पाँचथर उद्योग बाणिज्य संघ : निर्वाचनमा गठबन्धनको अभ्यास

पाँचथर उद्योग बाणिज्य संघ : निर्वाचनमा गठबन्धनको अभ्यास

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २०, २०७८

पाँचथर  ।  पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनमा चार दल निकट व्यवसायीहरूले गठबन्धनको अभ्यास गरेका छन् । 

आज हुने मतदानमा सरकारमा आबद्ध दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट व्यवसायीबीच चुनाबी गठबन्धन भएको हो । चार दलीय गठबन्धनको तर्फबाट काँग्रेस निकट व्यवसायी नरेन्द्रप्रसाद अधिकारी अध्यक्षको उम्मेदवार बनेका हुन् ।

गठबन्धनको उम्मेद धार अधिकारी बिरुद्ध एमाले निकट नवराज घिमिरेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । घिमिरेको टिममा राप्रपा सहितको गठबन्धन छ । चार दलीय गठबन्धनका व्यवसायी र एमाले निकट व्यवसायीले दुई पालन बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा भएको वाणिज्य संघको यो निर्वाचनलाई दलहरूले मत सर्वेक्षणको रुपमा समेत लिएका छन् ।

‘यो गठबन्धन वाणिज्य संघको चुनाएका लागि मात्र नभएर स्थानीय तहको निर्वाचनको अभ्यास पनि हो,’ काँग्रेसका एक नेताले भने ‘यो अभ्यासले स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने कुराको संकेत गर्छ ।’ आज हुने निर्वाचनमा एक हजार पाँच सय ३० जना व्यवसायीले मतदान गर्ने सङ्घका कार्यकारी अधिकृत भीम कार्कीले जानकारी दिए ।