अपेक्षारहित जीवनमा मात्र जस्तोसुकै परिणामको बोझले पनि किच्दैन

फर्कलान् र ती दिनहरू- १०२

अपेक्षारहित जीवनमा मात्र जस्तोसुकै परिणामको बोझले पनि किच्दैन

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  चैत्र १२, २०७८

जीवनको महत्त्वपूर्ण समय सिक्दैमा जान्छ भनिन्छ तर सिक्नु र सिकाउनु त निरन्तर निरन्तर हुने प्रक्रिया हो जस्तो लाग्छ । सिक्ने तरिका भनेको परेर मात्र अनुभवजन्य हुन्छ भन्ने मान्यता छ तर सबै कुरामा, सबै घटनामा अनुभव बटुल्न समय लाग्छ र सम्भव पनि हुँदैन भनेर त्यसबारेमा सिकाउने काम हुन्छ, जसलाई हामीले औपचारिक रूपमा पठनपाठन गरेर सिकाउने गरेका छौँ । कतिपय कुराहरू पढेर  जानिन्छ, कतिपय कुराहरू परेर जानिन्छ भन्ने त नेपालीमा चलन नै छ । कि त परेर जानिन्छ, कि त पढेर जानिन्छ ।

पढेर जानिने भनेको सिकाउनु हो भने परेर जान्ने भनेको गरेर या भोगेर जान्ने हो । हाम्रो लोकचलनमा भनिन्छ- यदि बालोलाई पढाइएन भने पिता शत्रु मानिन्छ, माता बैरी मानिन्छ किनभने जब त्यो बालो मानिसहरूको बीचमा पुग्छ, फूलहरूका माझमा पलासको फूलझैँ हुन्छ । देख्दा त राम्रो हुन्छ, रातो पनि छ तर बास्ना छैन । बास्ना नभएको फूल जस्तै हुँदोरहेछ अपठित बालो ।

पहिले पहिले छोरीलाई सार्वजनिक स्थानमा पढ्न पठाइँदैनथ्यो तर निजी रूपमा भने घरका पठितहरूले पढाउँथे । राजाका दरबारमा निजी गुरुहरू राखेर सिकाइन्थ्यो राजकुमारीहरूलाई, राजबधूहरूलाई किनभने भोलि राजकाजमा उनीहरूको सल्लाह चाहिन्छ भनेर होला । महाभारतकालमा, पौराणिककालमा त्यस्ता रानी, राजकुमारीहरू भेटिन्छन्, जसले औपचारिक शिक्षा लिएको त भनिएको छैन तर उनीहरूमा देखिने राज्य सञ्चालनको तीक्ष्णताले शिक्षा पाएका थिए भनेर अहिले पनि मान्नुपर्ने हुन्छ । 

पौराणिककालमा विद्यालय भनेको गुरुकुल थियो । कसको नेतृत्वमा गुरुकुल भन्ने नामका हिसाबले ब्राह्मण कुमारहरू, राजकुमारहरू र कहिलेकाहीँ वैश्यकुमारहरू पनि पढ्न जान्थे भन्ने देखिन्छ । गुरुको अर्थ हो, अन्धकार नाश गर्ने व्यक्ति अर्थात् जसले ज्ञानको ज्योतिमार्फत् उनीहरूको पेसा र भावी जीवनलाई सफल बनाउनका लागि प्रयोगात्मक शिक्षा दिने काम गर्थे भन्ने बुझिन्छ । त्यसबेला पनि ५ वर्षमा नै शिक्षा दिन सुरु गर्ने भन्ने थियो अर्थात् अक्षरारम्भ गर्ने । धर्मसिन्धुले भन्यो- अक्षरं स्विकृतं कुर्यात् प्राप्त पञ्चम हायने । गुरु को त भन्ने कुरा पनि आउँछ । स्वाभाविक रूपमा नै मान्नुपर्छ- सबैभन्दा ठूलो गुरु आमा नै हो तर आमाले मात्र जीवनमा आइपर्ने आन्तरिक तथा बाह्य समस्याको समाधानका लागि सबै आवश्यक ज्ञान दिन सक्नुहुन्न भनेर गुरुकुलको स्थापना गरिएको हुनुपर्छ जस्तो कि अहिले विद्यालय, महाविद्यालय र विश्वविद्यालयको स्थापना भएको छ ।

