‘हामी देश र जनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौं’

‘हामी देश र जनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौं’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७८

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमूना भएको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताएका हुन् । साथै आफूहरु देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको उनले बताए ।

‘हामी देश र जनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौं,’ उनले भने, ‘केपी ओली परिवर्तनको वाहक होइनन् । प्रतिगामी चरित्रका नमूना हुन् ।’ त्यसैगरी एकीकृत समाजवादी देशव्यापी रुपमा फैलिएको उनले बताए । गोरखा र धादिङका कार्यक्रमको स्मरण गर्दै अध्यक्ष नेपालले पार्टीमा उत्साह देखिएको दाबी गरे ।

जनताले नेकपा (एस) बाट ठूलो अपेक्षा गरेका बताउँदै अध्यक्ष नेपालले जनताको आशामा इमानदारिता, निष्ठा र समपर्णको भावनाले अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे। साथै ओली सबै ठाउँमा पराजित भइसकेको उनले दाबी गर्दै एमाले परित्याग गरेर नेकपा (एस) मा प्रवेश गर्नेको लहर चलेको उनले बताए ।

 ओलीको गल्ति स्वीकार गर्न नसक्ने प्रवृत्तिले उनलको अधोगति सुरु भएको अध्यक्ष नेपालले बताए । कार्यक्रममा दोलखा विगुका ६० भन्दाबढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी नेकपा (एस) मा प्रवेश गरेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ र ७ का युवाहरुलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन् । नव प्रवेशीहरुलाई अध्यक्ष नेपाल र पार्टीका उपमहसचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।