एडीबीलाई परियोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

एडीबीलाई परियोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७८

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत, साधनबाट काम गरिरहेको बताएकी हुन् । 

शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ’, उनले भनिन् । 

मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयताअनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् । 

उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेका र सीमित स्रोत, साधनको बाबजुद काम गरिरहेको बताइन् । ‘विकास निर्माणको योजना जनताले धेरै काम गरिरहेका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनाैँ’, उनले भने । 

पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रका विषयमा मन्त्री झाँक्री र एडीबीका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिची याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए । 

उनले शहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।