नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले जे देखे...

नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले जे देखे...

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

काठमाडाैं । दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन् । किताब पब्लिसर्सले प्रकाशन गरेको सो पुस्तकका केही सन्दर्भ यस्ता छन् :

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो ।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आपूmलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्‍व थियो । मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो । आजको नयाँ पत्रिका दैनिकमा यो सामग्री छ ।