त्रिदेशीय सीमाक्षेत्र व्याँस राज्य संयन्त्रबाहिर

त्रिदेशीय सीमाक्षेत्र व्याँस राज्य संयन्त्रबाहिर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

दार्चुला । राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्याँस गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूभाग असुरक्षित छ। दार्चुलाको कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबा रहँदै आएको छ। व्याँस गाउँपालिका–१ (साबिकको व्याँस गाविस) चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि सो क्षेत्र नेपाली राज्य संयन्त्रको पहुँचबाहिर छ। नेपाली भूभागमा भारतीय पक्षले आफूअनुकूलका गतिविधि सञ्चालन गरिरहेको सूचना पाए पनि नेपाल सरकारले उपस्थिति जनाउन सकेको छैन।

सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीतका गतिविधि गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नहुनु नै प्रमुख कारण रहेको व्याँस गाउँपालिका–१ तिंकरका दानसिंह तिंकरीले बताए। ‘सीमामा भारतीय पक्षको अतिक्रमण र दोहन रोक्नका लागि न त यस क्षेत्रमा नेपालीको सघन बसोबास छ न सुरक्षा निकायको उपस्थिति नै छ,’ उनले भने, ‘यसैको फाइदा भारतीय पक्षले लिइरहेको छ।’ त्यस क्षेत्रमा बस्ने नेपालीसमेत भारतीय पक्षको दबाबमा रहनुपर्ने बाध्यता छ।

यसै कारण नेपालको सीमा सुरक्षा तथा नागरिकको पक्षमा राज्यको उपस्थिति चाहिएको तिंकरी बताउँछन्। हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङमा मात्रै नेपाल प्रहरीको उपस्थिति छ, जहाँबाट तिंकर पुग्न दुई दिन लाग्छ। ‘व्याँसको गाउँपालिकाको केन्द्र नै ६० किलोमिटर टाढा सुन्सेरामा र वडा कार्यालय जिल्ला सदरमुकाम खलंगामा छ। आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।