कांग्रेसको ‘स्थानीय अवस्था र आवश्यकता’को तालमेल : एमालेका कि बलियोका विरुद्ध ?

लोकसंवाद टिप्पणी

कांग्रेसको ‘स्थानीय अवस्था र आवश्यकता’को तालमेल : एमालेका कि बलियोका विरुद्ध ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

नेपाली कांग्रेसले सत्तारुढ दलहरुबीच देशव्यापी रुपमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ का आधारमा तालमेल गर्ने निर्णय गरेको छ । यसको अर्थ अब सत्तारुढ गठबन्धनबीच देशव्यापी रुपमा गठबन्धन भने नहुने भएको हो । यस्तै कांग्रेसको निर्णयसँगै कांग्रेस–एमालेबीच चुनावी तालमेलको सम्भावना पनि टरेको छ । 

नेपाली कांग्रेसमा चुनावी गठबन्धनका विषयमा दुई धार रहेको थियो । सभापति शेरबहादुर देउवा पक्षधर गठबन्धनको पक्षमा थिए भने शेखर कोइराला समूहले चुनावमा गठबन्धन गर्न नहुने अडान राख्दै आएको थियो । दुवै पक्षका धारणालाई समेटेर चुनावी तालमेलको निर्णय गरेको देखिएको छ । लामो छलफलपछि कांग्रेसले मध्यमार्गी बाटो अपनाएको हो । 

‘स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ’, कांग्रेसले गरेको निर्णयमा भनिएको छ । 

स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा चुनावी गठबन्धनको आवाज लामो समयदेखि उठ्दै आएको थियो । तर कांग्रेस अझै अनिर्णित अवस्थामा थियो । स्थानीय तहकै निर्वाचनमा सत्ता गठबन्धनको चुनावी गठबन्धन नभएका कारण अब प्रदेश र संघीय निर्वाचनमा के गर्ने भन्ने संकट पनि खडा भएको छ । सभापति देउवा निर्वाचनमा गठबन्धनको पक्षमा थिए । तर उनी पक्षकै नेताले पनि उम्मेदवार छनोटको जिम्मा तल्ला कमिटीहरुलाई नै दिने पक्षमा मत राखेपछि देउवाले मध्यमार्गी बाटो रोजेका हुन् । 

अब कांग्रेसले महानगरबाहेक स्थानीय तहका उम्मेदवार तल्ला कमिटी बाटै छनोट गर्नेछ भने स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गर्नेछ । कांग्रेसको यो निर्णयले एमालेसँग चुनावी गठबन्धन बन्ने सम्भावना भने समाप्त भएको छ । 

मंगलबार अन्य दलसँग तालमेल गर्न सक्ने भनेर त्यो विकल्प खुला राख्ने भन्ने विषयको स्थानमा सत्ता गठबन्धनका दलहरुबीच तालमेल गर्ने निर्णय भएको हो । यसको अर्थ अब माओवादी केन्द्र वा एकीकृत समाजवादी पार्टी बलियो भएका स्थानमा पनि अब कांग्रेसले सत्ता गठबन्धनका दलहरुका विरुद्धमा तालमेल गर्नेछैन । 

केन्द्रीय कार्यसमितिको बैठकमा कतिपय नेताहरुले माओवादी केन्द्र बलियो भएको ठाउँमा एमालेसँग तालमेल गर्नुपर्ने मत राखेका थिए । कर्णालीसहित माओवादी बलियो भएका स्थानमा माओवादी विरुद्ध अन्य गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । तर मंगलबार अन्य दलसँग तालमेल गर्न सक्ने भनेर त्यो विकल्प खुला राख्ने भन्ने विषयको स्थानमा सत्ता गठबन्धनका दलहरुबीच तालमेल गर्ने निर्णय भएको हो । यसको अर्थ अब माओवादी केन्द्र वा एकीकृत समाजवादी पार्टी बलियो भएका स्थानमा पनि अब कांग्रेसले सत्ता गठबन्धनका दलहरुका विरुद्धमा तालमेल गर्नेछैन । 

यस्तै अर्को महत्वपूर्ण कुरा भनेको अब चुनावमा सत्तारुढसँग गठबन्धन नभई तालमेल मात्रै हुने भएको छ । एमाले बलियो भएका जिल्लामा गठबन्धनका नेताहरुबीच चुनावमा तालमेल हुनेछ । तर देशव्यापी रुपमा गठबन्धन भने हुने छैन । कांग्रेसले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भएको दाबी गरिएको छ । 

अब कांग्रेसले एक्लै बलियो भएको र सहजै चुनाव जित्ने स्थानमा सत्ता गठबन्धनकै दलहरुसँग पनि तालमेल गर्नेछैन । देउवा स्थानीय तहसहित प्रदेश र केन्द्रमा समेत चुनावी तालमेलको पक्षमा छन् । उनले केन्द्रीय कमिटी बैठकमै गठबन्धन नगरे धेरै नेताले हार्ने भन्दै गठबन्धन बनाएर जानुपर्नेमा जोड दिएका थिए । कांग्रेसले स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाउने भनेको छ । 

यससँगै महानगरपालिकाका उम्मेदवार मात्रै केन्द्रले टुंगो लगाउनेछ । कांग्रेसको विधानमा वडा सदस्य तथा वडाध्यक्षको उम्मेदवार छनोटको अधिकार प्रतिनिधिसभा क्षेत्र, गाउँ पालिका प्रमुख तथा उपप्रमुखको जिल्ला र नगर तथा उपमहानगरको उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ। 

कांग्रेसको निर्णयसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि कांग्रेससँग चुनावी गठबन्धन नभएको स्थानमा तालमेल गरेर चुनाव लड्न सक्नेछन् । यसबाट आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ ।