लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिदेखि बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ’, सदस्य केशव झाले न्युज भने । उनका अनुसार देशैभरको रिपोर्ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।

उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्र बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्युँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भाेलिदेखि सुरु हुने बैठकमा २८ जना मात्र सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।