पाँचथर उद्योग वाणिज्य संघ: अधिकारी र घिमिरेको प्यानलबीच चुनावी  प्रतिस्पर्धा

पाँचथर उद्योग वाणिज्य संघ: अधिकारी र घिमिरेको प्यानलबीच चुनावी  प्रतिस्पर्धा

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १८, २०७८

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चुन्नका लागि आइतबार निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक भएको छ ।

निर्वाचनमा दुई प्यानल बनाएर व्यापारीहरू मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी नेपाली काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारी र नेकपा (एमाले) निकट नवराज घिमिरेको प्यानल चुनावी मैदानमा उत्रिएको हो । अधिकारीलाई काँग्रेस सहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी निकट व्यापारीहरूको साथ छ । एमाले निकट घिमिरेलाई राप्रपा र केही स्वतन्त्र व्यापारीहरूले साथ दिएका छन् ।

अधिकारीको प्यानबाट उपाध्यक्षमा वसन्त रिजाल, सागर ओझा, कुमारी मिश्र र गर्ज नेम्बाङलाई अघि सारिएको छ । महासचिवमा उमानाथ (उमेश) अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगी मैदानमा छन् । घिमिरेको प्यानबाट उपाध्यक्षमा तिलविक्रम नेम्बाङ, चन्द्रप्रकाश काफ्ले, मिलन गिरी (निलम) र सोमकुमार थापा मैदानमा देखिएका छन् । महासचिवमा सूर्यकुमार मगर, सचिवमा सञ्जीव जोशी (सन्तोष) र कोषाध्यक्षमा प्रतिमा पौडेल (राना) मैदानमा उत्रिएका हुन् ।

आइतबार हुने निर्वाचनमा पाँचथरका एक हजार पाँच सय ३० जना व्यापारीले मत हाल्न पाउनेछन् । फिदिम नगरपालिकासहित फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका र फाल्गुन्नन्द गाउँपालिकाको राँके र घुर्बिसे पञ्चमी क्षेत्रका व्यापारीहरूले निर्वाचनमा भाग लिने पाँचथर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीम कार्कीले जानकारी दिए । वाणिज्य संघको यो निर्वाचनलाई स्थानीय तह सहित गठबन्धनको मत सर्वेक्षण रुपमा समेत हेरिएको छ ।