पाकिस्तानमा संसद्  विघटन:  राजनीतिक संकट र अस्थिरता रोक्न असफल प्रधानमन्त्री इमरान !

पाकिस्तानमा संसद्  विघटन:  राजनीतिक संकट र अस्थिरता रोक्न असफल प्रधानमन्त्री इमरान !

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २१, २०७८


क्रिकेटबाट सन्न्यास लिँदै राजनीतिमा छिरेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान राजनीतिक अस्थिरताको शृङ्खला तोड्न असफल भएका छन् । बेलायती उपनिवेशबाट मुक्त भएपछि हालसम्म पाकिस्तानका कुनै पनि जननिर्वाचित प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् ।

इमरान खानले त्यसलाई तोड्ने र पूरा ५ वर्ष प्रधानमन्त्री बन्ने धेरैको अनुमान रहेको थियो । तर त्यसो हुन सकेन र विपक्षीको घेराबन्दीबीच आइतबार संसद विघटनको सिफारिस गरे । उनको सिफारिसलाई राष्ट्रपति आरिफ अल्भीले स्वीकार गरेसँगै पाकिस्तान संसदले ५ वर्ष पूरा गर्न नपाउँदै फेरि निर्वाचनतिर मोडिएको छ ।

त्यसअघि खानका विरुद्ध विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव उपसभामुखले असंवैधानिक भन्दै खारेज गरिदिएका थिए । पाकिस्तानमा सभामुख विरुद्ध समेत महाअभियोग ल्याएपछि उपसभामुखले संसद चलाएका थिए । पछिल्ला केही दिनदेखि इमरान खानले केही गम्भीर चुनौतीको सामना गरिरहेका थिए । 

पाकिस्तानको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानका राष्ट्रपति डा.आरिफ अल्भीले प्रधानमन्त्री इमरान खानको नेशनल एसेम्बली भंग गर्ने सल्लाहलाई स्वीकृति दिनुभएको छ । पाकिस्तानको संविधानको धारा ४८ (१) र ५८ (१) अनुसार सो स्वीकृति दिनु भएको हो ।’

आइतबार नै संसदमा विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको थियो । तर पाकिस्तानका उपसभामुख कासिम सुरीले इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि भोटिङ अस्वीकार गर्दै प्रस्ताव नै असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए । 

पाकिस्तानी संसदको ३४२ सिटमा इमरान खानका १५५ सांसद रहेका छन् । पद जोगाउन आवश्यक सांसद संख्या उनीसँग नरहेको बताइन्छ । उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेको विषयको भने उनले खुलेर प्रशंसा गरेका छन् । 

इमरान खान पाकिस्तानी सेनाको सहयोगमा सत्तामा आएको आरोप पनि लाग्ने गरेको छ । तर अब पाकिस्तानमा यस्तो धारणा निकै कमजोर छ । इमरानका विरोधीले उनीमाथि चौतर्फी हमला गरिरहेका छन् । उनका केही सहयोगी पार्टी पनि साथ छाडेर विपक्षीसँग गइसकेका छन् । त्यसैले पाकिस्तानमा सत्ता परिवर्तनको खेल विदेशीको इशारामा भइरहेको उनी बताउँछन् ।

इस्लामावादको एक इलाकामा ३२ वर्षीय मुजाहिद अलि नाई कपाल काट्ने पसल चलाउँछन् । हरेक दिनजस्तै उनी आफ्नो पारम्परिक ड्रेस लगाएर तयार छन् । उनी इमरान खानलाई प्रधानमन्त्रीबाट हटाए पनि आफूलाई दुःख नलाग्ने बताउँछन् ।

क्रिकेटरबाट नेता भनेका इमरान खान २०१८ को निर्वाचनमा जित हासिल गरेर प्रधानमन्त्री बनेका थिए । मुजाहिदले पनि उनलाई भोट दिएका थिए । उनलाई पाकिस्तानको राजनीतिमा नयाँ परिवर्तन आउने उनको विश्वास थियो ।

पाकिस्तानमा दुई प्रतिद्वन्द्वी परिवारको सत्तामा लामो समयदेखि रहेको थियो । देशस त्यसबाट बाहिर निस्किने उनको विश्वास थियो । तर अब उनी इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीलाई महंगीको जिम्मेवार ठान्छन् । उनी भन्छन्, ‘एक दिन काम गरेर ५ सय रुपैयाँ कमाइन्छ । अर्कोतर्फ एक किलो बटर किन्न पनि ५ सय रुपैयाँ नै लाग्छ । पहिले यसको मूल्य १८० थियो ।’ 

‘इमरानको साथ उभिनुपर्छ’ 

इमरान खान सत्ताबाट हटेर विपक्षीको योजनाअनुसार सरकार परिवर्तन हुँदा शहबाज शरीफ नयाँ प्रधानमन्त्री बन्ने थिए । उनी तीन पटक प्रधानमन्त्री बनेर भ्रष्टाचारको आरोप लागेका नवाज शरिफका भाइ हुन् । शहबाजलाई पनि नवाजकै राजनीतिबाट प्रेरित नेताका रुपमा लिइन्छ ।

मुजाहिद भन्छन्, ‘उनीहरु (नवाज, शहबाज) भलै भ्रष्ट हुनसक्छन् । तर उनीहरु गरिबलाई सहयोग गर्छन् ।’ कपाल काट्ने पखाईमा रहेका २७ वर्षीय अलि मलिक जुनियर एकाउन्टेन्ट हुन् । उनले पनि २०१८ मा इमरान खानलाई भोट हालेका थिए । उनी अहिले पनि इमरान खानलाई समर्थन गर्छन् । आर्थिक अवस्थाबारे मलिक भन्छन्, ‘हामीले कठिन अवस्थासँग जुझ्नु परेको छ । इमरान खानले एउटा नीति अपनाएका छन्, हामी उनको साथमा उभिनुपर्छ ।’ 

इमरान खान भ्रष्टाचारविरुद्ध डटेर लागेका छन् । उनले विपक्षी दललाई उनीविरुद्ध मतदानका लागि पैसा दिएको आरोप समेत लगाएका छन् । विपक्षीले भने यो आरोपको खण्डन गरेका छन् । उनको निर्वाचन क्षेत्रका जनता बढ्दो महँगीबाट चिन्तित छन् । पाकिस्तानमा मात्रै नभएर अन्य देशमा पनि महंगी बढेको छ । तर पाकिस्तानमा तीव्र रुपमा महंगी बढेकै छ । यस्तै अवस्था र जनतामा रहेको निराशा र विभाजनलाई विपक्षीले मौकाका रुपमा लिएका छन् । त्यसैले इमरानलाई हटाउनु खोज्नुका पछि राजनीतिक कारण मुख्य हो । 

इमरानको आरोप 

इमरान खान पाकिस्तानी सेनाको सहयोगमा सत्तामा आएको आरोप पनि लाग्ने गरेको छ । तर अब पाकिस्तानमा यस्तो धारणा निकै कमजोर छ । इमरानका विरोधीले उनीमाथि चौतर्फी हमला गरिरहेका छन् । उनका केही सहयोगी पार्टी पनि साथ छाडेर विपक्षीसँग गइसकेका छन् । त्यसैले पाकिस्तानमा सत्ता परिवर्तनको खेल विदेशीको इशारामा भइरहेको उनी बताउँछन् । उनी आफ्ना नीतिले अमेरिका रुष्ट रहेको बताउँछन् । इमरान आफ्नो विदेश नीति, जस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट, रुसको भ्रमण, अमेरिकाको आलोचनाजस्ता कुराले आफूलाई सत्ताबाट हटाउन खोजेको बताउछन् । पछिल्लो समयमा पाकिस्तानमा बढ्दो राजनीतिक संकटबीच प्रधानमन्त्रीले संसद नै विघटन गरेपछि त्यहाँ नयाँ राजनीतिक संकट र अस्थिरताको खतरा पनि बढेको छ ।