इंग्लिस प्रिमियर लिग : उपाधि होडमा २ क्लब, कसले मार्ला बाजी ?

इंग्लिस प्रिमियर लिग : उपाधि होडमा २ क्लब, कसले मार्ला बाजी ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २३, २०७८

प्रिमियर लिग उपाधिका लागि २ इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलबीच चलिरहेको प्रतिस्पर्धा उत्कर्षमा छ ।प्रिमियर लिगमा ३० राउण्डको खेलको समाप्तपमा सिटी ७३ अंकसहित पहिलो स्थानमा छ भने मात्र १ कम अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । उपाधिको दौडमा अन्य कुनै क्लब यी २ टोलीको आसपाससम्म देखापरेका छैनन् र त्यसको कुनै सम्भावना पनि छैन । सन् २०१७/०१८ को सिजनपछि प्रिमियर लिगमा कसैको वर्चस्व छ त केवल यी २ टोलीको छ ।

व्यस्त तालिकाका बीच यी २ टोली आगामी आइतबार प्रिमियर लिगको खेलमा आपसमा भिड्दै छन् । लिग उपाधिसम्म पुग्न अझ लामै यात्रा पार गर्नुपर्ने भए पनि उपाधि जित्नका लागि सो खेल निर्णायक साबित हुन सक्ने कुरामा भने दुवै टोलीका प्रशिक्षकलाई कुनै द्वविधा छैन ।

१० अप्रिलमा लिभरपुलले सिटीको होम ग्राउण्ड इत्तेहाद स्टेडियममा गएर खेल्दै छ । घरेलु मैदानमा खेल्दा केही फाइदा पुग्न सक्ने भए पनि लिभरपुल जस्तो प्रतिद्वन्द्वीका अगाडि त्यस्ता तर्कहरूले कुनै अर्थ नराख्ने सिटीका कोच पेप ग्वार्डिओलाको स्पष्ट धारणा छ ।

ग्वार्डिओलाको टोली आइतबार जसरी पनि लिभरपुलविरुद्ध जित्ने, नसके कम्तीमा पनि उसलाई बराबरीमा रोक्न बलियो रणनीति बनाएर मैदान प्रवेश गर्नेछ । लिभरपुलविरुद्धको खेल जितिहाले पनि बाँकी सातैवटा खेल जित्न सके मात्र प्रिमियर लिगको उपाधि सिटीको हुन सक्छ भनेर ग्वार्डिओलाले बारम्बार आफ्ना खेलाडीलाई भनेका छन् ।

यता, लिभरपुलको लक्ष्य त्यो खेलमा जसरी पनि ३ अंक हात पार्नु रहेको प्रशिक्षक क्लोपले स्पष्ट पारेका छन् ।प्रिमियर लिग जित्ने हो भने सिटीलाई हराउनुको विकल्प नरहेको क्लोपले आफ्ना खेलाडीलाई बताएका छन् । यी २ टोलीबीचको सिजनको पहिलो खेल २-२ गोलको बराबरीमा समाप्त भएको थियो ।

यस खेलअघि दुवै टोलीले मंगलबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत आआफ्नो खेल खेल्दै छन् । पहिलो लेगको खेलमा लिभरपुलले बेनफिका भ्रमण गर्नेछ भने सिटीले एट्लेटिकोको सामना गर्नेछ । दोस्रो लेगका खेलहरू १४ अप्रिलमा हुनेछन् ।

त्यसको २ दिनपछि १६ अप्रिलमा लण्डनको वेम्बले स्टेडियममा यी २ टोली फेरि एक पटक आमनेसामने हुनेछन्- एफए कपको सेमिफाइनल खेल्नका लागि ।

छोटो समयमा लगातार रूपमा महत्त्वपूर्ण खेलहरू खेल्नुपर्ने हुनाले यी दुवै टिमलाई खेलाडी संयोजन गर्ने कुरामा समस्या पर्न सक्छ । तर, प्रिमियर लिगको सो खेलमा दुवै टोलीले आफ्ना उत्कृष्ट खेलाडीहरू नै मैदानमा उतार्ने विश्लेषण गरिएको छ ।

दुवै टोलीले यो सिजन प्रिमियर लिगमा र अन्य प्रतियोगिताहरूमा समेत गरेको प्रदर्शनलाई हेर्ने हो भने आइतबारको खेलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न गाह्रो हुन्छ । दुवै टोली अहिले उत्कृष्ट लयमा छन् ।

प्रिमियर लिगको शीर्ष गोलकर्तामा लिभरपुलका मोहमद सलाह २० गोलसहित अग्रस्थानमा, १४ गोलसहित डिएगो जोटा दोस्रो स्थानमा र १२ गोलसहित साडियो माने तेस्रो स्थानमा छन् । त्यस्तै, जारी सिजनमा धेरै असिस्ट प्रदान गर्ने खेलाडीको शीर्ष ३ स्थानमा पनि लिभरपुलकै खेलाडीको वर्चस्व छ ।

जारी सिजन प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने क्लब पनि लिभरपुल नै हो । उसले ३० खेलमा ७७ गोल गरिसकेको छ भने सिटी ७० गोल गर्न सफल भएको छ ।गोल अन्तरमा पनि सिटीभन्दा लिभरपुल केही अगाडि छ ।त्यसैले लिभरपुलले सिटीलाई कडा चुनौती दिने अनुमान गर्न गाह्रो छैन ।

यता, साविक विजेता म्यानचेस्टर सिटी पछिल्लो ५ वर्षमा चौथो पटक प्रिमियर लिगको उपाधि आफ्नो नाम गराउने धुनमा छ र त्यसका लागि पेप ग्वार्डिओलाको टोली पूर्ण रूपमा सक्षम पनि छ । अवुधाबीको शाही परिवारको लगानी रहेको क्लबमा पैसाको कुनै दुःख नभएका कारण क्लबले एकसेएक खेलाडी भित्र्याएर जम्मा पारेर राखेको छ । यो प्रिमियर लिगमा मात्र सिटीका १६ जना फरकफरक खेलाडीले गोल गरिसकेका छन् ।

सिटीविरुद्ध लिभरपुलका मोहमद सलाह, साडियो माने, गोलकिपर एलिसन बेकर अनि डिफेन्डर भर्जिल भान डाइकको खेल महत्त्वपूर्ण हुन सक्नेछ । त्यस्तै, सिटीको ड्रेसिङ रुम केभिन डिर्बुएना, रहिम स्टर्लिंङ, रियाद महरेज, फिल फोडेन, बर्नार्डो सिल्भा, ग्राबियल जिसस, इके गुन्डोगान, ज्याक ग्रिलिस, इडेरसन आदि थुप्रै स्टार खेलाडीहरूले भरिएको छ, जसले कुनै पनि बेला गोल गरेर खेलको नतिजा नै बदल्न सक्ने क्षमता राख्छन् ।

सिटी र लिभरपुलबीचको लिग उपाधिका लागि निर्णायक बन्न सक्ने यो खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ । प्रिमियर लिगको यस सिजनको सबैभन्दा महत्त्वपूर्ण खेलमा सबैको नजर रहनेछ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार