दलहरूलाई गठबन्धनको सकस: कांग्रेसको शेखर समूहका कारण प्रचण्ड 'प्रेसर' मा !

लोकसंवाद टिप्पणी

दलहरूलाई गठबन्धनको सकस: कांग्रेसको शेखर समूहका कारण प्रचण्ड 'प्रेसर' मा !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७८

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी रणनीति बनाउन व्यस्त छन् । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ ।

तर अझै पनि पूर्ण रुपमा गठबन्धन हुने या नहुने भन्ने निश्चित भइसकेको छैन । कांग्रेसका केही नेताहरुले अझै पनि पूर्ण रुपमा गठबन्धन नहुने बताइरहेका छन् । कांग्रेसमा शेखर कोइराला पक्षका नेताहरु गठबन्धनको विपक्षमा उभिदै आएका छन् । केन्द्रीय समिति बैठकले नै स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध तालमेल गर्ने निर्णय गरेपछि अब कांग्रेसका प्रदेश र जिल्ला स्तरका नेताहरुले गठबन्धन भएपनि आफूहरुले कांग्रेस बाहेकका उम्मेदवारलाई मत नहाल्ने अभिव्यक्ति दिइरहेका छन् । 

कांग्रेस नेताहरुले चुनावी गठबन्धनबारे हल्का टिप्पणी गर्न थालेपछि बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कडा रुपमा प्रस्तुत भए । उनले कांग्रेसले चुनावी गठबन्धनलाई हल्का रुपमा लिएको भन्दै आफूहरु एमालेसँग मिल्न सक्ने संकेत समेत गरेका छन् ।

केही दिनअघि केन्द्रीय समिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै एमालेसँग मिल्न सक्ने सम्भावना कायमै रहेको बताएका थिए । उनले बिहीबार सत्तारुढ गठबन्धनको बैठकमा कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार दिन आग्रह गर्दै त्यसो नभए एमालेसँग मिल्ने चेतावनी दिएपछि देउवाको आशंका पुनः मिल्नसक्ने सम्भावना जिवितै देखिएको छ । त्यतिमात्रै होइन उनले चुनावमा सम्मानजनक हैसियत हुनुपर्ने विषय समेत उठाएका छन् । 

कांग्रेसले मंगलबार केन्द्रीय समितिको बैठकबाट बहुसंख्यक स्थानीय तहमा जित्ने बलियो आधार र परिस्थिति निर्माण भएको दाबीसहित सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको थियो । यो भनेको कांग्रेसले हार्ने अवस्था रहेका स्थानीय तहमा तालमेल गर्ने र कांग्रेस बलियो भएका स्थानीय तहमा एक्लै प्रतिस्पर्धा गर्नसक्ने नीतिका रुपमा हेरिएको छ । 

बिहीबारको बैठकमा प्रचण्डले कांग्रेसको यही बहुसंख्यक स्थानीय तहमा जित्ने बलियो आधार र परिस्थिति निर्माण भएको भन्ने विषयप्रति कटाक्ष गरेका थिए ।  ‘तपाईंहरुले जित सुनिश्चित गरिसकेपछि अब त्यसमा के छलफल गराई भयो र ?’, उनले भने, ‘चुनावी गठबन्धनलाई तपाईंहरुले हल्का रुपमा लिइ रहनुभएको छ, यो कुराले म एकदमै 'प्रेसर' मा छु ।’ उनको यो संकेत आफ्नो पार्टीका नेताहरु एमालेसँग छलफलमा रहेको तर्फ थियो । पछिल्लो समयमा एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच छलफल बाक्लिएको बताइन्छ । 

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सामेल हुने भएको छ । त्यसो नभएमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादी भने गठबन्धन गरेरै अघि बढ्ने तयारीमा देखिन्छन् । यसो गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्र तथा एकीकृत समाजवादीको गठबन्धन चुनावमा होमिने सम्भावना पनि रहन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अघिल्लो स्थानीय तहको निर्वाचनमा जुन पार्टीले जितेको छ, त्यो सोही पार्टीलाई छाडेर बाँकी स्थान अर्थात् गठबन्धन बाहिरका दलले जितेका स्थानमा भागबण्डा गर्नुपर्ने पक्षमा छन् । 

कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु चुनावी गठबन्धनको पक्षमा रहे पनि कांग्रेसकै शेखर कोइराला समूह एक्लै लड्नुपर्ने पक्षमा रहेका कारण गठबन्धन गरे पनि कांग्रेसको एउटा समूहले असहयोग गर्ने आशंका दुवै नेतामा देखिन्छ । 

२०७४ को स्थानीय तह निर्वाचनमा केही स्थानमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सो निर्वाचनमा एमाले पहिलो पार्टी बन्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए । तर अहिले एमाले विभाजित भएको छ । त्यसैले अहिले गठबन्धन गर्दा त्यसबेला एमालेले झिनो मतान्तरले जितेका स्थानीय तह गठबन्धन दलले जित्ने सम्भावना छ ।

त्यसैले माओवादी केन्द्रले स्थानीय निर्वाचनमा कांग्रेसको विश्वासिलो साथ खोजेको छ । कांग्रेसको साथ पाएर गठबन्धन भएको अवस्थामा अघिल्लो स्थानीय तह जितेका स्थान राखेर बाँकीमा पनि भाग लिँदा थप स्थानीय तह जित्न सकिने उसको आँकलन देखिन्छ । कांग्रेसलाई गठबन्धनका लागि दबाब सिर्जना गर्न प्रचण्ड स्वयमले आफ्नो पार्टीका नेताहरु र एमाले नेताहरु गठबन्धनका लागि छलफलमा रहेको खुलासा गरेका छन् । 

गत साता मात्रै एमाले र माओवादीका नेताहरु चीनको कुन्मिङ पुगेका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेल तथा माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङले कुन्मिङ पुगेर छलफल गरेकाले एमाले र माओवादी केन्द्रलाई चुनावी गठबन्धन हुँदै पार्टी एकताका लागि फेरि एक ठाउँमा ल्याउन चीनले पहल गरिरहेको आशंका गर्न थालिएको छ । चीन पुगेर फर्किएका एमाले र माओवादी केन्द्रका नेताहरुले नेपालका वामपन्थीहरु मिलेको चीनले हेर्न चाहेको बताएका थिए । 

यसपालीको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन एकातिर र एमाले एकातिर हुने अवस्था छ । सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सामेल हुने भएको छ । त्यसो नभएमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादी भने गठबन्धन गरेरै अघि बढ्ने तयारीमा देखिन्छन् । यसो गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्र तथा एकीकृत समाजवादीको गठबन्धन चुनावमा होमिने सम्भावना पनि रहन्छ ।

अघिल्लो निर्वाचनमा वामपन्थीहरु मिलेर लड्दा कांग्रेसका धेरै उम्मेदवार पराजित भएका कारण यसपटक कांग्रेस कुनै न कुनै उपाय लगाएर भए पनि पहिलो पार्टी बन्ने ध्याउन्नमा देखिन्छ । आगामी चुनावमा दलहरुको समीकरण कस्तो बन्छ भन्ने हेर्न अझै केही समय अझै कुर्नुपर्ने भएको छ ।