‘हरेक संचार संस्था र पत्रकारहरुलाई आचार संहिताको पालना गर्न आग्रह गर्दछु’

‘हरेक संचार संस्था र पत्रकारहरुलाई आचार संहिताको पालना गर्न आग्रह गर्दछु’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७८

दाङ ।  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आसन्न स्थानीय निर्वाचनबाट सही जनमत प्रकट हुने वातावरण सृजना गर्न पत्रकारिता क्षेत्रले अहम भूमिका खेल्नुपर्ने बताउनु भएको छ । निर्वाचनको समयमा सन्तुलित सामग्री सम्प्रेषण गरेर पत्रकारिताको विश्वसनीयता अभिबृद्धि गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नु भयो ।

नेपाल पत्रकार महासंघको दाङ शाखाको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष पोख्रेलले निर्वाचनको समयलाई पत्रकारिता क्षेत्रको विश्वसनीयता अभिबृद्धि गर्ने जिम्मेवारी पनि पत्रकारहरूकै रहको बताउँदै पत्रकार आचारसंहिताको पालनामा बिशेष ध्यान दिन आग्रह गर्नु भयाे । ‘हरेक संचार संस्था र पत्रकारहरुलाई आचार संहिताको पालना गर्न र समाजप्रति उत्तरदायी बन्न आग्रह गर्दछु’ पोखरेलले भन्नुभयो ।

निर्वाचनमा अत्यधिक मतदाताको सहभागिता सुनिश्चित गर्न तथा प्रभाव र दवाव विना सही जनमत अभिव्यक्त हुने वातावरण निर्माण गर्न पत्रकारिताले भूमिका खेल्नसक्ने उहाँको जिकिर थियो । ‘बैधानिक रुपमा जनभावना बुझ्ने प्रक्रियालाई निर्भयता पूर्वक सम्पन्न गर्न हामिले पनि योगदान दिनुपर्छ’ उनले, ‘म सबै साथीहरुलाई यो दायित्व निर्वाह गर्नका लागि आग्रह गर्दछु ।’