'सहमति भएका योजना अगाडि बढाउनुपर्‍यो'

'सहमति भएका योजना अगाडि बढाउनुपर्‍यो'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७८

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

३ दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । 

‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरू हामीले अघि बढाउन सहमति गरेका छौँ, तिनीहरूलाई निरन्तरता दिनुपर्छ । तिनीहरूलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो’, भेटवार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने । 

भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जनाए । 

नेपालले फाइदा लिन सक्ने सडक, रेल, सिँचाइ, जलविद्युत् उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनुपर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए । 

‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरू बन्द भएका छन् । नाकाहरू खुल्नुपर्‍यो । नेपाली विद्यार्थी, जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरू फर्केर आएका थिए । छिटो उनीहरूलाई फर्काएर पढाइ सुुचारु गर्नुपर्‍यो’, अध्यक्ष ओलीको भनाइ उद्वृत गर्दै भट्टराईले भने ।  

हुम्लाभन्दा पारि चीनमा करिब ५०० जना नेपालीहरू अड्किएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्किएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए । 

जबाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।