उपराष्ट्रपति र सेनालाई नारायणहिटी संग्रहालयका गाडी

उपराष्ट्रपति र सेनालाई नारायणहिटी संग्रहालयका गाडी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

काठमाडौं । संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणात गर्‍यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमलसहित राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडी भने त्यहाँ छैनन्।

पुराना गाडीहरू भने उचित संरक्षण गरेर संग्रहालयमै राख्नुपर्ने ऐतिहासिक महत्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सो सरकारी कदमको संस्कृतिविद्हरूले आलोचना गरेका छन्। पाँच वर्षअघि मात्रै राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी नेपाल प्रहरीलाई दिइएको थियो।

उपराष्ट्रपति, सेना र प्रहरीले लगेका बुलेटप्रुफ कारको प्रतिगोटा मूल्य १६ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ। सेनाले लगेका चारमध्ये दुईवटा चालु हालतमा रहेको र दुईवटा मर्मतमा मात्रै तीन करोड रुपैयाँ खर्च गरिएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमल तथा राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडीमध्ये गृह मन्त्रालयले उपराष्ट्रपति पुनलाई एउटा र सेनालाई चारवटा हस्तान्तरण गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।