मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १६, २०७८

त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्‍यो ।

मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करण केसीले समान २ विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पीएनजीमाथि ८ रनको जीत दर्ता गराएको थियो । नेपाल लगातार दोस्रो जीतको खोजीमा छ ।