पार्टी प्रशिक्षण कि प्रतिद्वन्द्वीको दानवीकरण! कार्यकर्तालाई किन सिकाइँदैछ गाली ?

पार्टी प्रशिक्षण कि प्रतिद्वन्द्वीको दानवीकरण! कार्यकर्तालाई किन सिकाइँदैछ गाली ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७८


घटना–१
आइतबार नेकपा (माओवादी केन्द्र) को गण्डकीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । सो कार्यक्रममा प्रशिक्षण दिनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । 

सो कार्यक्रममा उनले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताए । ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर पार्टी एकता गरेका हौ । तर त्यो सकिएन’, उनले भने, ‘जनताको बलमा, सही विचारको आलोकमा हामी यहाँ आई पुग्यौं । त्यसपछि पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति ? अहिले फेरि एकता कति हो कति ? एकताका लागि १४÷१५ समूह लाइनमा छन् ।’ 

घटना–२ 
शनिबार नेकपा (एकीकृत समाजवादी) ले गोरखा सदरमुकाममा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको थियो । सो कार्यक्रमलाई नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरे । सो कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले बनाउने भन्दा भत्काउने काममा लागेको विध्वंशकारी पार्टी बनेको टिप्पणी गरे । 
‘भत्काउने काममा मात्र लागेको विध्वंशकारी पार्टी हो एमाले । कस्तो बिडम्बना आफैंले जन्माएको सन्तान विभीषण होला भन्ने सोचेको रावण भइदियो’, ‘कतिपयलाई लागेको थियो नयाँ पार्टी खुल्न सक्दैन, केपी ओलीसँग टक्कर दिने मान्छे यो धर्तीमा जन्मकै छैन, तर यो ओलीले जन्माएको पार्टी होइन, मैलै जन्माएको हुँ, म दावाका साथ भन्छु ।’

नेपाल यतिमा मात्रै रोकिएनन् । उनले ओलीले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजेको,उनको विचार, दृष्टिकोण, पार्टी संचालन विधि र पद्धति तथा संगत पनि गलत रहेको टिप्पणी गरे ।

नेपालले भने, ‘ओलीको क्रान्तिकारी धार भुत्ते भएर गयो, क्रान्तिकारी दृष्टिकोण हराएर गयो, जनता प्रतिको निष्ठा र समर्पण होइन भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुग्यो, काम केही नगर्ने गफ मात्र हान्ने, गफाडीको पंक्ति तयार हुन पुग्यो फलस्वरुप हामीले नयाँ पार्टी खोल्नुपर्‍यो ।’

घटना–३

शनिबार नेकपा एमालेको समन्वय कमिटीले कार्यकर्ता प्रशिक्षण राखेको थियो । सो कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । जुन कार्यक्रममा उनले कांग्रेसलाई १३ सिटमा झारिदिने धम्की थिए । 

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ? अब १३ सिटमा झार्नुपर्छ ।’

ओलीले कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने र युवाहरूले भोट हाल्नुपर्ने कारण नभएको, एकीकृत समाजवादीलाई पार्टी नै नबनेको र यही चुनावमा समाप्त हुने तथा माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको टिप्पणी गरे । 
 

घटना–४ 
शनिबार नै नेपाली कांग्रेसका दुई जना महामन्त्रीले अलग अलग कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार गए पनि अहंकार नगएको टिप्पणी गरे । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘पूर्वप्रधानमन्त्री तपाईं दलको मात्र होइन, देशको हो । आफ्नो उचाइको गरिमाबाट ओह्रालो नझर्नुस् !’ ओलीको सरकार गयो अहंकारले, गएन अहंकार अझै ।’

यस्तै अर्को कार्यक्रममा अर्का महामन्त्री गगन थापाले पनि ओलीले ५ वर्षको म्यान्डेडसहितको जनमत पाए पनि त्यसलाई जोगाउन नसकेर फुइँ लाउँदै हिँडेको टिप्पणी गरे । 

यी पछिल्ला दुई दिनमा तीनवटा ठूला भनिएका पार्टीका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुले आफ्ना कार्यकर्तालाई दिएको प्रशिक्षण र देशकै पुरानो लोकतान्त्रिक पार्टीका दुई बहालवाला महामन्त्रीले दिएका अभिव्यक्ति हुन् । राजनीतिमा युवाहरुको आकर्षण पछिल्लो समयमा अत्यधिक घटेको छ । राजनीति आजका युवाहरुका बिचमा किन अलोकप्रिय छ भन्ने समीक्षा गर्न सुरु गर्नुपर्‍यो भने नेताहरुका यी अभिव्यक्तिलाई नियाल्नुपर्छ । 

