वाम गठबन्धनको चर्चाबीच एमाले र माओवादी केन्द्रका ७ नेता चीनमा

वाम गठबन्धनको चर्चाबीच एमाले र माओवादी केन्द्रका ७ नेता चीनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ११, २०७८

बाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधुप बढेको छ । 
एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको ५ दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएका उनकी धर्मपत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानुभएको हो, सोमबार फर्कने भन्नुभएको छ', उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् । 

शुक्रबार बिहान ९ बजे माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ चीन प्रस्थान गरेका हुन् । ‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार/सोमबार फर्कनुहुन्छ', पुनका स्वकिय सचिव सन्तोष पुनले भने ।

एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्सचेन्ज’मा भाग लिन एमाले टोली चीन पुगेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकै पटक चीन जाने घटनालाई फरक रूपमा बुझिने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।