तथ्यांकमा आगामी स्थानीय निर्वाचन

तथ्यांकमा आगामी स्थानीय निर्वाचन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७८

आगामी स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा हुँदै छ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । 

निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ । 

आयोगले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् । 

यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधानसभा निर्वाचनमा थिए । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ थियो ।

आउँदो स्थानीय तहको निर्वाचनका लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् । 

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ ।

आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ । मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् । मोरङपछि झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् । झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेका आयोगले जनाएको छ । 

३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन् । 

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् । काठमाडौंमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ । 

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन् । 

यस पटक सबैभन्दा बढी मतदान केन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेका छन् । मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदानकेन्द्र रहेको निर्वाचन आयोगले बताएको छ । यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम-पूर्व रहेका छन् । मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम-पूर्वमा ४९ वटा मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ । 

प्रदेशहरूमा सबैभन्दा बढी मतदान केन्द्र मधेस, बाग्मती र प्रदेश १ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बाग्मती प्रदेशमा ४ हजार ९५ र प्रदेश १ मा ४ हजार ५१ वटा मतदान केन्द्र रहनेछन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदान केन्द्र रहनेछन् ।