नदी सफा हुनका लागि त्यसको मुहान सफा हुनुपर्छ र बीच बीचमा मिसाइने ढलहरू हटाउनुपर्छ । राजनीति सफा हुनका लागि पनि मुहान अर्थात नेता र बीच बीचमा मिसिने ढलजस्तै दुर्गन्ध फैलिएका हरुलाई हटाउनुपर्छ । तर यहाँ यस्तो राजनीतिक संस्कार छ, जो आज कम्युनिस्ट र भोलिपल्टै कांग्रेस वा डेमोक्रेटिक बन्न सक्छ । आजको डेमोक्रेट पनि भोलिबाट कम्युनिस्ट पार्टीमा पुग्न सक्छ । हामी आफैं मूल्यांकन गरौं त के आजको कम्युनिस्ट भोलिपल्टै कांग्रेस हुन र आजको कांग्रेस भोलि नै कम्युनिस्ट बन्न सम्भव छ ? यो विचारको विकाससँग सम्बन्धित छैन ? अनि विचारको विकास एउटा लामो समयमा निर्माण हुने चेतनासँग सम्बन्धित छैन ? अवश्य पनि छ । विचार र नेताको निर्माण आजको भोलि हुन सम्भव कुरा नै हैन । 

अब फर्कौँ प्रशिक्षणतर्फ । यो प्रशिक्षण भनेको के हो ? के यो विचार निर्माणसँग सम्बन्धित छैन ? अवश्य पनि छ । 

त्यसो हो भने माथि उल्लेखित प्रशिक्षणबाट कार्यकर्ताले के सिक्ने ? 

गाली !
नेपाली राजनीतिको एउटा आम प्रवृत्ति नै गाली बनेको छ । यो निकै दुःखद र विडम्बना पूर्ण कुरा हो । पोखरामा प्रचण्डले प्रशिक्षणमा भनेको एमाले अध्यक्ष केपी ओली नसुध्रिएको कारणबाट अबको माओवादीलाई के फाइदा वा घाटा हुन्छ ? ओली सुध्रिएनन्, त्यो विगतको कुरा हो । माओवादी केन्द्र आज राजनीतिको जुन स्थानमा छ, त्यो आजको अवस्था हो । विगत समीक्षाको विषय बन्न सक्छ । तर केपी ओली नसुध्रिँदा राजनीतिक रुपमा त एमाले बाहेकका राजनीतिक पार्टीलाई नै फाइदा हुनसक्ने विषय हो । यो प्रशिक्षणको विषय नै होइन । 

यस्तै माधवकुमार नेपालले भनेजस्तो एमाले विध्वंसकारी पार्टी भएको भए त्यसको फाइदा त नेकपा (एस) लाई नै हुन्छ । एमाले विध्वंसकारी बन्दा र ओलीको विचार, दृष्टिकोण, पार्टी संचालन विधि र पद्धति तथा संगत गलत हुँदा बेफाइदा एमालेलाई नै हुन्छ । त्यसको फाइदा नेकपा (एस) लाई नै हुनसक्छ । 

अर्कोतिर केपी ओलीले कार्यकर्ता प्रशिक्षणमा कांग्रेसलाई १३ सिटमा झार्नुपर्छ भन्ने अभिव्यक्ति दिए । यसको अर्थ १३ ठाउँमा चै कांग्रेसलाई जिताउन एमालेले उम्मेदवार खडा नगर्ने हो र ? होइन भने कांग्रेसलाई एमालेले १३ सिटमा किन शून्य सिटमा झार्ने गरी प्रतिस्पर्धामा उत्रिन छुट छ । वास्तामा भन्ने हो भने यस्ता विषय चुनावमा पनि सस्तो लोकप्रियताका लागि जनतामा भ्रम छर्न प्रयोग गरिने ‘बकम्फुसे’ अभिव्यक्ति मात्रै हुन् । नेताका यस्ता अभिव्यक्तिले कार्यकर्तामा उर्जा आउँदैन र त्यसले सबल समाज निर्माणमा पनि योगदान दिँदैन । तर नेताहरु पटक पटक प्रशिक्षणका नाममा गाली बाँचिरहेका छन्, गाली सिकाइरहेका छन् । यसले कस्तो पार्टी र संगठनात्मक पद्धतिको विकास हुन्छ ? 
प्रशिक्षणमा देशको अवस्था, समाजको विश्लेषण, पार्टीका कार्यभारहरू आदि बारे व्यवस्थित सिकाई हुनुपर्ने हो । यो विचार निर्माणको प्रक्रिया हो र यसले बुझाईमा पनि एक रुपता ल्याउन सहयोग गर्छ । तर पछिल्ला समयमा प्रशिक्षणका नाममा नेताहरुका जुन प्रकारका सस्तो लोकप्रियता र कार्यकर्ताको तालीका लागि विपक्षीलाई गाली गर्ने जुन शैली देखिएको छ, यो निकै खतरनाक छ । प्रशिक्षणका नाममा कार्यकर्तालाई जसरी राजनीतिक प्रतिद्वन्द्वीको दानवीकरण गरिदैछ, यसले निम्त्याउने असर भने भोलिका दिनमा निकै खतरनाक हुनसक्छ । कार्यकर्तामा देश, समाज, वर्ग, सामाजिक आर्थिक अवस्था, राजनीतिक वैचारिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको ब्याख्यासहित समाजका लागि योग्य नेताको उत्पादनका लागि प्रशिक्षण कार्यक्रम राखिन्छ । प्रशिक्षण भनेको विपक्षी नेतामाथि सत्तोसराप गर्ने कार्यकर्ता तयार पार्नु हो ? यदि होइन भने नेताहरु किन गाली बाँडेर गाली नै बेच्न सिकाइरहेका छन् । यसले भोलिका दिनमा अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिदैन ।