बारमा घिमिरेको अग्रता कायमै

बारमा घिमिरेको अग्रता कायमै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७८

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मत गणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन् ।

नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मत गणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मत गणना सम्पन्न भएको हो ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत प्राप्त गर्नुभएको छ ।

मंगलबार बिहानदेखि मत गणना सुरु भएको थियो भने बेलुका स्थगित गरेर आज ९ बजेदेखि पुनः मत गणना प्रारम्भ गरिएको हो । बारको यही १९ चैतमा काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा ५ हजार ७०० र उपत्यकाबाहिर ३ हजार ५०० मतदाता रहेका थिए । ७ हजार ४२९ मत मात्र खसेको थियो ।