सनत रेग्मी : चाट, चन्दा मामा, चिट्टुबाबूदेखि 'साह्रै बदमास' विद्यार्थीसम्म

सनत रेग्मी : चाट, चन्दा मामा, चिट्टुबाबूदेखि 'साह्रै बदमास' विद्यार्थीसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र १९, २०७८

सानो बेलामा सनत रेग्मीलाई पितामहले सानो, राम्रो चिटिक्क परेको हुनाले चिट्टुबाबू भनेर बोलाउनु हुन्थ्यो । तर, नेपालगन्जमा धेरै मधेसी मूलका मानिसहरूको बसोबास हुने अनि उनीहरूले चिट्टुबाबूको अर्थ नबुझेर टिक्कुबाबू भनेर बोलाउँथे । 

उहाँले २०२० सालमा बाल्यकालमा नाटक पनि खेल्नु भएको छ । २०२२ सालमा नगर क्षेत्रमा हुने राम लीलामा रामको भूमिका पनि गर्नु भएको छ । 

एक पटक नारायण स्कुलमा पढ्दा कसैलाई भूषण कवि, कसैलाई विहारी कवि भनेर कविता पाठ गर्न लगाइन्थ्यो । अनि त्यहाँ एउटा अनुहार छोपेर कसैले नचिन्ने गरी केही भूमिका गरिन्थ्यो । उहाँले कुष्ठ रोगीको भूमिका गरेर पुरस्कार समेत पाउनु भएको छ । 

एक पटक भजन गायक अनुप जलौटाका पिताजी गोपालदास जलौटा भजन गाउनका लागि नेपालगन्ज आउनु भएको थियो । कार्यक्रम नारायण हाइस्कुलले गरेको थियो । कार्यक्रमको टिकट समेत सबै बिक्री भइसकेको थियो । उहाँको तबला वादक बिरामी भयो । अब तबला वादक बिरामी भएपछि म गाउन्न भनेर उहाँले गाउन मान्नु भएन । 

नेपालगन्जका वरिष्ठ व्यक्तित्व कृष्ण गोपाल टण्डनले हामी दिन्छौँ भन्नुभयो । तर, उहाँलाई नेपालको पनि एउटा सानो सहरमा त्यस्तो तबला वादक के होला र भनेर मान्नु भएन । तर टण्डनले सुनेर हेर्नुस् चित्त नबुझे नगाउँदा हुन्छ भन्नुभयो । 

काठमाडौँ शितलकाजी पछि नेपालगन्ज सर्नु भएको थियो । उहाँ एकदमै राम्रो तबला वादक । शितलकाजीको तबला सुनेर गोपालदास जलौटा छक्क परे । उनले सबै भजन गाए शितलकाजीको तबलामा । ओहो नेपालगन्जमा नि यति राम्रो तबला वादक भनेर छक्क पर्नु भएको थियो । पछि उहाँले शितलकाजीलाई आफूसँगै लान खोज्नु भएको थियो । तर, काजी जान मान्नु भएन । नारायण हाइस्कुलका माध्यमबाट उहाँ यसको प्रत्यक्षदर्शी तथा अनुभवी समेत हो । 

उहाँको टोलमा वादीहरूको घर थियो । वादीहरूको घरमा नाचगान भइरहने । उहाँ त्यस बेला केटाकेटी, यसो लुकेर हेर्नुहुन्थ्यो । कहिलेकाहीँ बा आमाले थाहा पाएर समातेर लगेर बेस्सरी चुटाइ पनि खानु भएको छ । 

०००

उहाँको पितामह गोरखापत्रको जागिर छोडेर नेपालगन्जको जुद्ध मिलिट्रि हाइस्कुलमा हेड पण्डित बनेर जानु भएको हो । पहिले उहाँ भाषा पाठशालामा पण्डित हुनुहुन्थ्यो । उहाँलाई बडा हाकिमले लिएर नेपालगन्ज जानु भएको हो । पछि २००७ सालको क्रान्तिपछि बडा हाकिमले राखेको मान्छे भनेर उहाँको पितामहको तलब २००७ सालदेखि २०११ सालसम्म रोकिदिए । 

