महिला सशक्तिकरण एवं उत्थानका निमित्त महिला जागृति कार्यक्रम

महिला सशक्तिकरण एवं उत्थानका निमित्त महिला जागृति कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १०, २०७८

काठमाण्डौ । महिला सशक्तिकरण एवं उत्थानका निमित्त स्थापित जागृति नेपालले हालै एक कार्यक्रमको आयोजना गरेको छ । 

कीर्तिपुर नगरपालिका वडा नं ५ भत्केपाटीका वडा अध्यक्ष श्री राजेन्द्र कुमार महर्जन प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष महर्जनले मुलुक, समाज र परिवारको उन्नतिका निम्ति सबैभन्दा पहिला महिला जागरण हुनुपर्ने कुरामा जोड दिनुभयो । 

आज समाजमा जति पनि समस्याहरु छन् सबै ज्ञानको कमिका कारण भएकोले सामाजिक जीवनलाई विकसित बनाउन, महिलाहरुको जागरण तथा सशक्तिकरणका निमित्त संस्थाले लिएको जागृतिको दिशा अत्यन्त महत्वपूर्ण भएको पनि महर्जनले बताउनु भयो । 

प्रबुद्ध व्यक्तिहरुको समूहले सञ्चालन गरेको जागृतिको अभियान आफ्नै टोलछिमेकबाट शुरु भएकोमा संस्थाका क्रियाकलापप्रति आफू उत्साहित रहेको र भविष्यमा आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर रहेको उल्लेख गर्दै महर्जनले कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष श्री रामबाबु रेग्मीले मुलुकमा जबसम्म महिलाहरुको सम्मान हुँदैन, जबसम्म महिलाहरु स्वस्थ र सबल हुँदैनन्, तथा महिलाहरुलाई सशक्त बनाउन सकिँदैन तबसम्म समाज र मुलुकको विकास हुन सक्दैन भन्ने कुरामा जोड दिनुभएको थियो । 

प्रशिक्षकहररू मध्येबाट श्री नवराज सुवेदीले भत्केपाटी क्षेत्रका दिदी बहिनीहरूलाई आफ्नै घर, परिवार र छिमेकमै रहेर कसरी आफ्नो उद्यमशीलताको विकास गर्न सकिन्छ, कसरी आफूलाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ, कसरी आम्दानी बढाउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न उपायहरूका बारेमा कार्यक्रममा उपस्थित महिला दिदी बहिनीहरुलाई प्रशिक्षण दिनुभएको थियो । 

त्यसैगरि कानूनविद् श्री हेममणी सुवेदीले महिलाहरु कानूनको सामान्यसम्म पनि ज्ञानको अभावका कारण समाजमा अवहेलित हुनु परेको, अन्याय, हिंसा, बलात्कारको शिकार हुनु परेको र निरीह भएर आफूलाई कहिल्यैै समाजमा स्थापित गर्न नसकेको हुँदा उहाँले दैनिक जीवनमा अपरिहार्य कानून सम्बन्धि जानकारीहररूप्रति जागरुक गर्नुभयो । 

समाजका विविध क्रियाकलापहरूमा कानूनको ज्ञान नहुँदा महिलाहरु आफ्नै घर परिवार, दाजुभाई, आफन्तहरुबाटै पीडित हुनु परेको, सम्पत्तिबाट वञ्चित हुनु परेको, पाउनु पर्ने जायजेथा र सम्पत्तिको अधिकार हुँदा पनि प्रचलित कानूनको अनभिज्ञताबाट दुःख पाउनुपरेका प्रशस्त उदाहरण र यस्ता घटनाहरुबाट आफूलाई कसरी सजग हुने र कानूनी समस्याहरुको  समाधान गर्ने भनेर प्रशिक्षण दिनुभएको थियो । 

त्यसैगरि लामो समयदेखि आध्यात्मिक क्षेत्रमा कार्यरत नेपाल महर्षि वैदिक फाउण्डेशनका भावातीत ध्यान प्रशिक्षक श्री माधवप्रसाद अर्यालज्यूले जागृति नै ज्ञान भएको र यसको ज्ञान प्राप्त गर्नका लागि हरेका महिला दिदी बहिनीहरुले महर्षि प्रणित विज्ञानसम्मत भावातीत ध्यानको अभ्यास गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । 

अर्यालले जीवनको वास्तविक ज्ञान कुनै पुस्तक, स्कूल कलेज र विश्वविद्यालयमा नभई आफैंभित्र विद्यमान भएको कुरा बताइरहँदा अधिकांश विद्यालय जान नसकेका वा विद्यालय जानबाट वञ्चित महिला दिदीबहिनीहररू खुुसीले गद्गद् भएका थिए । उहाँले केवल जागृति नै महिला जीवनको स्वास्थ्य, शान्ति, आनन्द र सशक्तिकरणको आधार भएको दाबी गर्नु भयो । 

त्यस्तै उद्यमी श्री सुमन खड्गीज्यूले जसले आफ्नी आमाको सम्मान गर्न जान्दैनन् उनीहरुले जीवनमा सदैव दुःख पाउने र जसले आफ्नी आमाको सम्मान गर्न जानेका छन् उनीहरु सदैव स्वास्थ्य शान्ति र सफलताको भागिदार हुने कुराको चुनौति दिँदै उनीहरुका लागि स्वर्ग यहीँ हुने कुराको दाबी गर्नुभयो ।

अतिथिहरूका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर ५ भत्केपाटीकी महिला सदस्य श्रीमती पवित्रा विष्टले हाम्रो समाजमा आज २१ औँ शताब्दीमा पनि महिलाहरुलाई ढुंगेयुगको अवस्थामा जिउनुपरेको, महिलाहरु भनेका केवल घरभित्रै, चुलो र चौकामा बिताउनुपर्ने अवस्थाबाट गुज्रिएको अवस्थामा जागृति नेपालले आयोजना गरेको यस्ता किसिमका कार्यक्रमहरूले महिलाहरुलाई आफ्नो हक अधिकारको सुरक्षा गर्न, महिला हिंसा र सामाजिक अन्यायका विरुद्ध आवाज निकाल्न, पुरुष सरह आफ्नो र मुलुकको विकासका निम्ति पुरुष सरह नै अगाडि बढ्नका लागि प्रेरित गर्ने अभियान प्रशंसनीय भएको उल्लेख गर्नुभयो । 

भत्केपाटी कीर्तिपुरबाट शुरु गरिएको जागृति नेपाल अभियान मुलुकभर फैलाउने र संस्थाले आगामी दिनहरुमा कुरा थोरै र काम धेरै गर्ने प्रतिबद्धता जनाइएको कार्यक्रमको सञ्चालन श्रीमती चेतना भुसाल अर्यालज्यूले गर्नुभएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिहरूको सम्मान श्रीमती राधा काफ्ले भट्टराईले गर्नु भएको थियो । कार्यक्रम चैत्र २ गते बुधबार कार्यक्रम सम्पन्न भएको थियो ।