पोखरा विमानस्थल: निर्माण नसकिँदै पूर्वाधार हस्तान्तरण गर्ने तयारी

पोखरा विमानस्थल:  निर्माण नसकिँदै पूर्वाधार हस्तान्तरण गर्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १०, २०७८

कास्की । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न लागिएको विमानस्थल श्रोतले जनाएको छ । रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ । गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना संक्रमणका कारण १ वर्ष पछि सरेको हो ।

आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने औपचारिक जानकारी नआएको बताए । ‘शनिबार कार्यक्रम गर्ने कुरा फाइनल हो । तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला । यहाँ केही खबर छैन ।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए । ‘आफ्नो देशको हाई प्रोफाइल आउँदा हस्तान्तरण गर्न खोजेको हुन सक्छ । त्यो राम्रै पनि हो,’ उनले भने, ‘भोलिसम्म कार्यक्रमबारे जानकारी होला ।’

विदेशमन्त्री यी पोखरा आउने कार्यक्रम भने छैन । उनले काठमाडौंबाटै भर्चुअल माध्यममा सम्बोधन गर्ने र पोखरा विमानस्थलको निरीक्षण गर्ने बताइएको छ । उनी भोलिदेखि १३ गतेसम्म नेपाल भ्रमणका लागि आउन लागेका हुन् । 

पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन । चीनको सिएएमसीईले निर्माणको जिम्मा पाएको छ ।