घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र २३, २०७८

ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका- ३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशाेदा खोलामा वीभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । 

शव फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने अडान लिएका छन् । हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ । 

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयबासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नुपर्ने माग गरेका छन्  ।

कोसी जनता माध्यमिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रदर्शन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई  बेलका नगरपालिका– ३ स्थित जीतबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जीतबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

बेलका नगरपालिका– ६ किरात चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । 

घटनास्थल विद्यालयदेखि करिब ७०० मिटर र घरबाट करिब २ किलोमिटर पर रहेको स्थानीयबासीले बताए । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएकाे छ ।

मृतक किशाेरीको टाउकोमा गहिराे चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधबार शोकसभा आयोजना गरेको छ ।