आहा नेपाल ! 'चरोको पराले गुँड घरबार मात्र होइन, उसका लागि दरबार पनि हो'

आहा नेपाल !  'चरोको पराले गुँड घरबार मात्र होइन, उसका लागि दरबार पनि हो'

सरोज घिमिरे ‘कर्कट कश्यप’  |  दृष्टिकोण  |  चैत्र १४, २०७८

२ ठूला देशहरू भारत र चीनको काखमा अवस्थित सुन्दर देश हो नेपाल । संस्कृत भाषाको निपायलबाट नामकरण भएको मानिने देश नेपाल प्राचीन इतिहास बोकेको देश हो । बुद्ध दर्शन, महाभारत तथा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको नेपाल देश करिब ३ हजार वर्ष पुरानो रहेको पाइन्छ । यद्यपि, नेपालमै प्राप्त शिलालेखमा १ हजार ५०० वर्ष पुरानो लिखित अभिलेख पाइए पनि त्यसभन्दा पुरानो इतिहास बोकेको सहजै अनुमान गर्न सकिन्छ ।

हिमालको काखमा रहेको बसोबासका कारण नामकरण गरिएको अर्को आधार रहेको यो देश नेपालमा एक करोड वर्ष पहिलादेखि नै मानव अस्तित्व रहेको अनुमान गर्ने प्राक्ऐतिहासिक प्रमाण रामापिथेकस मानवको अवशेषले दिन्छ । दक्षिणका धेरै देशहरू अंग्रेजको उपनिवेश भएर शासित भएका बेला पनि नेपाल स्वतन्त्र अस्तित्वमा रहेका कारण भन्न मन लाग्छ, ‘आहा नेपाल !’

प्राकृतिक रूपमा सुन्दर देश हो नेपाल । लाग्छ, प्रकृतिले संसारका सबै राम्रा चिज मिलाएर पहिला नेपाल बनायो अनि बचेखुचेका चिजले अरू देश बनायो । संसारका कति देशलाई बालुवा मात्र दियो । कति देशलाई माटो मात्र दियो । कति देशलाई पानी मात्र दियो । तर, नेपाल यस्तो सुन्दर देश बनायो प्रकृतिले, जसलाई माटो पनि दियो र पानी पनि दियो । सायद त्यही संयोजनले होला सदावहार हाँसिरहने प्रकृतिको हरियो रङ अर्थात् अविच्छिन्न वसन्त दियो । यसो भनिरहँदा समुद्र दिएन नि भन्ने प्रश्न उठ्न सक्छ । माल्दिभ्स जस्तो पानीको सतह बढ्दा डराउनु नपरोस् भनेर नै प्रकृतिले समुद्र एकातिर राखिदियो अनि आफ्नो प्रिय रचना नेपाल अर्कोतिर राखिदियो । त्यसैले सामुद्रिक छालबाट सदैव जोगिने भएकाले भन्न मन लाग्छ आहा नेपाल !

सगरमाथाको देश हो नेपाल । नेपालको माटो संसारको सबैभन्दा उचाइमा रहेको छ । लाग्छ, आकाशबाट उदाउने सूर्यले सबैभन्दा माथि धर्तीको स्पर्श गर्दा पहिला नेपाललाई गर्छ अनि मात्र अरू देशलाई गर्छ । संसारका १० उच्च शिखरमध्ये नेपालमै ८ वटा हुनु अनि सेतो, शान्त, शुभ्र, स्निग्ध हिउँले सधैँ नेपालको धरा सजिनुले पनि नेपाल सुुन्दर छ । नेपालले जसरी प्रकृति आफ्नो छातीमा सजाएको छ, त्यसरी नै आफ्नो छातीमा नेपाल सजाउन मन लाग्छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेको यही नेपाल हो, जहाँ अरनिकोले कलाको कुची चलाए । बुद्धले शान्तिको ध्वनि फिँजाए । सीताले नारीको नाक उठाइन् । जनकले सुशासनको जग बसाए । व्यासले बुद्धिको विरासत बनाए । विश्वमा चम्किएको भारत वर्षको उज्यालोमा नेपालले सधैँसधैँ वर्तन थपिरह्यो । उज्यालो बाँडिरह्यो । धर्तीमा चन्द्र-सूर्य रहेझैँ अक्षुण्ण रहने संकेत दिँदै चन्द्र-सूर्यमा फर्फराइरहन्छ नेपाल ।