अझ औपचारिक विद्यालयहरूसँगै प्राविधिक शिक्षाका लागि विशेष विद्यालयहरूको स्थापना गरिन्छ अहिले । त्यसबेला पनि विशेष गुरुहरू हुन्थे, जसले विशेष ज्ञान उपलब्ध गराउँथे । ब्रह्मास्त्रका लागि सबैभन्दा उपयुक्त गुरु थिए परशुराम अर्थात् यमदग्नि ऋषिका पुत्र राम । उनले पछि गएर क्षत्रीयहरूको रिसले ब्राह्मण कुमारहरूलाई मात्र शिक्षा दिन थाले । त्यसै क्रममा महाभारतमा एउटा प्रसंग छ- कर्णले महेन्द्र पर्वतमा गएर परशुरामसँग ब्रह्मास्त्र सिक्न जाँदा आफूलाई भारद्वाज गोत्रीय ब्राह्मण कुमार भनेर ढाँटी शिक्षा ग्रहण गरेको र अन्त्यमा उनी ब्राह्मण कुमार नभएको थाहा पाएपछि परशुरामले आफूले सिकाएको शिक्षाले चाहिने बेलामा र जीवनको अन्त्यमा त्यसले काम नगरोस् भन्ने श्राप दिएको । त्यसैले अन्त्यमा कर्णलाई आफ्नो ज्ञानले काम दिएन भनिन्छ ।

त्यसो त ब्राह्मण कुमारहरूलाई मात्र शिक्षा दिने भन्ने त थिएन तर परशुरामले भने क्षत्रीहरूको रिसले २१ पटकसम्म पृथ्वीको परिक्रमा गरी क्षत्री नाश गरेको भन्ने छ । यसरी गुरुहरूले पनि विशिष्ट शिक्षा दिने पनि बेला रहेछ, सामान्य शिक्षासमेत गरी । 

मैले आफ्नो शिक्षणको सुरुवात २०३१ सालको पुसदेखि गरेँ र अहिलेसम्म पनि त्यो कामबाट निवृत्त भएको जस्तो लाग्दैन, जबकि औपचारिक रूपमा ६० वर्षको उमेरबाट नेपाल सरकारबाट पेन्सन भने  शिक्षकको रूपमा नै लिँदै छु । अबको शिक्षा लिने भनेको समयसँग, नयाँनयाँ प्रविधिको प्रयोगबाट जीवन सहज बनाउन र बदलिँदो विश्व परिवेशका बारेमा जानकारी लिने हो । अझ बालमनोविज्ञानको नयाँ कक्षा लिँदै छु नातिनीहरूसँग ।

मलाई थाहा छ, प्रत्येक व्यक्ति नयाँ एकाइ हो, प्रत्येक व्यक्तिमा आफ्नो अपनत्वको नयाँ स्वरूप विकास भएको हुन्छ र कसरी जीवनयापन गर्ने भन्ने नयाँनयाँ धारणा उत्पन्न हुन थालेको हुन्छ । पहिले, पौराणिककालमा पनि गुरुकुलमा जानका लागि उपनयन आवश्यक थियो तर अक्षरारम्भका लागि ५ वर्षको हुनु अनिवार्य थियो भनिएको छ । उपनयनसम्मको समय भनेको बालकको शारीरिक अवस्थाको परिपक्वताको समय हो, जसले उसले सिकेको कुरा  सम्झने र त्यसको प्रयोग गर्ने क्षमता वृद्धि गर्ने बेला हो । ५ वर्षसम्मको समयलाई भनियो, पहिलो ५ वर्ष माया ममताका लागि हो, त्यसपछिको १० वर्ष ताडनाको हो अर्थात् यो भएन, त्यो भएन भनेर कचकच गर्ने र उसलाई परिपक्व बनाउँदै लैजाने हो । जब १६ वर्ष पुग्छ नि बालो, अनि उसलाई साथी सरह व्यवहार गर्नुपर्छ । मित्रसरह समान रूपको व्यवहार गर्नुपर्छ भन्ने थियो ।

