एमाले: ६० प्रतिशत स्थानीय तह जित्न 'बाच्छो' नेता डा. भट्टराई समक्ष चुनावी तालमेलको प्रस्ताव !

लोकसंवाद टिप्पणी

एमाले: ६० प्रतिशत स्थानीय तह जित्न 'बाच्छो' नेता डा. भट्टराई समक्ष चुनावी तालमेलको प्रस्ताव !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ११, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २९ असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि निरन्तर सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । एमालेले एक्लै ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्दै आएको ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार ७ मध्ये ६ प्रदेशमा एमाले पहिलो पार्टी र कांग्रेस दोस्रो पार्टी रहेको रिपोर्टिङ भएको विषय बाहिर आएको थियो ।

तर रिपोटिङको दोस्रो दिन नै अध्यक्ष ओलीले आफूनिकट नेता पृथ्वी सुब्बा गुरुङलाई सत्ता गठबन्धनको एक दल जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न पठाएर चुनावी तालमेलको प्रस्ताव राखेका छन् । केही समयअघि ओलीले एक भाषणमा गठबन्धन रुपी ५ वटा बाच्छा जन्मिएको टिप्पणी गरेका थिए ।

ओलीद्वारा अहिले तिनै बाच्छा मध्येको एउटा बाच्छोसँग छलफलमा जुट्न थालेका छन् । आफूलाई एक्लै चुनाव लड्ने बलशाली पार्टी र नेताका रुपमा ब्याख्या गर्दै आएपनि चुनाव नजिक आएपछि ओली गठबन्धन बनाउनतिर लागेका हुन् । दाबी गरेजस्तो एमालेले देशका ६० प्रतिशत स्थानीय तह जित्न सक्ने अवस्था छैन ।

डा.भट्टराईलाई भेटेर एमालेले कहाँ कहाँ कसरी तालमेल गर्न सकिन्छ भन्ने विषयमा छलफलको प्रस्ताव राखेको हो । सत्तारुढ गठबन्धनमा पछिल्लो समयमा चुनावी तालमेललाई लिएर भएका गतिविधिप्रति उनी सन्तुष्ट छैनन् । 

त्यसैले उनी कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था  छन् । कांग्रेसले एमालेसँग तालमेल नगर्ने र माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनको सम्भावना नदेखिएकाले तत्काल एमालेको गठबन्धन हुने सम्भावित सत्तारुढ पार्टी भनेको जनता समाजवादी पार्टी नै हो । यस्तै एमालेले जनमोर्चासँग पनि गठबन्धन गर्न सक्छ । स्थानीयस्तरमा अन्य पार्टीसँग पनि गठबन्धन बनाउने एमालेको तयारी देखिन्छ । 

बाबुरामसँग के भयो कुराकानी ?

एमालेले स्थानीय तहको चुनावमा तालमेल गर्न औपचारिक रुपमा जनता समाजवादी पार्टीलाई प्रस्ताव गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलाई पठाएर जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईमार्फत तालमेलको प्रस्ताव राखेका हुन् ।

सत्तारुढ गठबन्धन एक भएर निर्वाचनमा जाने चर्चा चलिरहेको छ । तर गठबन्धन बनाउने विषयमा कांग्रेसमा एकमत छैन । कांग्रेका शेखर कोइराला समूह चुनावी गठबन्धनको विपक्षमा छ । कांग्रेसले गठबन्धन बनाएर अघि बढ्नुभन्दा पनि साझेदार दलहरुका नेताहरुलाई पालैपालो गाली गरिरहेका छन् । यसरी गाली गर्नेमा कांग्रेसकै नेता शेखर कोइराला, धनराज गुरुङ र गगन थापा अगाडि देखिएका छन् ।

सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेपनि कोइराला समूह त्यसको विपक्षमा छ । कांग्रेसका केही नेताहरुले खुला रुपमा नै गठबन्धनको विपक्षमा मत राखिरहेका बेला एमालेले जसपालाई आफूसँग मिलाउने कोशिस सुरु गरेको हो । 

सत्ता गठबन्धनमा चुनावी तालमेल भएपनि भागबण्डामा विवाद छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले जितेका सबै स्थानीय तह  दिनुपर्ने दाबी प्रारम्भिक छलफलमा गरेका छन् । कांग्रेस भने यो प्रस्तावमा सहमत छैन । बरु उसले सबै महानगरपालिका आफूले लिने बताइरहेको छ । सत्ता गठबन्धनमा भइरहेको खिचातानीबीच एमाले गठबन्धनलाई फुटाएर जसपालाई आफ्नो पक्षमा ल्याउने कोशिसमा लागेको छ । 

एमालेले सत्ता गठबन्धनमा विभाजन ल्याउन पटक पटक कोशिस गरेको थियो । तर सफल भएको थिएन । पछिल्लो समयमा गठबन्धनका विषयमा कांग्रेसका अभिव्यक्तिका कारण अन्य दलहरु वैकल्पिक उपायको खोजीमा छन् । त्यसैले यो बेला एमालेले गठबन्धन फुटाउन र चुनावी गठबन्धन गरी आफूलाई बलियो बनाउन कोशिस गरिरहेको छ ।

सोही अनुसार डा.भट्टराईलाई भेटेर एमालेले कहाँ कहाँ कसरी तालमेल गर्न सकिन्छ भन्ने विषयमा छलफलको प्रस्ताव राखेको हो । सत्तारुढ गठबन्धनमा पछिल्लो समयमा चुनावी तालमेललाई लिएर भएका गतिविधिप्रति उनी सन्तुष्ट छैनन् । 

यस्तै गठबन्धनकै अन्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस नमाने आफूहरुबीच तालमेल गर्ने तयारी पनि सुरु गरेका छन् । जसमा जसपालाई पनि साथ लिने तयारी छ । एमाले पनि जसपालाई तानेर गठबन्धन बनाउने सोचमा पुगेको देखिन्छ । यदि यस्तो हुन सकेमा र कांग्रेससँग गठबन्धन नभएमा अहिलेको सत्ता गठबन्धन तीनतिर विभाजित हुनेछ । यसबाट प्रत्यक्ष फाइदा एमालेलाई पुग्नेछ ।