प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी : ३०० भन्दा बढी सर्जकहरूको उपस्थिति

प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी : ३०० भन्दा बढी सर्जकहरूको  उपस्थिति

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १५, २०७८

मोरङ । नेपाल प्रज्ञा–प्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ आयोजना गर्ने भएको छ । प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग, नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक व्यवस्थापन र विराट साहित्य सङ्गमको स्थानीय व्यवस्थापनमा उक्त सङ्गोष्ठीको आयोजना हुन लागेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

उक्त सङ्गोष्ठीको समुद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र समापन सत्रका प्रमुख अतिथि प्रदेश नं. १ प्रमुख परशुराम खापुङ रहनुहुने छ । मुख्यमन्त्री राईबाट चैत्र १८ गते, बिहान १० बजे, पाञ्चाली, विराटनगर स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा उद्घाटन भएको उक्त सङ्गोष्ठी दुई दिनसम्म चल्ने छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. गोपीन्द्र पौडेल र डा. देवी नेपालको उपस्थिति रहने छ भने प्राज्ञ सभाका सदस्यहरू विवश पोखरेल, शशी लुमुम्बु, सुभद्रा भट्टराई, हरिचन्द्र लावती र नन्दु उप्रेतीका साथै प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, भाषाविद् चूडामणि रेग्मीलगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।  

यसरी नै प्रदेश नं १ का चौधवटै जिल्लाका भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र आदि क्षेत्रका ३०० भन्दा बढी प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरू र सर्जकहरूको प्रतिनिधिमूलक उपस्थिति रहने उक्त कार्यक्रममा सम्बन्धित प्रदेशको समग्र स्वरूपको प्रतिनिधित्व हुने गरी छओटा कार्यपत्रहरू प्रस्तुत हुने छन् र ती कार्यपत्रहरूमाथि सामूहिक अन्तरक्रिया गरी निष्कर्ष निकालिने छ ।

यस क्रममा ‘नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नं. १ को वैशिष्ट्य’ विषयमा प्रा.डा. टेकबहादुर श्रेष्ठले र ‘कोसी प्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदा’ विषयमा प्रा.डा. सोमप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । यसरी नै ‘प्रदेश नं १ मा नेपाली समालोचनाको स्थिति’ विषयमा दधिराज सुवेदीले, ‘प्रदेश नं १ को मैथिल जीवन दर्शन’ विषयमा शिवनारायण पण्डित ‘सिंगल’ले, ‘प्रदेश नं १ मा बोलिने मातृभाषाको अवस्था’ विषयमा डा. तारामणि राईले र ‘किरात जनजीवन र लोकसाहित्य’ विषयमा मधुराज केरुङले आआफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नुहुने छ ।
दुई दिने उक्त सङ्गोष्ठीको पहिलो दिन साँझ ‘गजल–सन्ध्या’को आयोजना गरिने छ । उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका तीन दर्जन गजलकारहरूले आआफ्ना प्रतिनिधि गजलहरू वाचन गर्नुहुने छ भने दोस्रो दिन दिउँसो आयोजना हुने ‘विशेष कविगोष्ठी’मा विभिन्न क्षेत्रका दुई दर्जन कविहरूले आआफ्ना प्रतिनिधि कविताहरू वाचन गर्नुहुने छ । 
स्थानीय संस्कृतिको झलक देखिने गरीका विभिन्न सांस्कृतिक झाँकीहरूसमेत प्रस्तुत हुने उक्त प्रादेशिक कार्यक्रमलाई अत्यन्त भव्य, सभ्य र ऐतिहासिक बनाउनका लागि अध्यक्ष मधु पोखरेलका साथै लोचन रिजाल, गोपाल निर्भीक, शिवनारायण पण्डित ‘सिंगल’, हरिप्रसाद बराल, कविता चापागाईं, रामबाबु दाहाल, भवानीप्रसाद पोखरेल, कविता केशरी, जीवन काफ्ले र भीम कोइरालासहितको सहआयोजक विराट साहित्य सङ्गमको समूह सक्रियताका साथ लागिरहेको जानकारी नेपाल प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।