यूएईले दियो २०३ रनको लक्ष्य

यूएईले दियो २०३ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ७, २०७८

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि २०३ रनको लक्ष्य दिएको छ । 

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेको हो ।

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यस्तै, ओपनर मुहम्मद रिजवानले ३३, चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै,  सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले १-१ विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीच हालसम्म ५ ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जीत र ५  हार सहित १० अंकका साथ छैटौँ स्थानमा छ । यूएई १७ खेलमा ९  जीत र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।