारेमा अभिभावकहरू जानकार हुनु आवश्यक रहेको उनी बताउँछन् । यो विशेष गरी बच्चाहरूलाई लाग्ने एक प्रकारको मानसिक रोग भएकाले यसतर्फ समेत हुनुपर्ने उनी बताउँछन् ।  बच्चाको सही तरिकाले मानसिक वृद्धि र विकास समेत हुन नपाउने रोगबाट उनीहरूलाई सामान्य अवस्थामा ल्याई विद्यालयमा पढ्न जान सक्ने बनाउँन आफूहरूले सेन्टर सञ्चालन थालेको सचिव थपलियाको भनाई छ ।

सेन्टरमा कार्यरत अकुपेसनल थेरापिस्ट डा।श्रमिका श्रेष्ठ अटिजम भएका बालबालिकाको थेरापीबाट उपचार, शिक्षण सिकाइका साथै बालबालिकालाई जीवनशैली सिकाउने कार्य समेत गरिएको बताउँछिन् । अटिजम भएका व्यक्तिको लागि सबैभन्दा प्रभावकारी उपचार उनीहरूमा रहेको कमजोरी पक्ष अर्थात् सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नु रहेको उनी बताउँछिन् ।

अटिजम भएका बालबालिका प्राय सन् अन्य बच्चा जस्तो कुनै पनि कुराको तत्काल प्रतिक्रिया जनाउन नसक्ने, बोल्न नसक्ने, जन्मिएको ९ महिना कटिसक्दा पनि राम्रोसँग नहाँस्ने तथा कुनै पनि प्रतिक्रिया नजनाउने, अरूको मुहारमा हेरेर कुराकानी गर्न इन्कार गर्ने  लगायत अवस्था भएमा अटिजमको लक्षण बुझ्नुपर्ने उनको भनाई छ । यस्तै, मानसिक विकास राम्रोसँग नहुनाले यस्ता बच्चाहरूको स्मरण शक्ति अत्यन्तै कमजोर हुने र बोलेका कुराहरू तुरुन्तै बिर्सने समस्या हुनसक्ने भएकाले यस्ता सेन्टरमार्फत उनीहरूमा सिकाई तथा बुझाई क्षमता बढाउँदै विद्यालय जान्ने बनाउँनुपर्ने श्रेष्ठ बताउँछिन् ।