गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ६, २०७८

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान   वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुमविद् वैरागी काइँलाले रु ५० हजार राशि, दोसल्ला र सम्मान पत्र सहितको सम्मान डा. बराललाई र रु एक लाख राशिको पुरस्कार र सम् मानपत्र गुरुङलाई प्रदान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत प्रतिभाले सम्बन्धित विधामा पुर्‍याएको योगदानको उचित कदर भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गरिरहेका विविध गतिविधिहरूको प्रशंसा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, बाल साहित्य र लोकवार्ता विभागले लेखाइरहेको नेपाली बाल साहित्यको इतिहास लेखनमा बेलायत डायास्पोराका बाल साहित्यसँग सम्बन्धित सूचनाहरू उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नुभयो ।

साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठुलो भए पनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा. रजनी ढकालले सम्मानित प्रतिभा डा. बराल र पुरस्कृत प्रतिभा गुरुङको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा सम्मानित प्रतिभा बरालले साहित्य सृजनामा लागेका ठुला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरूको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । पुरस्कृत प्रतिभा गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो ।

प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवर्द्धन गरिरहेको बताउनुभयो । प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा ‘अभिव्यक्ति शृङ्खला’ नामक वार्षिक एकल कविता वाचन लगायतका साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो । महासचिव देवेन्द्र खेरेसले संस्थाबाट हालसम्म १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार अर्पण गरिसकेको बताउनुभयो ।