अवस्था यस्तो भयो कि जजमानी गरेर ल्याएको चामलको भात खानुपर्ने, अनि चढाएको कपडा लगाउनुपर्ने स्थिति आयो । सनत रेग्मी भने परिवारको एक्लो नाति अनि त्यस बेलासम्मको एक्लो छोरो पनि । अरु जोरी पारीले राम्रा राम्रा लुगा लगाएर हिँड्दा उहाँको मन भने कस्तो कस्तो हुन्थ्यो । 

पिताजीको जागिर थिएन । पितामहको तलब रोक्का भएका कारण फाँडो तथा पानी रोटी पनि उहाँले खानुपरेको थियो । तलब रोक्का भएको एउटा शिक्षकको परिवारको आर्थिक अवस्था के होला निम्न मध्यम बाहेक उहाँको प्रश्न छ । परिवार ठुलो थियो । अर्थात् एक जना काका, तीन जना फुपू, उहाँ अनि आमा । सात जनाको परिवार पाल्नुपर्ने अनि तलब रोकिएको मास्टरको कस्तो हालत होला अनुमान गर्न सकिन्छ । उहाँको परिवारमा उहाँ भन्दा बाउन्न वर्षअघि उहाँका भाइ जन्मिएको हो । 

बाल्यकाल जत्तिको रमाइलो कुनै काल हुँदैन । उहाँको बाल्यकाल पनि रमाइले रह्यो । खाली अलि राम्रो लाउन पाइएन, खान पाइएन भन्ने थियो । खेलमा भने गुच्चा डण्डी बियो खुबै खेल्नुभयो उहाँले । त्यसमाथि रुखमा चढेर भेट्टाइ खेल्ने लच्छी डाँडी खेल्नुहुन्थ्यो । खोखो, रुमाल लुकाइ जसलाई कोडा बसाऊ भनिन्थ्यो अनि लट्टु नचाइ खेलेर बडा रमाइलोसँग बितेको हो उहाँको बाल्यकाल । 

०००

उहाँको पितामह संस्कृतको साह्रै विद्वान । तलब रोकिए पनि उहाँको ठुलो मान सम्मान थियो नेपालगन्जमा । उहाँका प्रारम्भिक शिक्षा पितामहको काखमा बसेर संस्कृतका लघु कौमुदीबाट भएको हो । धुलौटोमा माटो, खरानी राखेर हातले क, ख लेखेर उहाँले अक्षर चिन्नुभएको हो । अलि ठुलो भएपछि भने पेन्सिल र कापी आयो लेख्नका लागि ।

बीपीले तिमी हिन्दीबाट प्रभावित भएर लेख्ने रहेछौ । यसरी हुन्न । समाजमा भएका घटना र पात्रहरूलाई हेरेर उनीहरूको मनोविज्ञान लेख्ने गर । यसो गर्दा कथा यहीँ आइहाल्छ । यसरी उहाँ प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभयो । उहाँ २०४८ सालमा बाँके जिल्लाको जिल्ला सभापति समेत हुनुभयो । कांग्रेस केन्द्रीय कमिटीको केन्द्रीय प्रचार समिति तथा केन्द्रीय अनुगमन समितिमा बसेर पनि काम गर्नुभयो । 

 

उहाँको पिताजी साधु महात्माको एकदमै सेवा सम्मान गर्ने । नेपालगन्जमा एक जना हडियाबाबा हुनुहुन्थ्यो । हडिया बाबाले राप्ती नदीको किनारमा मेला लगाउनुहुन्थ्यो । मेलामा उहाँलाई पनि लिएर जानुहुन्थ्यो । उहाँलाई भने एउटा कापी र पेन्सिल दिएर तँ लेख्दै गर भनेर उहाँ भने साधुन्तहरुसँग  सत्सङ्गमा जानुहुन्थ्यो । 

मेलामा भजन, कृतन हुन्थ्यो । मान्छेहरू नाचगान गरिरहेका हुन्थे । घण्ट, घडीयाहरू बजिरहेका हुन्थे । वातावरण नै अर्को हुन्थ्यो । 

उहाँको प्रारम्भिक शिक्षा भने नारायण हाइस्कुलमा भयो । उहाँको कपाल काटिएको थिएन । लामो थियो केटीको जस्तो । ब्राह्मण समाजमा व्रतबन्ध नगरी कपाल नकाट्ने चलन थियो । कतिले त केटी नै भन् ठान्थे । सरहरूले बाबा भन्थे । उहाँ चार कक्षा पढ्दा व्रतबन्ध भयो र उहाँको कपाल काटियो । 

