स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एस

स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एस

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७८

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ । 

तापनि  २ दिनभित्र बैठक बस्ने तयारीे भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारुढ अर्को दल नेकपा (माओवादी केन्द्र)को पनि जोड छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् । 
तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित भने छैन । 

कांग्रेस नेतृत्वमा रहेको वर्तमान ५ दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि बनेको हो । 

गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् ।