हाम्रो वैदिक परम्परामा भनिएकै रहेछ, नाति-नातिनासँग खेल्ने भनेको बाजे-बज्यैले हो । क्रीडन्तो पुत्रैनप्तृभिर्भोदमानौ स्वेगृहे अर्थात् हजुरबा र हजुरआमाहरूले नाति-नातिनाहरूसँग राम्ररी खेलेर मनोरञ्जन लिनू । हुन पनि नाति-नातिनीहरूसँग खेल्ने चलन भनेको रमाइलो गरेर उनीहरूलाई मनोरञ्जन गराउने रहेछ

अहिले पनि हाम्रो नेपालमा १६ वर्ष पुगेपछि एउटा बालिग भएको ठानेर नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गरेका छौँ । नागरिकका रूपमा उसको कर्तव्य सुरु भएको ठानेका छौँ । त्यसो त गुरुको श्रेणीको कुरा गर्दा मनुस्मृतिमा भनिएको थियो- पाध्यायनदशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पितृन्माता गौरवेणातिरिच्यते ।। अर्थात् १० उपाध्याय बराबर एक आचार्य हुन्छन्, सय आचार्य बराबर पिता हुन्छन् र हजार पिता बराबर आमा हुन्छिन् । 

गौरवपूर्वक यो कुरा भन्न सकिन्छ । मलाई पनि एउटा यस्तो अवसर परेको थियो जटिलतम बेलामा आमाले सहजताका साथ फुत्काउनुभएको थियो । कुरो हो २०६४-०६५ सालतिरको । मेरी आमा श्रीकृष्ण प्रणामी हुनुहुन्थ्यो । मेरो घरमा आमाबाहेक पत्नी देवकी, छोरी अर्चना, छोरा पुलकित श्रीकृष्ण प्रणामी धर्मप्रति नियमपूर्वक नै आस्थावान् छन् । आमा र पत्नीको भित्री इच्छा त म पनि कृष्ण प्रणामी धर्मको दीक्षा लिऊँ भन्ने थियो तर यस्तो जटिलतम अवस्थामा परेँ कि श्रीकृष्ण प्रणामी धर्मका मुख्य गुरु श्री १०८ महाराज श्रीकृष्णमणिजीसँग भेट गर्न,  दर्शन गर्न आमा र पत्नीसँग गएको थिएँ । उहाँ यसै पनि अत्यन्त मिलनसार धर्माधिकारी हुनुहुँदो रहेछ र सबैलाई सम्झाई बुझाई गरेर सनातन धर्मप्रतिको महत्त्व बुझाइरहनुभएको थियो । जब मेरी आमाको पालो आयो, उहाँको दर्शन गर्ने अनि म पनि उहाँसँगै थिएँ ।

उहाँले गुरुलाई 'मेरो छोरो' भनेर चिनाउनुभयो किनभने आमाको मनमा गुरुसँग मेरो दर्शन गराउने नै थियो । जब म कुरा गर्न थालेँ, तत्काल मेरी जेठीसासू दिदी राधा गजुरेलजीले महाराजजीलाई भन्नुभयो, 'महाराज, मेरा ज्वार्इँसाहेबलाई पनि कण्ठी लगाउन पाए हुन्थ्यो ।' अचानक मलाई कृष्ण प्रणामी धर्मको दीक्षा दिने कुरा पो आयो । म अलमलमा परेँ  किनभने न म त्यसका लागि तयारी थिएँ, न त मेरो कुनै त्यस्तो विचार नै थियो । म त आमासँग महाराजजीलाई भेट्न गएको थिएँ । त्यहाँ मेरी आमाको प्रत्युत्पन्न मतिले मलाई धेरै ठूलो आड भरोस दियो किनभने मैले पनि आमाको इच्छामा छोडेँ र भनेँ, 'आमाको इच्छा भए त म अहिले पनि दीक्षा लिन तयारै छु तर मेरो त्यस्तो कुनै पनि तयारी छैन अनि म दीक्षा लिएपछि यो धर्मको दैनिक प्रक्रियामा कति सफलताका साथ सम्पादन गर्न सकुँला र ?'

