कम्युनिस्ट एकता: राग अलाप्नु नै अपराध करार वा व्यङ्ग्यको सिकार !

लोकसंवाद टिप्पणी

कम्युनिस्ट एकता:  राग अलाप्नु  नै अपराध करार वा व्यङ्ग्यको सिकार !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७८

नेपालमा सबैभन्दा बढी एकताको कुरा कसैले गर्ने गर्छ भने ती हुन्, कम्युनिस्ट नाम गरेका पार्टीहरूले गर्छन् । तर विडम्बना नै भनौँ नेपालमा सबैभन्दा बढी विभाजित हुने र एक ठाउँमा बस्न नसक्ने पार्टीको पहिचान  पनि कम्युनिस्ट पार्टी कै छ ।

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ जेठ, २०७५ मा एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर यो कम्युनिस्ट पार्टी २ वर्ष पनि नपुग्दै चरम विवादमा फस्यो र सर्वोच्च अदालतको २३ फागुन, २०७७ को फैसलासँगै विभाजन हुन पुग्यो । आन्तरिक विवादमा रुमल्लिएर थलिएको नेकपा विभाजन हुन तयारी अवस्था रहे पनि सर्वोच्चको फैसलाले विभाजनलाई सहज मात्र तुल्याएको थियो । 

२३ फागुन, २०७७ मा एमाले र माओवादी केन्द्र अलग भएपछि कम्युनिस्ट पार्टीहरूले धक्का खाने अवस्था सिर्जना हुनु स्वाभाविक  थियो । एमाले फेरि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी सशक्त  अस्तित्वमा आएको छ ।  माओवादीका पनि केही नेता एमाले तिरै छोडिएका छन् । यस अर्थमा दुवै पार्टीले एकताबाट लाभ भन्दा बढी क्षति भएको छ । 

अघिल्लो संसदीय र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेका माओवादी र एमालेबीच यति बेला भने राम्रो सम्बन्ध नै छैन । त्यसमाथि पनि माधवकुमार नेपालको अलग पार्टी रहेका कारण आगामी निर्वाचन जित्न तीन वटै पार्टीलाई फलामको चिउरा सरह हुने निश्चित छ । यसै कारण पनि केही नेताले फेरि कम्युनिस्ट मिल्नुपर्ने विचार अलाप्ने  गरेका छन् । पछिल्लो समयमा एमाले नेता घनश्याम भुसालले एउटा लेख मार्फत कम्युनिस्ट पार्टीहरू मिल्नुपर्ने बताएपछि उनी अहिले आक्रोश र व्यङ्ग्यको सिकार बन्न पर्ने अवस्थामा पुगेका छन् ।  उनले कम्युनिस्ट नमिले सर्वनाश हुने चेतावनी दिएका थिए ।

त्यस लगत्तै बुधवार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजीवीहरूले कम्युनिस्ट नमिले एमाले सिद्धिन्छ भन्ने भ्रम फिँजाएको आरोप लगाएका छन् । 

‘कम्युनिस्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजीवीले लेख्छन् र निराश बनाइदिन्छन् । हिजो मात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कतै जित्ने अवस्था छैन । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे !  एउटा बुद्धिजीवीलाई त्यस्तो लागेछ । वैद्य सिद्धिन्छन् कि एमाले सिद्धिन्छ ?’, उनले भने । 

ओलीले एमाले एक्लैले ६० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्ने दाबी समेत गरेका छन् । उनी एमालेबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीप्रति भने सधैँ झैँ आक्रामक रुपमा प्रस्तुत भए । 

कम्युनिस्ट पार्टीहरू कुरा क्रान्तिकारी र एकताको तथा काम दक्षिणपन्थीको सेवा र फुट परस्त गतिविधि गर्ने गर्दै आएका छन् । यसैका कारण नै एमाले र माओवादी केन्द्रको एकता टुट्न पुगेको थियो । राजनीतिक, वैचारिक, सांगठनिक र विचारसहितको नेतृत्व नहुँदा कम्युनिस्ट पार्टी कसरी सिसा जसरी टुक्रिन्छ भन्ने कुराको अनुपम  उदाहरण हो  नेपाली कम्युनिस्ट पार्टी ।

ओलीले भने, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्क्याउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झन्डै दुई तिहाइको हैसियतमा रहेको कम्युनिस्ट पार्टीलाई फुटाउने कम्युनिस्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिस्ट मानेर एमालेले मिली दिनुपर्ने ?’