नेपाल, कहिले हिमालमा हिउँ बनेर जम्छ । कहिले पहाडमा डाँफे बनेर नाच्छ । कहिले तराईको तातोमा धान बनेर फल्छ । कयौँ उकालो उक्लिएर कयौँ ओरालो ओर्लन्छ । फेवातालमा डुंगा बनेर तैरिन्छ । चितवनमा गैँडा बनेर देखिन्छ । देउरालीमा थकित यात्री बनेर सुस्ताउँछ ।

भञ्ज्याङबाट पारि तरेर संसारमा नाम फैलाउँछ । ६ हजारभन्दा बढी नदीनालासँग मिलेर सागर पुग्छ । बादलसँग बुइ चढेर फेरि आफ्नै भूमि सम्झी फर्किन्छ । कुहिरोको बर्को ओढेर आकाशसँग लुकामारी खेल्छ । वीरका रगतमा पौडन्छ । वीरता बोकेर संसार दौडन्छ ।

दक्षिण झरेर आँप टिपेर खाँदै उकालो चढ्दा सुन्तला फल्ने पहाड पुगिन्छ । अलिकति सुन्तला टिपेर खाँदै उकालो चढ्दा स्याउ फल्ने हिमाल पुगिन्छ । एउटै अग्लो शिखरमा लेकदेखि बेँसी पुग्दा संसारका धेरै वनस्पतिको दर्शन पाइन्छ । अझ हिमाली भेगमा आगो हातले र पानी चिम्टाले समाउँदाको मजा बेग्लै छ । लाग्छ, यहाँका प्रत्येक बोटमा बुटी छ । प्रत्येक जीवमा जादू छ । मान गर्न सक्ने मानव भएकैले देश विकासको संभावना एकातिर छ भने फरक जाति र संस्कारमा संभावना पनि छ । बहुल जात र बहुल भाषाले देशको विविधतालाई उचालेको छ ।

संसारका कतिपय विकसित देशहरू एउटा चाड मान्नका लागि वर्ष दिन कुर्छन् । नेपालमा त हरेक दिन चाड छ । हरेक दिन उल्लास छ । दसैँमा देश रमाउँछ । तिहारमा बत्तीले देश उज्यालो बनाउँछ । धान नाचसँगै देश नाच्छ । छठले मिथिला उचाल्छ । म्ह पूजाले आत्मसम्मान जगाउँछ । तीज र स्वस्थानीले नारीत्व सजाउँछन् ।

विश्वका मानिसले ‘ह्याप्पी न्यु इयर’ भनेर वर्षमा एक दिन शुभकामना दिँदा नेपाल धेरैवटा नयाँ वर्षमा शुभकामना दिइरहेको हुन्छ । कतै सिरुवा त कतै माघी, कतै ह्लोसार त कतै न्यु दया भिन्तुना, कतै उँभौली उँधौली त कतै के ? आखिर हरेक दिन नयाँ मिति मात्र होइन, नयाँ गति लिएर बाँच्छ नेपाल ।

अलिकति दूरी पार गर्दा अर्कै गीत र संगीतले शोभायमान बन्छ नेपाल । लेकका च्याङ्बा र मैच्याङ हुन् कि उपत्यकाका बौचा र मैचा । यिनीहरूको खुसीसँगै नाच्छ देश । यिनीहरूको संस्कार नै त हो देश । पात बटारेर बजाएको पिपिरीमा बोल्छ नेपाल । मादलको ताल र सारंगीको धूनमा रम्छ नेपाल । झ्याउँकिरीको झंकारमा भेटिन्छ नेपाल । गोठालाको सुसेलीमा होस् कि हजुरआमाको संगिनी, हजुरबाको सिलोक होस् कि देउडाको राइझुमा । यही पृथक्ताको एकतामा त छ, ‘आहा नेपाल ।’

