नेकपा (एस)ले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवार बनाउँदै

नेकपा (एस)ले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवार बनाउँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७८

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका खानलाई मायादेवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने तयारी समाजवादीले गरेको हो ।

गएको प्रदेश निर्वाचनमा प्रतिनिधि सभा १ को प्रदेश सभा ख मा बाम गठबन्धनबाट साझा उम्मेदवार समेत रहनु भएका खान यस क्षेत्रका चर्चित युवा नेता हुनुहुन्छ । पूर्व नेपाली राष्ट्रिय क्रिकेटर समेत रहनु भएका खान पार्टी विभाजन पछि आफू तिर तान्न एमालेले विभिन्न प्रयास गरे पनि दृढ भई समाजवादीमा उभिनु भएको थियो । बिहीबार गाउँपालिकाको केन्द्र पकडीमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले लोकप्रिय नेता खानलाई गाउँपालिकाको अध्यक्षमा खडा गर्ने बताउनुभयो ।

जनता र पार्टी कार्यकर्ताको चाहना अनुसार खानलाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीको योजना रहेको भन्दै यसपालि चुनावमा जिताएर देखाउन आग्रह गर्नु भयो । जिल्लामा पनि गठबन्धनको सम्भावना रहेको भन्दै नेता खत्रीले मायादेवीमा पार्टीको पकड बलियो रहेकाले यहाँ समाजवादीलाई छाड्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै पार्टी जिल्ला अध्यक्ष लंका बहादुर हमालले मायादेवीमा एकीकृत समाजवादी प्रति नागरिकको विश्वास बढेको भन्दै यसले चुनाव जित्ने सम्भावना बढाएको बताउनुभयो ।

पार्टीका युवा नेता फैजल सबै बिच लोकप्रिय रहेको भन्दै मायादेवीको मुहार फेर्नका लागि कलममा भोट दिनुको विकल्प नभएको बताउनुभयो । आफूहरू समाजवाद स्थापनाका लागि पार्टी निर्माणमा जुटेको भन्दै जनताको विश्वास पाउनेमा अध्यक्ष हमालले विश्वास व्यक्त गर्नुभयो ।पार्टीका गाउँपालिका अध्यक्ष राम नरेश कोहारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।

गत हप्ता सम्पन्न जिल्ला सचिवालय बैठकले कपिलवस्तुका सबै पालिकामा पार्टी कार्यालय सञ्चालन गर्ने निर्णय गरे अनुसार बिहीबार मायादेवी गाउँपालिकामा पनि कार्यालय सञ्चालनमा आएको हो । यस भन्दा अगाडी शुद्धोदन गाउँपालिकामा एकीकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान थालेको थियो । प्रतिनिधि सभा १ मा पर्ने शुद्धोदन र मायादेवी गाउँपालिकामा एकीकृत समाजवादी एमाले भन्दा ठुलो रहेको नेताहरूको दावी छ ।

यहाँ ०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनका एमाले उम्मेदवार अजिजुर रहमान शेख पनि एकीकृत समाजवादीमा हुनुहुन्छ भने गएको प्रदेश सभाको चुनावका उम्मेदवार फैजल खान पनि समाजवादी मै रहनुभएको छ । यी दुई प्रभावशाली नेता समाजवादीमा लागे पछि शुद्धोदन र मायादेवी एमालेको भन्दा राम्रो प्रभाव क्षेत्र हुन पुगेको नेताहरूको दावी छ ।