'चुनावी तालमेलमा गर्ने विषयमा गठबन्धनमा विमति छैन'

'चुनावी तालमेलमा गर्ने विषयमा गठबन्धनमा विमति छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेका बताएका छन् । निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेका प्रचण्डले बताए । 

लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमति देखिएको छैन ।’

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकाले गठबन्धन जारी रहने उनको भनाइ थियो । 

यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए । 

छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्को भनाइ थियो । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गई नै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चली नै राख्छ, प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौँ’, प्रचण्डले भने ।

निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेण्डको तागतमा निर्वाचन जाने तर सहायक रूपमा तालमेल गर्नेबारे पनि सोचिने बताए ।