चुनावी तालमेल: आवश्यकता कांग्रेसलाई पनि कि गठबन्धन अन्य दललाई मात्र ?

लोकसंवाद टिप्पणी

चुनावी तालमेल: आवश्यकता कांग्रेसलाई पनि कि गठबन्धन अन्य दललाई मात्र ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७८

आगामी वैशाख ३० गने स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचनमा प्रमुख पार्टीहरु एक्लाएक्लै चुनावमा जाने कि गठबन्धन बनाएर जाने भन्ने अझै टुंगो लागेको छैन । विशेषगरी गत असार २९ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले र महन्थ ठाकुर समूह बाहेक सबै पार्टीहरु एकठाउँमा उभिएका थिए ।

अहिले कांग्रेस नेतृत्वमा चार दलीय गठबन्धनको सरकार छ । त्यसैले यो गठबन्धनलाई चुनावसम्म लैजाने विषयमा पनि दलहरुबीच छलफल भएको मात्र नभइ सहमति भइसकेको जनाउ पनि  दिने गरिएको छ । 

 कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा गठबन्धन बनाउन तयार देखिएका छन् । तर कांग्रेसकै उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा भने गठबन्धन विरुद्ध खुलेरै लागेका छन् । सोमबार मात्रै पनि गुरुङले सरकारको नेतृत्व गरिरहेको मोर्चालाई चुनावसम्म लैजान जोड गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटौरा थाप्दै बालकोट र बालुवाटार धाएको आरोप लगाए ।

कांग्रेस नेताहरुका पछिल्ला अभिव्यक्ति आवश्यकताभन्दा बढी उत्तेजक बन्दै गएका छन् । यस्तो अवस्थामा कांग्रेस विरुद्ध वाम गठबन्धन सम्भव छ कि छैन भन्ने प्रसंग समेत उठ्न थालेको छ । कांग्रेस नेताको अभिव्यक्तिले मानौं कि चुनावी तालमेल गठबन्धनमा रहेका अन्य दलका लागि मात्र हो भन्ने सन्देश दिइरहेका छन् । 

सोमबार एमाले स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले आगामी निर्वाचनमा वाम गठबन्धन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । तर केपी ओलीले नेपालमा वाम नै नरहेको भन्दै झ्यालका सिसा फुटाएर जानेलाई ढोका नखुल्ने जवाफ दिए । यसबाट तत्काल वाम दलहरु चुनावमा एक भएर लड्ने सम्भावना नरहेको देखिन्छ । 

चैत ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावी सहकार्यका विषयमा दृष्टिकोण सार्वजनिक गर्ने तयारी गरेको छ । यद्यपि स्थानीय तहको हकमा फरकफरक ठाउँका आवश्यकता र अवस्था फरकफरक अवस्था रहने भएका कारण गठबन्धनबारे निर्णय गर्न सक्ने कांग्रेस नेताहरुको भनाई छ ।

वाम गठबन्धनका लागि शीर्ष नेताहरु अनुदार रहे पनि केही नेताले अझै कोशिस गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि समेत पछिल्लो समयमा वाम गठबन्धन बनाउन दबाब पर्दै गएको छ । कांग्रेस नेताहरुको अहङ्कारी र उत्तेजक अभिव्यक्तिपछि माओवादी केन्द्रका नेताहरुले वाम गठबन्धनका जोड दिँदै आएका छन् ।

यद्यपि माओवादी केन्द्रमा पनि एमालेसँग वाम गठबन्धनको सम्भावना तत्काल नरहेको बताउँदै  आएकोे छ । अहिलेको सत्ता गठबन्धन केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध बनेकाले एमालेसँगै तत्काल गठबन्धन गर्ने विषयमा माओवादी नेताहरु समेत उदार देखिँदैनन् । 

अहिलेको  आवश्यकता चुनावमा सत्ता गठबन्धन बनाएर जानेमा नै जोड रहेको र सत्ता गठबन्धनको निरन्तरता सम्भव नभएमा अन्य वामपन्थी र समाजवादी दलहरुसँग गठबन्धनको सम्भावना कायमै रहेको देखिन्छ । चुनावमा तालमेल गर्ने विषयमा माओवादी केन्द्रभित्र आन्तरिक छलफल भइरहेको बढी दबाब वाम गठबन्धन निर्माणमा रहेको बताइन्छ । 

त्यतिमात्रै होइन सत्तारूढ गठबन्धनको सबैतिर सहकार्य सम्भव नरहेको अवस्थामा पनि एमालेले जित्ने र रोक्नुपर्ने स्थानमा भने तालमेल गर्नुपर्ने आवाज पनि छ । 

प्रमुख प्रतिपक्षी एमालेले सत्ता गठबन्धनमा नरहेका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगरे पनि स्थानीय तहमा साना दलहरुसँग सहकार्य गर्ने देखिएको छ । 

नेकपा एकीकृत समाजवादी भने अहिलेको सत्तारुढ गठबन्धन नै मिलेर चुनावमा जानुपर्छ भन्ने अडान राख्दै आएको छ । एकीकृत समाजवादीका नेताहरु एमालेसँग चुनावी तालमेलको सम्भावना नरहेको बताउँछन् । त्यसो त एकीकृत समाजवादीले सत्ता बाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलसँग पनि छलफल जारी राखेको छ । 

सत्ता गठबन्धन मध्येको प्रमुख दल नेपाली कांग्रेसभित्र भने गठबन्धनका विषयमा दुई धार छ । सभापति शेरबहादुर देउवा पक्ष गठबन्धन गरेर जाने पक्षमा छ भने शेखर कोइराला समूह गठबन्धनको विपक्षमा छ । कोइराला पक्षका नेताहरु सत्ता गठबन्धनकै शीर्ष नेताहरुलाई पनि निम्न स्तरका शब्दसहित गालीगलौज पूर्ण अभिव्यक्ति दिँदै आएका छन् । 

चैत ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावी सहकार्यका विषयमा दृष्टिकोण सार्वजनिक गर्ने तयारी गरेको छ । यद्यपि स्थानीय तहको हकमा फरकफरक ठाउँका आवश्यकता र अवस्था फरकफरक अवस्था रहने भएका कारण गठबन्धनबारे निर्णय गर्न सक्ने कांग्रेस नेताहरुको भनाई छ ।

वाम दलहरुबीच विश्वासको कमी र एक अर्का बीचको बेमेलका कारण गठबन्धनमा चुनौती खडा भएको छ भने कांग्रेससँग गठबन्धन नभएको अवस्थामा सत्ता गठबन्धनमा रहेका अन्य दलहरुबीच गठबन्धनको सम्भावना पनि त्यतिकै देेखिदैछ ।