तेह्रथुममा एकीकृत समाजवादीमा समाहित हुनेहरूको लर्को

तेह्रथुममा एकीकृत समाजवादीमा समाहित हुनेहरूको लर्को

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

तेह्रथुम । तेह्रथुममा जिल्लामा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेहरूको लर्को लागेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादी तेह्रथुमले जिल्लामा आफ्नो गतिविधि बढाएसँगै पार्टीमा प्रवेश गर्नेहरूको  लर्को लागेको बताइएको छ । समाजवादीले जिल्ला र स्थानीय तहमा प्रशिक्षण  र पार्टीमा समाहित गराउने कार्यक्रमलाई तीव्रता दिएपछि अन्य पार्टीहरू छोडेर एकीकृत समाजवादीमा लाग्नेहरू बढेका हुन् ।  

बुधवार सदरमुकाम म्याङ्लुङमा सम्पन्न कार्यक्रममा  विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

कार्यक्रममा नेकपा एमाले म्याङ्लुङ नगरपालिका  २ का वडाध्यक्ष तथा निवर्तमान जिल्ला कमिटी सदस्य बलदेव सीँ तुम्बाहाम्फे, एमालेकै निवर्तमान जिल्ला कमिटी सदस्य सुविन्द्र थेगुवा र नेकपा माओवादी केन्द्रका नेता  नेत्र सोदेम्बा लगायत करिब २ सय बढी कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित भएको जिल्ला अध्यक्ष  कृष्ण बहादुर चोङबाङले  जानकारी दिनु भयो ।

पार्टीमा प्रवेश गर्ने कार्यकर्ताले बा मालेको अहङ्कारी, दम्भ, नीति विनाको नैतिकता र विधि विनाको  ढाट, जालझेल र षड्यन्त्रको खेती गर्ने पार्टी नेकपा एमाले भएको भन्दै उक्त पार्टी कम्युनिस्ट नीति र सिद्धान्त पनि नभएको भन्दै  नेकपा एकीकृत समाजवादीमा समाहित हुने  धारणा राखेका छन् ।

 नेकपा(एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा नेपाल सरकारका राज्यमन्त्री भवानी  खापुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको  थियो ।

जिल्लामा स्थानीय तहको  निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेस, नेकपा माओेबादी केन्द्र , नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी नेपाल, मञ्च सम्बद्ध  लिम्बुवान पार्टीले जिल्लाका सबै तहमा गठबन्धन गर्ने निर्णय गरी सकेका छन् ।