श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट: २४ घण्टामै अर्थमन्त्री र अन्य २६ मन्त्रीद्वारा राजीनामा !

श्रीलंकामा आर्थिकसँगै राजनीतिक  संकट: २४ घण्टामै अर्थमन्त्री र अन्य २६ मन्त्रीद्वारा राजीनामा !

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २३, २०७८

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षे ४० जना सांसदले समर्थन फिर्ता लिएपछि संकटमा परेका हुन् । 
गोटाबायको श्रीलंका पोडुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनका ४० सांसदले अब आफूहरुले स्वतन्त्र रुपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा संकट भोगिरहेको श्रीलंकामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेका बेला साना दलहरुले समेत उनको साथ छाडेका हुन् । 

श्रीलंकामा २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएलगत्तै सांसदले पनि राजापाक्षेको साथ छाडेका हुन् । एक दिन अघिमात्रै श्रीलंकाका राष्ट्रपति राजापाक्षेले जारी संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै दललाई आग्रह गरेका थिए । तर उनको यस्तो आग्रह आएको भोलिपल्टै सांसदहरुले उनको साथ छाडेका छन् । सांसदहरूको निर्णयले राजापक्षको सरकारलाई कस्तो असर पर्छ भन्ने स्पष्ट भइसकेको छैन । उनको साथ छाडेका सांसदहरुले विपक्षी दललाई सहयोग पनि गरेका छैनन् । 

२६ मन्त्री र ४० सांसदले छाडेपनि राजापाक्षे र उनका दाजु प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । सरकारमा सामेल हुन राजापाक्षेले गरेको आग्रह अस्वीकार गर्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा मागेका छन् ।

श्रीलंका यतिबेला सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ । लोडसेडिङ, खाद्यान्न, औषधि तथा इन्धनको अभावका कारण श्रीलंकाली नागरिकहरु रुष्ट छन् । जनताको आक्रोश बढेका बेला विपक्षीलाई सरकारमा ल्याउन चाहेर पनि सहभागी हुन समस्या हुन्छ ।

सरकारले विपक्षीलाई सरकारमा बोलाइरहँदा विपक्षी भने राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् । प्रमुख विपक्षी दल सामागी जन बालावेगायाका नेता सजिथ प्रेमादासाले भने, ‘जनताले राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने चाहेका छन् ।’

मंगलबार नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिने घोषणा गरेका छन् । उनी राष्ट्रपति राजापाक्षेको निकट मानिन्छन् । उनले आफ्नो सांसद पद पनि यो अवस्थालाई व्यवस्थापन गर्न सक्ने व्यक्ति भएमा उनलाई दिन तयार रहेको बताए । 

‘योभन्दा कति खराब अवस्था हुन सक्छ ? पेट्रोल छैन, डिजेल छैन, कागत नभएर बच्चाहरूले परीक्षा दिन पाएका छैनन् ।’ यसरी जनताको जनजीवन नै असहज हुनेगरी अवस्था आएपछि प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन रोक्न शुक्रबारदेखि आइतबारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए ।

श्रीलंकामा लगातार सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनमा हजारौं प्रदर्शनकारीले सहभागिता जनाइरहेका छन् । मानिसहरू आफ्नो दैनिक दालचामल र आधारभूत आवश्यकताका वस्तुहरू पनि किन्न नसक्ने अवस्थामा छन् । उनीहरु काममा र बालबालिका विद्यालय जान समेत बस चढ्न नसक्ने अवस्था आएपछि त्यहाँ जनतामा आक्रोश चुलिएको छ । 

एक प्रदर्शनकारीले भने, ‘योभन्दा कति खराब अवस्था हुन सक्छ ? पेट्रोल छैन, डिजेल छैन, कागत नभएर बच्चाहरूले परीक्षा दिन पाएका छैनन् ।’ यसरी जनताको जनजीवन नै असहज हुनेगरी अवस्था आएपछि प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन रोक्न शुक्रबारदेखि आइतबारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए । सन् २०१९ को निर्वाचनमा लोकप्रिय बहुमत प्राप्त गरी विजयी भएका राजापक्षको लोकप्रियता ह्वात्तै घटेको छ । 

विदेशी मुद्राको सञ्चिती नहुँदा श्रीलंकाले इन्धन र अन्य वस्तुको आयात गरेर पैसा तिर्न सकेको छैन । ‘इन्धन र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव छ । औषधि नभएरै अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन्’, राजापक्षलाई गरेको समर्थन फिर्ता लिएको श्रीलंका फ्रिडम पार्टीका नेता तथा पूर्वराष्ट्रपति मैत्रीपाला  सिरीसेनाले संसदमा भने, ‘यो अवस्थामा हाम्रो दल जनताको पक्षमा छ ।’

सन् २०१९ को निर्वाचनमा राजापाक्षेले स्थिरता र शासन गर्न सबल नेतृत्व दिने बाचा गरेका थिए । तर त्यसको उल्टो अहिले श्रीलंका ऐतिहासिक संकटमा फँसेपछि त्यसले जनस्तरमा आक्रोश निम्त्याएको छ । जसबाट त्यहाँको राजनीतिक व्यवस्थाको जरो हल्लिन थालेको छ । श्रीलंकामा आम जनताले राजनीतिक दलहरुविरुद्ध नै संघर्ष थालेपछि नयाँ परिस्थिति निर्माण भएको हो ।