थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल

थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १३, २०७८

मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दै छ । 

खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जीत निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ । 

थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौँ स्थानमा छ । उसले ११ खेलमा जीत निकाल्दा ७ खेल बराबरी गरेकाे छ भने ८ खेलमा हार बेहोरेको छ । 

यसअघि नेपाल थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० अन्तरले पराजित भएको थियो । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारीका लागि थाइल्यान्ड भ्रमणमा निस्किएको हो । छनोटको समूह 'ए'मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनको सामना गर्नेछ ।