संसारको मानक समयभन्दा नेपालको समय छिटो छ । समय मात्र होइन, चेतना पनि छिटो छ । अरूको डोरभन्दा पहिला हामीले द्वार भनेका हौँ । अरूका मदरभन्दा पहिला हाम्री माता भनिएकी हुन् । आर्मस्ट्रङले चन्द्रमा टेक्नु पहिले देवकोटाले ‘उडी छुनु चन्द्र एक’ लेखेका हुन् । इस्वीभन्दा विक्रम संवते ठूलो छ ।

जनताले नै जनताका लागि गरिने शासनमा रमाउनुपर्ने नेपालले कहिलेकाहीँ यसको अभाव भोग्दै आएको छ । अब हामीले स्थिर राजनीतिको थालनी गरेर देशलाई शिरमा सजाउने संस्कार बनाउनु छ । पुरानै नेपाललाई नयाँनयाँ संरचना थपेर नयाँ बनाउनु छ । व्यक्ति होइन, व्यक्तित्व फेर्नु छ

हाम्रा पुर्खाले समाजलाई पात्रो दिएपछि संसारका धेरैले सिकेका हुन् । संसारका विमानभन्दा पहिला हाम्रै सभ्यताको पुष्पक विमान उडेको हो । अरूले इन्टरनेट बनाउनुभन्दा पहिला हाम्रै ऋषिले आँखा चिम्लेर टाढाको कुरा थाहा पाएका हुन्, यसको उदाहरण महाभारतमा संजय छन्, जसले धृतराष्ट्रलाई कुरुक्षेत्रको युद्धको सादृश्य वर्णन गरेका छन् । पृथ्वीको गति थाहा पाएरै ग्रहणका कुरा गरेका हुन् । अनुपम ज्ञानलाई विज्ञानमा उतारेका हुन् । संसारको प्राचीन ज्योतिष विज्ञानमा अभ्यस्त भएका हुन् ।

बहादुरीमा मात्र होइन, विज्ञानमा पनि अघि थिए हाम्रा पूर्वज । विद्यालय जान नपाईकन विद्या पाएका थिए । पश्चिमाको मन्त्र नपाउँदै खेतमा गाड्ने किलोलाई तीखो बनाए । पुच्छर थिच्दा टाउको उठ्ने ढिकी बनाए । चिम्टा बनाए । जाँतो बनाए । खँलाती, लिही र घन बनाए । कैँची र सियो बनाए । लाग्छ, यी यस्तै कुराका पछि लागेर मात्र आधुनिक विज्ञानले शिर उठाएको हो ।

कसरी उठाए हँ नेपालको जग ? कसरी जोगाए हँ नेपालको गौरव ? कति प्रश्नले अहिले पनि उद्वेलित बनाउँछ मन । बैरीलाई खेदाए । शक्ति देखाउनेलाई असली शक्ति देखाए । जुन बेला आज जस्तो विकास थिएन, यात्रालाई बाटाघाटा थिएनन्, गाडी, जहाज थिएनन्, सञ्चारलाई तार थिएन, जागिर थिएन, हो, त्यहीबेला कर्तव्य थियो ।

नेपाली कागजमा बाँसका सिन्का सालको बोक्रो पकाएको मसीमा चोबेर चिठी लेखे । त्यो पनि अक्षर चिनेका थोरै मानिसले । दौराका तुनामा र परेवाका खुट्टामा बाँधेर पठाएको चिठी कहिले पुग्यो होला टिस्टाबाट काँगडा ? बाटामा पुल नहुँदा कति बगे होलान् हाम्रा पत्र ? कहाँ पुर्‍याए परेवाले ? त्यहीबेला थियो नेपालको सिमाना अहिलेको भन्दा २ गुणा ।

