श्रम तथा रोजगार विभागद्वारा श्रम क्षेत्रका समस्या समाधानसहितको प्रतिवेदन पेस

श्रम तथा रोजगार विभागद्वारा श्रम क्षेत्रका समस्या समाधानसहितको प्रतिवेदन पेस

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय श्रम तथा रोजगार विभागद्वारा स्वदेशी र वैदेशिक रोजगार (श्रम) क्षेत्रका समस्या एवं समाधान बारेको प्रतिवेदन पार्टी अध्यक्ष माधबकुमार नेपाललाई बुझाएको छ ।

 आइतबार विभागका प्रमुख . उर्वादत्त पन्तले अध्यक्ष नेपाल समक्ष प्रतिवेदन पेस गरेको हो । पार्टी केन्द्रीय कार्यालय सभाकक्षमा आयोजित समारोहमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान), पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल, पार्टी केकस एवं एकीकृत ट्रेड युनियन महासंघ, नेपालका महासचिव दीपक पौडेल , एकीकृत वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सन्तकुमार लामा , ट्रेड युनियनका नेताहरू र रोजगारदाता अगुवा नेतृत्वको महत्त्वपूर्ण उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वदेशी श्रम क्षेत्रका समस्या तथा समाधानका विषयमा विभागबाट कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका संयोजक तथा पेशागत महासंघ, नेपालका सचिवालय सदस्य.धरणीधर अधिकारीले बुँदागत रूपमा प्रस्तुत गर्नु भएको थियो । 

त्यस्तै एकीकृत बैदेशिक रोजगार व्यवसायी सङ्गठनका महासचिव तथा अर्को कार्यदलका संयोजक मधुकर रिजालले सो सम्बन्धी प्रतिवेदन पेस गर्नु भयो । समारोहमा विभागका सदस्यहरू, ट्रेड युनियनका अगुवाहरु, विभिन्न रोजगारदाताहरू एवं जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।