एनआरएनएले पशुपति क्षेत्रमा १०० कोठाको वृद्धाश्रम बनाउने

एनआरएनएले पशुपति क्षेत्रमा १०० कोठाको वृद्धाश्रम बनाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन् ।

सोमबार सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन् । एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झैझगडा हामीले सिध्यायौँ। अब केही बाँकी छैन । त्यतातिर नजाऔँ ।’

आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ । ‘हामी सबै बसेर सँगै काम गर्दा मज्जा आउँछ', आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, २ भाइ भएर काम गर्नेछौँ ।’ संघभित्र आइपर्ने चुनौतीलाई समधान गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।

नयाँनिर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दाबी छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ । आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए । ‘जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । पशुपतिनाथको आशीर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ', आचार्यले भने ।