देशलाई आमा सम्झे । आमाको संरक्षण र मुस्कान सर्वस्व सम्झे । परिआएका बेला आमाको दूधबाट बनेको आफ्नो रगत आमाकै लागि अर्पे । आफूलाई जन्म दिन आमाले रजस्वलामा रगत बगाएको बुझे । आमालाई जीवन दिन आवश्यक परेको बेला आफ्नो जीवनको रगत आमाकै नासो सम्झेँ । वैरीले नाका थुन्दा आफ्नै उत्पादनमा बाँचे । हावाले गुँड झार्दा आत्तिएनन् । आफ्नै पखेटामा विश्वास गरे । सधैँ बत्ती बनेर उज्याले छरे । बत्ती बन्न नसक्दा ऐना बनेर उज्याले परावर्तन गरे । आफ्नालागि कम र देशका लागि बढ्ता गरे । आहा वीर ! आहा वीरता ! आहा नेपाल !

हो, भौतिक रूपमा गर्ने विकासमा हामी केही पछि छौँ । तर, आजबाट सुरु गरे पनि केही ढिला भएको छैन । प्र्राकृतिक रूपमा अरूले नपाएका कुरा हामीले पाएका छौँ, जुन अरूले चाहना राखेर पाउन सक्दैनन् । हामी प्राप्तिमा रमाउँछौँ । त्यसैले हामी रमाइलो प्राप्त गरिरहन्छौँ । धैर्य र साहस, लगानी र लगाव, चेतना र विवेक हाम्रै सम्पत्ति भएकाले भूमि जस्तो छ, भावना त्यस्तै भएको अनुभूत गर्न पाउँछौँ नेपालमा । आहा ! हाम्रो नेपालमा ।

गोपाल वंश, महिसपाल वंश, किरात शासन, लिच्छवीकाल, मल्लकाल हुँदै आएको नेपालले शाह वंशको उज्यालो र अँध्यारो पनि झेल्यो । राणको रडाको र पञ्चायतको कालो रात छिचोल्दै प्रजातन्त्रको पुनस्र्वाद पाएको नेपाल लोकतन्त्रको उकालो चढेर गणतन्त्रमा आइपुगेको छ । राजनीतिका तृष्णामा सङ्लिँदै र वितृष्णामा धमिलिँदै आएको नेपालले आफ्नो सफेद अनुहार जोगाउन सधैँ चाहेको छ ।

जनताले नै जनताका लागि गरिने शासनमा रमाउनुपर्ने नेपालले कहिलेकाहीँ यसको अभाव भोग्दै आएको छ । अब हामीले स्थिर राजनीतिको थालनी गरेर देशलाई शिरमा सजाउने संस्कार बनाउनु छ । पुरानै नेपाललाई नयाँनयाँ संरचना थपेर नयाँ बनाउनु छ । व्यक्ति होइन, व्यक्तित्व फेर्नु छ । भूमि होइन, भूमिको चमक फेर्नु छ । सृष्टि जोगाउँदै कर्मको दृष्टि फेर्नु छ । भौतिक विकासमा दौडेर नेपाललाई झनै आहा ! बनाउनु छ ।

देश भन्नु भूगोल मात्र होइन, जनता र व्यवस्था पनि हो । देश भन्नु नागरिकले खुसीले स्वास फेर्ने अवस्था पनि हो । देश भन्नु आफ्नो मौलिक र अरूसँग पृथक पहिचान पनि हो । देश भन्नु देशप्रति नागरिकले राख्ने स्वाभिमान पनि हो । यसैले त देश भन्नु नेपाल हो । नेपाल भन्नु देश हो । धन्न ! यहाँ जन्मन पाएर भन्न पाएका छौँ- ‘आहा नेपाल !’