मेरो कुरा आमालाई चित्त बुझ्यो र भन्नुभयो, 'महाराजश्री, मेरो छोरो मैले भनेपछि मान्छ, पछि कुनै बेलामा म भन्नेछु, अहिले कताकता जान्छ, कताकता केके खान्छ होला, भैगो ।' हुनत त्यसपछि म गुरुजीको स्वर्ण जन्मोत्सवको अवसरमा जामनगर पनि गएँ, त्यसबेला म आमाको बरखी बार्दै थिएँ । पछि पनि काठमाडौंमा महाराजश्री आउनुहुँदा पनि भेटघाट गर्छु तर पनि जबजब म गुरुजीको दर्शनमा पुग्छु, आफ्नी दिवंगत मातालाई सम्झन्छु किनभने संसारमा सबैभन्दा ठूलो गुरु त आमा नै हो ।

स्मृतिमा भनियो भनेर मात्र होइन कि जसले ९ महिना गर्भमा राख्यो, जन्मायो, हुर्कायो, कुन बेला के खान मन लागेको हो, के गर्न मन लागेको हो, सबै कुराको याद गरी हुर्काउनुभयो र पढाउनुभयो, सधैँ निःस्वार्थ रूपमा मेरो प्रगति मात्र चाहनुभयो । त्यसैले स्मृतिमा भनियो भनेर मात्र होइन रहेछ, आमा बराबरको गुरु कोही पनि हुन नसक्ने रहेछ । 

हाम्रो वैदिक परम्परामा भनिएकै रहेछ, नाति-नातिनासँग खेल्ने भनेको बाजे-बज्यैले हो । क्रीडन्तो पुत्रैनप्तृभिर्भोदमानौ स्वेगृहे अर्थात् हजुरबा र हजुरआमाहरूले नाति-नातिनाहरूसँग राम्ररी खेलेर मनोरञ्जन लिनू । हुन पनि नाति-नातिनीहरूसँग खेल्ने चलन भनेको रमाइलो गरेर उनीहरूलाई मनोरञ्जन गराउने रहेछ । मेरो पनि अचेलको दैनिक काम उनीहरूसँगै खेल्ने र खेलाउने हुन्छ । रमाइलो कस्तो पनि हुन्छ भने, अहिले झगडा पर्छ, अहिले मिल्ती हुन्छ । न तिनीहरूलाई म नभई हुन्छ, न त मलाई उनीहरू नभई हुन्छ । हामी एकअर्काका असल साथी भएका छौँ । आफ्ना छोरा-छोरीभन्दा नातिनीहरू साथी हुने रहेछन् । यो पनि परेर जान्ने कुरो रहेछ ।

बच्चा त्यहाँको भएपछि अभिभावकहरूका लागि नेपाल भनेको पिकनिकमा जानेजस्तो, कुनै दसैँमा टीका लगाउन जाने ठाउँ, यसो बेलामौकामा बिदा मनाउने ठाउँको रूपमा विकसित हुँदै छ किनभने बच्चाहरूको जीवनस्तर त्यो विकसित देशमा जस्तो पनि यहाँ अहिले हुन सक्दैन र ती देशका कानुनले पनि त्यहाँको नागरिकता छाडेर यहाँ बस्न पनि अप्ठ्यारो हुन्छ

वास्तवमा किन पनि उनीहरू नजिक हुने रहेछन् भने, मायाको जालो अलिक बढी नै कसिएको जस्तो लाग्दो रहेछ । सायद कारण होला, हामी अब यिनीहरूमार्फत यो संसारमा बाँचिरहनेछौँ । मायाको जालो तलतिर तलतिर जान्छ भन्ने लोक भनाइ छ । हिजोका दिनमा आफ्ना बच्चाहरूले भनेजस्तो कुरा किन्न पनि सकिँदैन थियो, पैसै थिएन । आज हामीसँग पेन्सनबाट भने पनि केही आम्दानी हुने रहेछ । पैसा खल्तीमा कमी भएको हुँदैन, उनीहरूका सामान्य जरुरतहरू पूरा गर्नका लागि कसैसँग केही भन्नुपर्दैन पनि । सायद उनीहरूको मनोविज्ञानमा मायाको कमी हुन नदिने काम बाजे-बज्यैले गर्नेजस्तो हुँदो रहेछ । 

