मधेसमा फेरिएको राजनीतिको रङ

मधेसमा फेरिएको राजनीतिको रङ

अनिल तिवारी  |  दृष्टिकोण  |  चैत्र ४, २०७८

पर्सामा होली पर्वको रौनकैसँगै राजनीतिक दल र नेता चुनाव केन्द्रित रणनीतिमा सक्रिय हुन थालेका छन् । नाकाबन्दीका बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगंजलगायत पर्सा जिल्लामा मधेसी दलको पकड कमजोर बन्दै गएको छ । गएको एक महिनाभित्र पर्साका आधा दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू मधेसी दल त्यागेर एमाले र नेपाली कांग्रेसमा छिरेका छन् ।

लोसपाका संघीय र प्रदेशका कतिपय सांसदहरूले केपी ओलीको प्रत्यक्ष सम्पर्कमा रहेर राजनीतिक सौदाबाजीमा तागत बढाउन आफ्ना कार्यकर्ताहरूलाई एमाले पार्टी प्रवेशसमेत गराएका छन् ।

मधेसी मुद्दा सम्बोधन गराउन असफल भएका कारण मधेसी दलको जनाधार ‍कमजोर भएपछि नेताहरूको बहिर्गमन बढेको तर्क गर्छन् हालै लोसपा त्याग गरी एमालेमा प्रवेश गरेका शिव पटेल । मधेस प्रदेश सरकारमा देखिएको भ्रष्टाचार, आन्दोलनका बेला उठाइएका माग पूरा गराउनुभन्दा पनि सरकारमा जसरी पनि टाँसिइरहने प्रवृत्तिले मधेसी दलसँग धेरैको मोहभंग भएको पटेलको भनाइ छ । पटेल भन्छन्, ‘फुटको राजनीतिले तराईमा मधेसी दल कमजोर भएको हो, नेताहरूलाई मधेसभन्दा पनि मन्त्री पद बढी प्यारो रहेछ ।’

दल फेर्न खुट्टा उचाल्नेमा पर्सा क्षेत्र नं.- २ का  लोसपाका संघीय सांसद विमल श्रीवास्तवको नाम चर्चामा छ । विमल निरन्तर ओलीको सम्पर्कमा रहेका उनका कार्यकर्ताहरूको भनाइ छ । कानुनी अप्ठ्याराका कारण अहिले नै विमल एमाले प्रवेश नगरे पनि स्वकीय सचिवलगायतका कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराइसकेका छन् ।

लोसपाकै प्रदेश सांसद प्रह्लाद गिरीले पनि एमाले अध्यक्षसँग फोटो खिचाएर आफ्नो राजनीतिक भविष्यका बारेमा संकेत दिइसकेका छन् । प्रह्लादले मधेसी दलमा संगठन सुदृढीकरण गर्दै पार्टी बलियो बनाउनुभन्दा पसल थपेजस्तो गरेकाले आफू पुरानै ठाउँमा फर्किने तरखरमा रहेको बताएका छन् ।

पार्टी विभाजनका कारण खाली जस्तै भएको एमाले सबैलाई स्वागत गर्न तयार जस्तो देखिन्छ । विगतको चुनावमा पर्साका ४ वटा संसदीय क्षेत्र, ८ वटा प्रदेशसभा क्षेत्रमध्ये २ वटा नेपाली कांग्रेसले जिते पनि बाँकी सबै मधेसी दलको कब्जामा आएको थियो । सिद्धात र विचारभन्दा पनि जसरी पनि चुनाव जित्ने नाराका साथ अगाडि बढेको नेकपा एमालेमा सजिलै टिकट पाउन सक्ने भएकाले पनि मधेसी नेताहरूको पहिलो रोजाइमा परेको हो ।

दल बदलका क्रममा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका राजेशमान सिंह श्रेष्ठको भने बिचल्ली भएको छ । वीरगंज महानगरपालिका मेयरको टिकट पाउने विश्वासमा लोसपा परित्याग गरेका सिंहले पनि एमाले रोजेका थिए । २ हप्ता अगाडि वीरगंजमा पत्रकार सम्मेलन गरेर मधेसी दल मधेसको माग पूरा गराउन असफल भएकाले आफू एमालेमा प्रवेश गर्न लागेको राजेशमानले जानकारी गराएका थिए ।

तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई भित्र्याएपछि सिंहले असुरक्षित महसुस गर्दै पार्टी परित्याग गर्न लागेका हुन् । उनी गत निर्वाचनमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरमा चुनाव लडेका थिए ।तत्कालीन मधेसी जनअधिकार फोरमबाट मेयरमा विजय सरावगीले चुनाव जितेका थिए भने नेपाली कांग्रेसका अजय द्विवेदी दोस्रो र सिंह तेस्रो भएका थिए ।

एमालेका अध्यक्ष ओली निवास काठमाडौं पुगेर मेयरको टिकट पाउने वचन लिएर खादा ओडेर फर्केका राजेशमानले औपचारिक रूपमा ८ चैतमा  वीरगंजमा पार्टी प्रवेश गर्ने तयारी थियो ।

तर, राजेशमानलाई सरावगीले उछिन्दै नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा एमालेका नेता बसुरुद्दिन अंसारीकी छोरीको बिहेमा आएको मौका छोपेर २८ फागुनमन २८ मेयर सरावगी एमालेमा प्रवेश गरेपछि सिंह निराश भएका बताइन्छ । आफूलाई मेयर सरावगीको प्रतिस्पर्धीको रूपमा ‍स्थापित गर्न खोजेका राजेशमानले सरावगीसँग एउटै पार्टीमा बस्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा जनतासँग सल्लाह माग्दै भनेका छन्, ‘जनताको हक, अधिकारका लागि लड्ने हामी र भगवानले दिएको सबै छ भनी भ्रष्टाचार गर्ने मेयरसँग एकै ठाउँमा बस्ने वातावरण कसरी बन्छ ? कसरी काम गर्न सकिन्छ ? त्यस कारण म मेरा सम्पूर्ण वीरगंज महानगरबासीसँग सल्लाह चाहन्छु- अब मैले के गर्दा उपयुक्त हुन्छ ? म यहाँहरूको सल्लाहअनुसारको निर्णयमा जान चाहन्छु ।’

एमालेभित्रै केहीले सरावगीलाई पार्टीमा प्रवेश गराउनु उपयुक्त भएको तर्क गरिरहेका छन् । तर, अर्को पक्षले भने सरावगीको प्रवेशले पार्टी नै खतरामा पर्न सक्ने चेतावनी दिँदै विरोध गरेका छन् ।

एमाले प्रवेश गर्ने क्रममा राजेशमानले लोसपा र जनता समाजवादी पार्टी (जसपा)लाई सराप्दै जातीय स्वार्थमा लिप्त रहेको आरोप लगाएका थिए । अब भने मधेस प्रदेशका मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य महमद लालबाबु राउत गदी तथा संघीय सांसद प्रदीप यादवको सक्रियतामा सिंह मेयरको टिकट पाउने आसमा छन् । त्यसैले उनले चाँडै एमाले परित्याग गरेको घोषणा गर्दै जसपामा प्रवेश गर्ने तयारी थालेको बताइन्छ । जनताको आलोचनाबाट बच्न सामाजिक संजालबाट वीरगंज महानगबासीसँग राजेशमानले सुझाव मागेका पनि बुझिन्छ ।

उता, वीरगंज महानगरपालिकाका मेयर सरावगीले जनता समाजवादी पार्टीका नेताहरूबाट पटकपटक आफूमाथि दुर्व्यहार हुने गरेकाले मघेसी दल त्यागेको बताएका छन् । आफू व्यापारिक क्षेत्रबाट आए पनि पार्टीका नेताहरूबाट कालोमोसो लगाइदिनेसमेतका घम्कीहरू अनेकौँ पटक खेप्नुपरेको उनको भनाइ छ । मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई पर्साका अधिकांश क्षेत्रबाट जिताउने अहं भूमिका निर्वाह गरे पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले एमाले प्रवेश गरेको बताए ।

विगतमा आफूले जसपा छाड्न राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेर आफ्नो कार्यकाल जसोतसो बिताएको मेयर सरावगीको भनाइ छ । ‍आफू राजनीतिक नभएर आर्थिक तथा सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले जनताले माया गरेर मेयरमा चुनाव जिताएको बताउने सरावगीले सुरुमा कांग्रेस प्रवेशको प्रयास गरेका थिए । तर, त्यहाँ टिकटको ग्यारेन्टी नभएपछि ‍एमाले रोजेका हुन् । मेयर सरावगी भन्छन्, ‘मेरो कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने, त्यहाँ पहिलादेखि नै नेताको भीड छ ।’

स्रोत: आईएनएस-स्वतन्त्र समाचार