नेता घनश्याम भुसालले लेख लेख्दै एमाले, माओवादी र एकीकृत समाजवादी बीच एकताको पक्षमा लबिङ गरेका थिए । भुसालले लेखमा अब वाम एकताको अभियान नै चलाउने उल्लेख गरेका छन् । उनी एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका नेता हुन् । अध्यक्ष केपी शर्मा ओलीले अगाडि नै घोषणा गरेको प्यानलमा नरहेका नेता भुसाल त्यसयता एमालेमा भूमिकाविहीन जस्तै अवस्थामा छन् । 

केपी ओलीले कम्युनिस्ट एकताबारे व्यङ्ग्य गरेकै दिन भुसाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि जवाफ फर्काएका छन् । उनले कम्युनिस्ट एकताको बाधक केपी ओली नै भएको भन्दै एकता सम्भव नरहेको टिप्पणी गरेका छन् । बरु उनी अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर आगामी निर्वाचनसम्म लैजानुपर्ने पक्षमा छन् ।

नेपालले लामो समयदेखि केपी ओली कम्युनिस्ट नै नभएको भन्दै उनीसँग एकताको सम्भावना अस्वीकार गर्दै आएका छन् । त्यसो त केही दिनअघि एमाले महासचिव शंकर पोखरेलले पनि अब माधवकुमार नेपाल एमालेमा फर्किने बाटो बन्द भएको बताएका थिए । एकीकृत समाजवादी पार्टीका नेताहरू पनि तत्काल एमालेसँग एकताको सम्भावना देख्दैनन् । अध्यक्ष माधवकुमार नेपाल तत्काल एमालेसँगको एकताको कुरा भ्रम भएको भन्दै केपी ओली कम्युनिस्ट नभएकाले एकता सम्भव नरहेको बताउँछन् । 

त्यसो त बुधवार माओवादी केन्द्रका नेता वर्षमान पुनले भने लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेसँग सहकार्यको सम्भावना नटरेको बताए । यसबाट एमाले र माओवादी फेरि गठबन्धन हुने हो कि भन्ने अनुमान गरिएको थियो । तर बुधवार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीको नाम नलिई खलनायकलाई अझै दनक दिनुपर्ने अभिव्यक्ति दिए । यसबाट आगामी निर्वाचनसम्ममा कम्युनिस्ट पार्टीहरू मिल्दैनन् भन्ने प्रस्ट भएको छ ।

टुटफुट र विभाजनको लामो शृङ्खला पार गरे पनि नेपालका कम्युनिस्ट पार्टीले भने त्यसबाट पाठ सिकेको देखिँदैन । जसका कारण कम्युनिस्टहरू विभाजित हुने र उनीहरूले भन्ने गरेको दक्षिणपन्थी शक्तिले शासन गरिरहने अवस्था फेरि पनि दोहोरिने निश्चित छ ।

कम्युनिस्ट पार्टीहरू कुरा क्रान्तिकारी र एकताको तथा काम दक्षिणपन्थीको सेवा र फुट परस्त गतिविधि गर्ने गर्दै आएका छन् । यसैका कारण नै एमाले र माओवादी केन्द्रको एकता टुट्न पुगेको थियो । राजनीतिक, वैचारिक, सांगठनिक र विचारसहितको नेतृत्व नहुँदा कम्युनिस्ट पार्टी कसरी सिसा जसरी टुक्रिन्छ भन्ने कुराको अनुपम  उदाहरण हो  नेपाली कम्युनिस्ट पार्टी ।