ज्यान लिने नक्कली डेन्टल चिकित्सक संजय कुमार महतो दुई वर्षपछि पक्राउ

ज्यान लिने नक्कली डेन्टल चिकित्सक संजय कुमार महतो दुई वर्षपछि पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ११, २०७८

महोत्तरी ।  महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने सञ्जयकुमार महतोलाई  प्रहरीले पक्राउ गरेको छ ।

उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।

कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँत उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।

चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दाँत उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध  जाहेरी दिएका थिए ।

चिकित्सा सम्बन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दाँत उखेलेका पीडितको आरोप छ ।

 दाँत उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा  रानी सिंहलाई जनकपुर लगिएको थियो ।  प्रादेशिक अस्पताल जनकपुरमा अत्यधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

विशाल बस्नेत/न्युज कारखाना