झनै कठिन अवस्थाको सामना गर्दै नेपाली क्रिकेट

झनै कठिन अवस्थाको सामना गर्दै नेपाली क्रिकेट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ६, २०७८

आईसीसी वर्ल्डकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी शृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ । आयोजक यूएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै यूएईलाई ४६.३ ओभरमा १६८ रनको न्यून स्कोरमा रोक्न सफल भएको थियो ।

तर, प्रतिओभरको ३.३६ को औसतमा रन बनाउने लक्ष्य बोकेर मैदान प्रवेश गरेको नेपालले  पुनः एक पटक यूएईका सामु घुँडा टेकिदियो । नेपाली टोली ३५.१ ओभरमै केवल १२० रन बनाएर अलआउट भयो । यो हारले प्रतियोगिताको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउने नेपालको अभियानमा गम्भीर धक्का पुगेको छ ।

पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध आकर्षक अर्धशतक बनाएका रोहितकुमार पौडेलले यस खेलमा पनि नेपालका तर्फबाट सर्वाधिक ४० रन बनाए । ज्ञानेन्द्र मल्लको २८ र ओपनर कुशल भुर्तेलको ११ रनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आरिफ शेख, कमलसिंह ऐरी र सागर ढकालले रनको खाता नै खोल्न सकेनन् ।

नेपालको टप अर्डरका ब्याट्सम्यानहरूको खराब प्रदर्शनले यस खेलमा पनि निरन्तरता पायो । इनिङको चौथो ओभरको पहिलो बलमा जुनैल सिद्दिकीले ओपनर कुशल भुर्तेललाई ११ रनमा क्लिन बोल्ड गरेपछि नेपाली ब्याटिङ लाइनअपको पतन सुरु भयो । जुनैदले त्यही ओभरमा अर्का ओपनर आशिफ शेखलाई ७ रनमा चिराग सुरीको हातबाट क्याच आउट गराए । अर्का भरपर्दा ब्याट्सम्यान पेीन्द्रसिंह ऐरी पनि खेलको नवौँ ओभरमा जम्मा ४ रन बनाएर आउट भएपछि नेपाल संकटमा परेको थियो ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाल खेलमा फर्किएको थियो । तर, खेलको २२ र २३ ओभरमा मल्ल र आरिफ शेखलाई आउट पार्दै यूएईले खेललाई आफ्नो पक्षतिर ढल्कायो । त्यसपछि लगातार विकेट झर्दै गएपछि नेपाल केवल १२० रनमा अलआउट हुनपुग्यो । नेपाललाई सस्तैमा प्याक अप गर्ने क्रममा यूएईका बासिल अहमदले केवल ५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । करण केसीसहित ३ महत्त्वपूर्ण विकेट  जुनैदको नाममा रह्यो ।

त्यसअघि तीव्र गतिका २ बलर सोमपाल कामी र करण केसीले एकआपसमा ७ विकेट बाँडेपछि नेपाल यूएईलाई कम योगफलमा रोक्न सफल भएको थियो । सोमपालले ९ ओभरमा ३९ रन खर्चिएर ४ विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले कसिकसाउ बलिङ गर्दै १० ओभरमा ३० रन दिएर १ विकेट लिए ।

नेपाली बलरहरूको उच्च प्रदर्शनलाई ब्याट्सम्यानहरूको फितलो प्रदर्शनले छायामा पारिदियो । १२० रनको स्कोर नेपालले एक दिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मको दोस्रो न्यून स्कोर हो । यसअघि सन् २०१९ मा नेपाल यूएईविरुद्ध नै ११३ रनमा अलआउट भएको थियो । यूएईविरुद्ध अहिलेसम्म खेलिएका ५ खेलमा नेपाल २ खेलमा विजयी भएको छ भने ३ खेलमा हार बेहोरेको छ । सन् २०१९ मै नेपालले यूएईविरुद्ध बनाएको २५५ रन एक दिवसीय खेलमा नेपालको उच्च स्कोर हो ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जीत र ५ हारसहित १० अंकका साथ तालिकाको छैठौँ स्थानमा छ । शुक्रबारको हारले नेपालको ब्याटिङमा देखिएको समस्यालाई झनै उदांगो बनाएको छ भने प्रतियोगिताका आगामी खेलहरू नेपालका लागि अझै कठिन हुने पनि स्पष्ट भएको छ । प्रतियोगिताअन्तर्गत नेपालले आगामी आइतबार यूएईसँग र सोमबार पीएनजीसँग खेल्नेछ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार