निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न हुन्छ, के हुँदैन ?

निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न हुन्छ, के हुँदैन ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७८

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘निर्वाचन आचारसंहिता, २०७८’ ल्याएको छ । 

आचारसंहितामा कसले के गर्न हुन्छ र हुँदैन भन्ने स्पष्टसँग लेखिएको छ । 

आचारसंहिताअनुसार सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइनेछैन । 

आयोगद्वारा संचालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइनेछैन । 

आचारसंहितामा कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । 

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टीसर्ट, टोपी, गम्छा, मास्क, लकेट, अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न र प्रदर्शन गर्न तथा गराउन पनि नपाउने आचारसंहितामा जनाइएको छ । 

घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने आचारसंहितामा स्पष्ट लेखिएको छ । 

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन । 

यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रगोग गर्न वा गराउनसमेत पाइनेछैन । 

आचारसंहिताअनुसार सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न, गराउन पाइनेछैन । 

निर्वाचनमा प्रभाव पार्ने उदेश्यले कसैले पनि सामाजिक संजालमा झूटा साइट र एकाउण्ट संचालन गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ । 

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था आचारसंहितामा गरिएको छ । 

आचारसंहिताले स्वास्थ्य सुरक्षा मापदण्डप्रतिकूल हुने गरी कार्य नगर्नसमेत भनेको छ । 

आचारसंहिताअनुसार निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक संजालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न पाइनेछैन ।