बस्नका लागि स्कुलमा डेस्क बेन्च थिएन । घरबाट आफैँले बोरा च्यापेर जानुपर्थ्यो । अनि कालो अँगार दलिएको काठको पाटी, त्यसमा लेख्नका लागि धुलो खरी अनि त्यसमा लेख्नका लागि बाँसको कलम । 

२००९ सालमा भने स्कुलले काठ मगायो । त्यसपछि बोरा युगको अन्त्य भयो । क्रमशः डेस्क बेन्चको प्रचलन आयो । 

उहाँ केटाकेटीमा साह्रै बदमास । कक्षा छोडेर भाग्ने । अनि सरले जा त्यसलाई समाएर लेरा भनेर पठाउनुहुन्थ्यो । उहाँ स्कुलमा कुट्छन् भनेर जान्न भन्नुहुन्थ्यो । अनि समाउन जानेले एउटाले एउटा हात, अर्कोले अर्को हात, अर्कोले खुट्टा गरेर चार जनाले च्याकुलच्याइँ पारेर समाएर ल्याउँथे । यति गर्दा पनि स्कुलको कुटाइ नखाइने भने कहाँ हो र ! 

सानोमा उहाँलाई पितामहले हितोपदेशका कथाहरू, पञ्चायत तन्त्रका कथाहरू, संस्कृत साहित्यका कथाहरू सुनाउनु हुन्थ्यो । उहाँलाई ती कथा पढ्न एकदमै मन लाग्थ्यो । 

उहाँ आठ/ दश पेजका कथाहरू दुई दुई पैसामा किन्नु पनि हुन्थ्यो हिन्दीका । यसले उहाँलाई कथातिर रुचि जगायो । अलि पछि भने कुशवाह कान्तका उपन्यासहरूले उहाँलाई मोहनी लगायो । पिताजीले थाहा पाउँदा खाने कुटाइको पर्बाह नगरी पढ्नुभयो कुशवाहकान्त । 

एक जना मानिस हुनुहुन्थ्यो मुखिया टोलमा । उहाँको बाकसमा टार्जन लगायतका अन्य किताब हुन्थे । चार आना पैसा दिएपछि चार वटा किताब पाइन्थ्यो । त्यसले झन्डै एक साता काम गथ्र्यो । यसमा विशेष गरी टार्जनका १२ भाग, सेस्टेन ब्लेक्सका जादु उपन्यास, दुर्गा प्रसाद खत्रीको किताबहरू । यस्ता किताबहरू उहाँले बाह्र वर्षको उमेर पढी सक्नु भएका थियो । 

०००

उहाँ पढ्ने विद्यालय भनेको सह–शिक्षा होइन । छात्रहरूको मात्र स्कुल हो । छात्राहरुको अलगै शारदा मावि थियो । नेपालगन्जको मंगल स्कुलमा भने सह–शिक्षा थियो । 

सरले अंग्रेजी तथा गणितको पाठ सोध्नुहुन्छ भनेर उहाँ अन्तिम बेन्चमा बस्नुहुन्थ्यो । पछाडि बस्दा भाग्न सजिलो हुन्छ भनेर उहाँको रोजाइमा परेको थियो अन्तिम बेन्च । 

उहाँहरू छ कक्षासम्म हिन्दी नै पढ्नुहुन्थ्यो । नेपालीको पढाइ हुँदैनथ्यो । नेपाली भाषा साहित्यमा । उहाँले २०२३ सालमा एसएलसीमा दिनुभएको हो । उहाँको ब्याचका ४० जना थिए । करिब ३५ जना पास भए । उहाँको पनि सेकेन्ड डिभिजन आयो । अंग्रेजी र गणितमा क्रमशः ३६ र ३७ नम्बर आएको थियो । तर, उहाँले मानविकी पढ्नु भयो । कारण थियो ३६ र ३७ ।

