लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने

लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ४, २०७८

होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड- १९ संक्रमणका कारण २ वर्षसम्म महोत्सव हुन पाएन । यस पटक कोरोना केही कम भएकाले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले सुनाए ।

महोत्सवलाई संचालन गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएका छन् । कोभिड- १९ का कारण थला परेको पर्यटनलाई पुनः जागृत गर्न महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।

‘अहिले लेकसाइडमा पर्यटक खासै छैनन् । विदेशी पर्यटक त छैनन् भन्दा पनि हुन्छ’, उनले भने, ‘केही नेपाली पर्यटकका कारण हामी धानिएका छौँ । अब विस्तारै इभेन्टमा फोकस गर्नुपर्छ ।’

पछिल्ला दिनहरूमा पोखरामा आन्तरिक पर्यटक निकै बढेका छन् । भारतीय पर्यटकसमेत पोखरा घुम्न थालेका छन् । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुली बताउँछन् । रेस्टुरेन्ट एण्ड बार एसाेसिएसन पोखराले हरेक अंग्रेजी वर्षमा नयाँ वर्ष महोत्सव तथा सडक महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई स्वागत गर्न हानले कार्यक्रम गर्न थालेको हो ।

होटल संघले गत ८-११ फागुनसम्म ‘जाऊँ है पोखरा’ अभियान पूरा गरेको छ । पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्क्रिया र भेटघाट गरेर पर्यटक डाकिएको हो । सोही क्रममा महोत्सव घुम्नका लागिसमेत निम्ता दिइएको सुवेदीले जानकारी दिए ।