एकीकृत समाजवादी : कपिलवस्तुका ९ पालिका र  ५१ वडामा

एकीकृत समाजवादी : कपिलवस्तुका ९ पालिका र  ५१ वडामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७८

कपिलवस्तु । पार्टी स्थापनाको ८ महिनाको बीचमा  नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले जिल्लाका ९ पालिकामा कमिटी गठन गर्न सफल भएको छ ।

१० पालिका रहेको कपिलवस्तुमा ९ पालिकामा समाजवादी कपिलवस्तुले कमिटी गठन गर्न सफल भएको  एकीकृत समाजवादीले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको यशोधरा गाउँपालिकामा सराखत  अलीको संयोजक र सह(संयोजक योगेश त्रिपाठी रहने गरी कमिटी गठन भए सङ्गै जिल्लामा ९ पालिकामा समाजवादीले पार्टी बिस्तार गर्न सफल भएको  एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष गीता अन्जानले जानकारी दिनुभयो ।

एमालेबाट विद्रोह गरी गएको भदौ महिनामा स्थापना भएको एकीकृत समाजवादी कपिलवस्तुले छोटो समयमा नै सबै पालिका गठन गर्न सफल भएको हो । जिल्लाको महाराजगन्ज नगरपालिकामा मात्र पार्टी गठन नभएको पार्टीका जिल्ला इन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले जानकारी दिनुभयो । अबका केही दिनमै महाराजगन्जमा पनि कमिटी गठन गर्ने योजना रहेको जिल्ला इन्चार्ज खत्रीले जनाउनुभयो ।

तत्कालीन एमाले हुँदा जिल्लाको दक्षिणी क्षेत्र कमजोर रहे पनि एकीकृत समाजवादी दक्षिण भेगमा नागरिकको आकर्षणको केन्द्र बिन्दु बनेको छ । ०७४ सालको स्थानीय चुनावमा १० मध्ये २ पालिका मात्र जितेको एमाले अन्य दलको तुलनामा यहाँ कमजोर हो । यद्यपि राजमार्ग क्षेत्रमा एमाले स्थापित भए पनि यहाँ पार्टी फुटको असर परेको छ । 

जिल्लामा समाजवादी प्रति जनताको आकर्षण बढी रहेको भन्दै वैशाख ३० को स्थानीय चुनावमा राम्रो प्रतिफल निकाल्ने खत्री बताउनुहुन्छ । मधेसी समुदायको बाहुल्यता रहेको जिल्लामा यहीँ समुदायको विश्वास बढेको उहाँको भनाई छ । दिनहुँ जसो मधेसी, मुस्लिम, थारु, महिला र दलित समुदायका नागरिकको आकर्षण एकीकृत समाजवादीको भएको भन्दै समाजवादी राज्य स्थापनाका लागि यसले थप हौसला थपेको उहाँले जनाउनुभयो ।

जिल्लामा आगामी चुनाव एकीकृत समाजवादीले एमालेले भन्दा बढी जनप्रतिनिधि जित्ने भन्दै अबको समृद्धिको नेतृत्व पनि आफ्नो पार्टीले गर्ने उहाँको दावी छ । सकिँदै गरेको कम्युनिस्ट आन्दोलन बचाउन नयाँ पार्टी पुनर्गठन गर्नु परेको भन्दै संविधान बचाउँदै व्यवस्था टिकाउन गठबन्धन गर्नु परेको उहाँले प्रस्ट पार्नुभयो । जिल्लामा ५ दलीय गठबन्धन बीच चुनावी तालमेल हुन सक्ने र यसका लागि छलफल अगाडी बढेको उहाँले बताउनुभयो । 

साथै कपिलवस्तुका ९६ वडा मध्ये ५० बढीमा वडा कमिटी गठन भएको एकीकृत समाजवादीको जिल्ला प्रचार विभागले जनाएको छ ।