'गठबन्धनका दलबीचकाे बैठकबाट तालमेलकाे माेडालिटी बन्छ'

'गठबन्धनका दलबीचकाे बैठकबाट तालमेलकाे माेडालिटी बन्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।

आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरूबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।

'संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे, यी सबै कुराकाे ख्याल राख्नुपर्छ । गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुराेध गर्दछु', तालमेलकाे विपक्षमा रहेका नेताहरूप्रति लक्षित गर्दै उनले भने ।

अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे उनले बताए । 'देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ', सिंहले भने ।