आइए उहाँ नारायण डिग्री कलेजमा भर्ना हुनुभयो । पढाइ राम्रै थियो । आइएको जाँचमा उहाँले कोही किन बरबाद होसको एउटा चरित्र चित्रण गरेर लेख लेख्नुभयो । कुलप्रसाद खनाल सरले यति राम्रो समालोचना गर्न सक्ने को विद्यार्थी आएछ भनेर खोज्नुभयो । अनि उहाँले घरमा आएर बाबु, पढाइ राम्रो गर्दै रहेछौ, पुस्तकालय पनि रहेछ तर जाँचमा पास हुनलाई त एउटा प्रश्न हल गरेर पुग्दैन । पाँच वटाकै हल गर्नुपर्छ । 

उहाँ त्यस बेलासम्म राजनीतिमा लागिसक्नु भएको थियो । त्यसकारण पढाइ भारततिर गर्न थाल्नुभयो । र भारतबाट नै आइए पास गर्नुभयो । त्यसपछि विविध कारणले पढाइ अघि बढेन । 

०००

२०१२ सालमा उहाँको पितामहको रोक्का भएको तलब प्राप्त भएपछि विद्या कुटीर भन्ने पुस्तक पसल राख्नुभयो । पहिले नेपालगन्जबाट किताब ल्याएर शिक्षकहरूले बिक्री गरिन्थ्यो । पछि उहाँहरूले पाठ्यक्रमको किताब बेच्न थाल्नुभयो । उहाँले पसलको जिम्मेवारी सम्हाल्नु भएको थियो । बाँकी समय भने राजनीति अनि समाजसेवा । 

नेपालगन्जको चाट र राबडी विशेष मानिन्छ । अनि त्यस बेला चन्दा मामा भन्ने पुस्तक आउँथ्यो दुई पैसामा । चन्दा मामा र चाटका लागि उहाँ चार पैसा अक्सर निकाल्नुहुन्थ्यो पसलको । 

भूमि सुधारका कृषकमाथि एक पटक गोली चल्यो । गृह सहायक मन्त्री थिए जगतबहादुर सिंह नेपालगन्जकै मानिस । उहाँले उत्तर दिने बेलामा अलि झर्केर उत्तर दिनुभयो । अनि त्यसपछि विद्यार्थीहरूले आन्दोलन गरे । उहाँले त्यो आन्दोलनको नेतृत्व गर्नुभयो । वारेन्ट जारी भयो । पछि कुरा मिल्यो । अनि आन्दोलनबाट प्रभावित भएर कांग्रेसका युवा नेता अरुण कोइराला तथा डा. केशव राज शर्मा । शर्मा त्यस बेला कलकत्तामा मेडिकल पढ्दै हुनुहुन्थ्यो । उहाँहरूकै प्रेरणामा आकर्षित भएर उहाँहरू नेपाली काँग्रेसको राजनीतिमा जोडिन आउनु भयो । 

त्यसपछि विश्‍वेश्‍वर प्रसाद कोइरालाले हरिशंकर मिश्रको बिहेमा बरौनी मा आउँ त्यहीँ कुरा गरौँला भन्ने भयो । त्यति बेला नै उहाँको मातृत्वको चित्कार भन्ने कथा सङ्ग्रह निस्किसकेको थियो । २०२६ सालमा उहाँको चन्द्र ज्योत्‍स्‍ना र कालो बादल भन्ने अर्को सङ्ग्रह निस्किएको थियो कथाको । 

ती किताबहरू उहाँले बीपीको हातमा दिनुभयो । बीपीले तिमी हिन्दीबाट प्रभावित भएर लेख्ने रहेछौ । यसरी हुन्न । समाजमा भएका घटना र पात्रहरूलाई हेरेर उनीहरूको मनोविज्ञान लेख्ने गर । यसो गर्दा कथा यहीँ आइहाल्छ । यसरी उहाँ प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभयो । उहाँ २०४८ सालमा बाँके जिल्लाको जिल्ला सभापति समेत हुनुभयो । कांग्रेस केन्द्रीय कमिटीको केन्द्रीय प्रचार समिति तथा केन्द्रीय अनुगमन समितिमा बसेर पनि काम गर्नुभयो । 

