परराष्ट्रले गर्‍यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

परराष्ट्रले गर्‍यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७८

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको नेपाल भ्रमणको मिति घोषणा गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले ११ देखि १३ चैतसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । 

‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले ११ देखि १३ चैतसम्म नेपालको भ्रमण गर्नुहुनेछ’, परराष्ट्रले विज्ञप्तिमा भनेको छ । 

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

दुवै देशका विदेशमन्त्रीको उपस्थितिमा १२ चैतमा काठमाडौंमा नेपाल-चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ । 

नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।