मानवीय स्वास्थ्य जस्तै पर्यावरणीय स्वास्थ्य जोगाउनु छ । विकासका लागि कृषि, पर्यटन र औद्योगिकीकरणमा ध्यान पुर्‍याउनु छ । जंगल जोगाएर धराको उर्वरा बढाउनु छ । पानीको अस्तित्व बचाउनु छ । विकृत मौसमले पर्यटनमा आएका लामखुट्टेलाई बिदा गर्नु छ । किताबको झोलासँगै अक्सिजनको सिलिन्डर बोकेर विद्यालय जानुपर्ने हाम्रा सन्तानको भविष्यलाई तिरस्कार गर्नु छ ।

जमिनमुनि भासिदै गएको पानीको सतहलाई अलिक माथि उचाल्नु छ । बेमौसमी गीत गाउने हाम्रो मौसमलाई शास्त्रीय लयमा फर्काउनु छ । माटो छाडेर बालुवा खोस्रिन पुगेका परिश्रमी नेपालीलाई पुर्खाको नासो चिनाउनु छ । जलस्रोतमा सम्पन्न देश नेपाललाई जल अभावबाट मुक्ति दिलाउनु छ । रिंगेट कमाउन विदेश जाने संस्कृति बदल्नु छ । डलर बोकेर आउने नागरिकलाई भित्र्याउने वातावरण बनाउनु छ । अनुदान लिने बानीबाट अनुदान दिने बानीमा बदल्नु छ ।

हिमालको हिउँमा चिप्लेटी खेल्न देशी, विदेशी पाहुना बोलाउनु छ । हिमताल बचाउनु छ । हिमनदीको जीवन जोगाउनु छ । पहाडका पाउ छोएर विदेसिने नदीलाई देउरालीमा पुर्‍याएर प्यास मेटाउनु छ । पहाडमा चढाएर टारबारी भिजाउनु छ । नदीका बाटामा बाँध बाँधेर पानी जमाउनु छ । माछा पालेर देशलाई आत्मनिर्भर बनाउनु छ ।

बिजुली बालेर उज्यालो छर्नु छ । उद्योग चलाएर स्वदेशमै रोजगारी सिर्जना गर्नु छ । बहुबाली फलाएर उद्योग भर्नु छ । औद्योगिक उत्पादन बढाएर शोधनान्तर घाटाको घाउ पुर्नु छ । श्रम गर्न आऊ भनेर विश्वलाई बोलाउनु छ । विकासमा नेपाललाई अर्को सगरमाथा चढाउनु छ । ओहो ! अब सबै मिलेर भोलिको नेपाललाई पनि आहा ! नेपाल नै बनाउनु छ ।

चुनावभरि आश्वासनको विकास हुने परम्पराको अन्त्य गर्नु छ । भोट किन्नेले देश बेच्न सक्छ । सावधान बन्नु छ । हाम्रालाई राम्रा होइन, राम्रालाई हाम्रा बनाउनु छ । व्यवसायमा अल्मलिएको राजनीतिको लज्जित अनुहार राष्ट्रसेवाको भावनाले ओजपूर्ण बनाउनु छ । पढेर राजनीति गर्छु भन्ने सन्तानलाई स्याब्बास भन्न सक्ने बाबुआमा निर्माण गर्नु छ । सम्पत्तिमा अल्मलिएका नागरिकलाई संस्कारको गोरेटो टेकाउनु छ । खुट्टा काँपेर उभिन नसकेकालाई पुर्खा चिनाउनु छ । कर तिर्न कर गर्नु नपर्ने नागरिक बनाउनु छ । कर खर्चन डर मान्ने शासक बनाउनु छ । रहरको करले देशको मुहार चम्काउनु छ । साँच्चै प्रजातन्त्रको एउटा गर्विलो र दर्बिलो उदाहरण नेपाल बनाउनु छ । नेपाललाई नेपाल नै बनाइराख्नु छ ।

बट्टाका आभूषणले मानिसलाई शोभा दिँदैन, जबसम्म त्यसलाई प्रयोग गरिँदैन । उपहारका सम्पदाले मात्र देश बन्दैन, जबसम्म नागरिकको चेतनाले प्रयोग गरिँदैन । अब प्रयोग गरेर सुन्दर देशका सुन्दर नागरिक बन्दै अगाडि बढ्नु छ । ज्येष्ठ नागरिकको अनुभवलाई युवाहरूको प्रयोगमा ल्याउनु छ । भविष्यमा आफूलाई चाहिने मायाको बिरुवा आजका वृद्धवृद्धामा रोप्नु छ । सभ्यताको बिरुवालाई भरोसाको लौरो टेकाए मात्र आफ्नो बुढ्यौलीमा त्यो पैँचोको सहारा पाइन्छ । असारमा बिउ छरे मात्र मंसिरमा खमार रुङ्न पाइन्छ । विकासको बिउ हरेक नागरिकले रोप्न सके उत्पादनको स्वाद चाख्न पाइन्छ ।

डोजरले खन्ने माटाको बाटो र भाइचाराले खन्ने हार्दिकताको बाटो समानन्तर बनाउनु छ । विभेदका बगरमा संयोजनका पुल बनाउनु छ । निराशाको घान फल्ने आशाको ढिकी बनाउनु छ । विसंगतिलाई पिस्न संगतिको जाँतो घुमाउनु छ । सत्कर्मलाई बाह्रैमास फलाउन जाँगरको कोदालो चलाउनु छ । छाम्दा नपोले पनि ढुंगाभित्र आगो लुकेको हुन्छ । त्यही लुकेको आगो निकाल्न झुलो र चकमक चलाउनु छ । साँच्चै नेपाललाई सधैँ आहा ! नेपाल बनाउनु छ ।

छातीभरि देश बोकेर यही देशले बनाइदिएका पाइलाले परदेश गएका नागरिक पनि थुप्रै छन् । तिनले यहाँको माटो छाडे पनि परदेशिँदा लगाएका जुत्तामा टाँसिएको नेपालको धुलोले तिनलाई देश सम्झाइरहेको छ । अर्काको भूमिमा आफ्नो जीवनमा पाइन हालेर फर्कनुपर्छ एक दिन । पढ्न र बढ्न, सिक्न र कमाउन जहाँ पुगे पनि आमा सम्झेर फर्कनुपर्छ । समुद्रको पानी बाफ बनेर जति उचाइमा उडे पनि एक दिन चिसिएर होस् या पहाडमा ठोकिएर फेरि धर्तीमै ओर्लनुपर्छ । जंगलको चरो चारो चर्न दरबारका सिंहमर्मरमा पुगे पनि या मन्दिरका सुनका गजुरमा चढे पनि साँझ परेपछि आफ्नै परालका त्यान्द्राले बनेको गुँड सम्झेर आउँछ । उसका लागि चरोको गुँड घरबार मात्र होइन, दरबार पनि हो ।

आमाले सन्तान टाढा बसेर पठाएको महँगो कोसेलीभन्दा काखमा बसेर खुवाएको कालो चिया मनपराउँछिन् । हाम्रा लागि देश त्यस्तै हो । एक पटक फेरि परिवारका सबै सदस्य भेला भएर नेपाल आमाका काखमा रमाउँदा सन्तान सुखमा रमाउँछ नेपाल ।

देश भन्नु भूगोल मात्र होइन, जनता र व्यवस्था पनि हो । देश भन्नु नागरिकले खुसीले स्वास फेर्ने अवस्था पनि हो । देश भन्नु आफ्नो मौलिक र अरूसँग पृथक पहिचान पनि हो । देश भन्नु देशप्रति नागरिकले राख्ने स्वाभिमान पनि हो । यसैले त देश भन्नु नेपाल हो । नेपाल भन्नु देश हो । धन्न ! यहाँ जन्मन पाएर भन्न पाएका छौँ- ‘आहा नेपाल !’