०००

साहित्यमा उहाँको सानै देखिको रुचि थियो । छोराले धेरै बदमासी गर्‍यो भनेर उहाँलाई पिताजीले वैद्यनाथ धाम आश्रममा भर्ना गरिदिनुभयो । त्यहाँ एक जना नित्यानन्दजी साहित्यका बारेमा लेख्नुहुन्थ्यो । उहाँसँग साहित्यको नियमित छलफल हुन्थ्यो । अनि उहाँले केही बाल साहित्य रचना गर्नुभयो । यो तिम्रो नामबाट छापिँदैन मेरो नामबाट छापिदिन्छु भनेर उहाँले छपाइ दिनु भयो । 

त्यस बेला आश्रमको पचास वर्षको उपलक्ष्यमा आश्रमको मुख पत्रमा उहाँको नामको रचना छापियो । त्यो नै उहाँको पहिलो प्रकाशित रचना हो । त्यस बेला विहारका मुख्यमन्त्री विनोदनन्दन झा पनि आउनु भएको थियो । कार्यक्रममा उहाँले संस्कृतमा भाषण गरेर पुरस्कार पनि पाउनु भएको थियो । 

यो देखेर उहाँको पिताजीले उहाँसँग संस्कृतमा कुरा गर्न थाल्नुभयो । उहाँलाई आए पो । अघि त रटेको मात्रै । यस्तो ठग काम गर्छन् भनेर उहाँले त्यहाँबाट झिकेर नारायण स्कुलमा लगेर राखिदिनु भएको हो । 

दश कक्षा पढ्दै गर्दा उहाँले एउटा कथा लेख्नुभयो । कुर्कुरे बैँसको समय चलिरहेको थियो । एउटा केटी मन परेको थियो । त्यसैलाई सम्बोधन गरेर एउटा कथाको मृत्यु शीर्षकमा एउटा कथा लेख्नुभयो । सँगसँगै पाँच/छ वटा लेख्नुभयो । नयाँ लेखकलाई हुटहुटी पनि हुने । 

२०२२ सालमा भीमनिधी तिवारी नेपालगन्ज आउनु भएको थियो । त्यस बेलासम्म उहाँ हिन्दीमा लेख्नुहुन्थ्यो । नेपाली भएर पनि हिन्दीमा लेख्ने हो त भनेर उहाँले सम्झाउनु भयो । भारतमा बसेर पढेको हुनाले नेपाली त्यति नआउने । अनि तिवारीले नै उहाँको रचनामा कहाँ कहाँ सच्याउनु पर्छ भनेर रातो मसीले चिन्ह लगाएर ठिक बनाइदिनु भयो । त्यहीँको पञ्चामृत भन्ने स्थानीय पत्रिकामा छपाइ दिनुभयो । त्यसले नेपालगन्ज वृत्तमा उहाँलाई चिनायो । स्थानीय निस्कने पत्रिकामा रचना माग्न थाले । त्यसरी लेख्ने क्रम निरन्तर रह्यो । 

हालसम्म उहाँको नौ वटा कथा सङ्ग्रह,, अन्तरवार्ता सङ्ग्रह सनत रेग्मी सृजन संवाद, प्रकाशित भएको छ भने जङ्गबहादुरको पालादेखि २०३० सालसम्मको नेपालका बारेमा  ‘नेपाल इतिवृत्त’ भन्ने पुस्तक पनि आउँदै छ । 

मैनाली कथा पुरस्कार, दीप–गोविन्द साहित्य पुरस्कार, खिल कुमारी–गणेश पुरस्कार, सुरभि पुरस्कार, लघुकथा पुरस्कार, पूर्णिमा साहित्य रत्न, प्रतिभा पुरस्कार दुई पटक लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मान रहेका छन् ।  

भेरी साहित्य परिषद्को सदस्य, मध्यपश्चिम साहित्य परिषद् जसले ध्रुवचन्द्र गौतमलाई आख्यान परुष भनेर उपाधि दिएको हो । प्रज्ञा प्रतिष्‍ठानसँग मिलेर उपन्यासका दुई वटा कार्यक्रम वृहत् उपन्यास गोष्ठी पनि गर्नुभयो । उहाँले २०४० सालमा वृहत् राष्ट्रिय साहित्य सम्मेलन गर्नुभयो । नेपाल रेडक्रसको केन्द्रीय उपाध्यक्ष हुनु भयाे ।