बाजे-बज्यैको अस्तित्व सक्रिय रहेको परिवारमा बच्चाहरूले आफूलाई अलिक बढी नै मायाको सुरक्षा पाएको महसुस गर्ने रहेछन् भन्ने अब आएर अनुभूति भएको छ । सायद यही होला , पढेरभन्दा परेर र समयसँगै सिक्दै जाने भनेको । 
सोचेजस्तो त कहाँ हुने रहेछ र ? के सोचिन्छ, के हुने रहेछ । तर, मेरो विचारमा धेरै अपेक्षा राखिएन भने कसैसँग पनि चित्त दुखाउनुपर्दैन किनभने चित्त दुख्ने भनेको अपेक्षा र व्यवहारमा समानता महसुस नगरे पछि हुने हो । जब कुनै अपेक्षा राखिँदैन भने त्यहाँ कुनै परिणामको आशा पनि गरिएको हुँदैन रहेछ ।

म नै मेरो पुस्ताको पहिलो सामाजिक सेवा भनौँ या शिक्षण सेवा भनौँ, महिनापिच्छे पारिश्रमिक पाउने व्यक्ति भएको थिएँ र अहिले पनि पेन्सन लिने व्यक्ति भएको छु । अहिले त कान्छाबाको छोरो र मेरो बालसखा भाइ विष्णु पनि पेन्सनमा छ, गणेश दाइको छोरो डिल्लीरमण पनि पेन्सनमा छ र निकट भविष्यमा भाइ विनोद पनि पेन्सनमा बस्नेछ । तर, मेरा पिताजीको सन्तानमा अहिलेसम्म सरकारी सेवामा निरन्तर हुने अरू छैनन् अनि त्यसो भएपछि पेन्सनमा हुने कुरै भएन । 

परिवारमा जब संख्या बढ्दै जान्छ, आवश्यकता पनि बढ्न थाल्छ । मानिसहरूले आफ्नै देशमा आफ्नो भविष्य नदेखेर विदेश जाने चलन केही वर्षदेखि नेपालीहरूमा पनि बढ्दै छ । करिब आधा करोड नेपाली जनसंख्या विदेशमा छ, सिधै कमाउन वा पढ्ने तरिकाले गएर कमाउन अनि उतै पनि बस्न । कारण हो- बच्चा जन्मिएपछि खासगरी संयुक्त राज्य अमेरिका र क्यानाडामा स्वतः त्यहाँको नागरिक हुने हुन्छ । बच्चा त्यहाँको भएपछि अभिभावकहरूका लागि नेपाल भनेको पिकनिकमा जानेजस्तो, कुनै दसैँमा टीका लगाउन जाने ठाउँ, यसो बेलामौकामा बिदा मनाउने ठाउँको रूपमा विकसित हुँदै छ किनभने बच्चाहरूको जीवनस्तर त्यो विकसित देशमा जस्तो पनि यहाँ अहिले हुन सक्दैन र ती देशका कानुनले पनि त्यहाँको नागरिकता छाडेर यहाँ बस्न पनि अप्ठ्यारो हुन्छ ।

नेपालीहरू किन विदेशिन्छन् भन्दा, यहाँभन्दा राम्रो जीवनयापन गर्न सकियोस् र पैसा पनि कमाउन सकियोस् ताकि नेपाल फर्केर सुख, सुविधामा बाँच्न सकियोस् तर व्यवहारमा चाहिँ बगेको खोलो फर्कँदैन भनेजस्तै भएको छ । बडो अपवादमा फर्केको पनि पाइन्छ तर एकदम अपवादमा । विदेशमा दाम त कमाइएला तर नेपालमा जस्तो नाम कमाउन भने मुस्किल देखिन्छ तर पनि केही नेपालीहरूले विश्वविद्यालयहरूमा, वैज्ञानिक क्षेत्रमा र राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्न थालेका पाइन्छ तर एकदम कम र पनि नेपालीहरू इमान्दार छन् भन्नेचाहिँ छ है !

क्रमशः