साहित्यिक अवलोकन भ्रमण बन्दीपुरको: महिमा र मोहनीमा मन्त्रमुग्ध स्रष्टाहरू

साहित्यिक अवलोकन भ्रमण बन्दीपुरको:  महिमा र  मोहनीमा मन्त्रमुग्ध स्रष्टाहरू

डा. सदानन्द कडेल  |  साहित्य  |  चैत्र २५, २०७८

सानै छँदा 'घर त बन्दीपुर सुन्तला टिपेर खाउँला भन्ने सुर' बोलको गीत सुनेको थिएँ । सुन्तला भनेपछि हुरुक्कै हुने मान्छे मलाई 'सुन्तला टिपेर खान मिल्ने त्यो ठाउँ कत्ति रमाइलो होला ?' भन्ने खुल्दुली हुनु स्वभाविक थियो । 

'एकदिन त्यहाँ घुम्न जानुपर्छ' भन्ने चाहनाको बीजारोपण गरेको थिएँ आफ्नो दिलमा । तथापि दशकौं बितिसक्दा पनि त्यो बिउलाई यथार्थताको बारीमा उमार्न नसकेकोमा हीनता बोधले तड्पिएको थिएँ म ।  

गोरखाको आँप पिपलमा झन्डै एक बर्ष यूएमएनमा  काम गर्दा काठमाडौँबाट डुम्रे हुँदै तुरतुरेको बाटो पटकपटक यात्रा गरेको थिएँ । त्यतिबेला पनि प्राथमिकताको सूचीमा बन्दीपुर भ्रमणलाई राख्न सफल नभएकोमा म आफै देखि बेखुस थिएँ नै  ।  

बन्दीपुर जाने साइत कहिले जुर्ला भनेर जोखना हेरिरहेको बेलामा  नेपाल  स्रष्टा समाज  (नेस्रस) को फेसबुक म्यासेन्जरमा  मेरा आँखा परे । जसमा लेखिएको थियो, 'साहित्यिक अवलोकन भ्रमण, २०७८ चैत्र १८ र १९ गते '  अनि गन्तब्य स्थान थियो बन्दीपुर ।  

आहा, क्या मज्जाको अवसर ! एक पन्थ दुई काज भने जस्तो । एकातिर नपुगेको ठाउँ बन्दीपुर पुग्ने धोको मेटिने, अर्कोतिर नचिनेका साहित्यकारहरूसँग चिनापर्ची गर्ने मौका मिल्ने ।    

धादिङको गल्छीमा सामाजिक–सांस्कृतिक कार्यसँग आंशिक रूपमा समय तालिका जुध्न गएपनि गल्छीबाट बस चढ्ने र भोलिपल्ट त्यहीँ झर्ने गरी सहभागीको रूपमा आफ्नो नाम लेखाए मैले पनि ।  

भृकुटी मण्डपबाट प्रस्थान गरेको गाडी त्रिपुरेश्वर पुगेको खबर पाएपछि म घरबाट निस्किएँ । ढुंगे अड्डामा एकछिन मात्र के पर्खिएको थिएँ, व्यानर सहितको रातो बस देखा परिहाल्यो । अग्घोरै रमाइलो लाग्यो ।  उभिएर हात हल्लाए । ढोकामा उभिनु भएका प्रकाश घायललाई जानकारी दिएर म अघि लागें ।  

बिहान धुनि बेँसीको सिक्रे खोलामा ब्रेकफास्ट खाने योजना थियो । त्यहीं भेट्ने भनेर अघिअघि हुइँकिएँ म ।   

गाडी चलाउँदा गीत तथा समाचार सुन्न मज्जा लाग्छ मलाई । एक्लै हुँदा त झन् त्यसको आवश्यकता बढी हुने नै भयो । त्यसैले एमएमको कान निमोठे । एउटा गीत बज्यो, ' माया भेटियो बन्दी पुरैमा, पिरिम  बसि गो कुरै कुरै मा'।  

कस्तो संयोग ! पुरानो गीत सुनेर बन्दीपुर जाने रहर पाल्ने मान्छे प्रेमराजा महत र शान्तिश्री परियारको सुमधुर स्वरमा सार्वजनिक भएको नयाँ गीत सुन्दै बन्दीपुर जान पाउँदा मख्खै परें म ।  

एकातिर कानमा संगीतको झंकार थियो भने अर्कोतिर मनमा तर्कना आउन थाल्यो । नयाँ साहित्यिक व्यक्तित्वहरूसँग मित्रता गाँस्ने कुराको कल्पना गर्दागर्दै पिपला मोडमात्र हैन सुरुंग मार्ग निर्माण भइरहेको ठाउँ पनि कटिसकेको पत्तै भएन ।  

सिक्रे खोलामा गाडी रोकेर पर्खिरहे स्रष्टाहरू बोकेको ब्यानर सहितको रातो बस कतिबेला आउला भनेर । कुर्दाकुर्दै आधा दर्जन जति अवलोकन भ्रमणका ब्यानर टाँगिएका गाडीहरू आए तर आफुले खोजेको बस आउँदै आएन । भ्रमण संयोजक सुमन थापा ‘संगम’लाई फोन गरें । उहाँले 'केही ढिला भयो, हामी आउँदैछौँ' भन्नु भयो ।  

कुर्ने काम निकै गाह्रो रहेछ भन्ने लाग्यो मलाई । तीन दशक अघि स्नातकोत्तर तहमा अध्ययनरत रहेको बेला रेडियो नेपालमा बजेको आफैले लेखेको एउटा गीति कथाको स्मरण भयो । त्यसमा नीर शाहको शब्द र नारायणगोपालको स्वर रहेको एउटा गीत समाविष्ट थियो, 'पर्खी बसें आउला भनी, मेरो उठ्ने पालो ।'  

सानै देखि मलाई रेडियोमा गीति कथा सुन्न असाध्यै मन पर्थ्यो । त्यसैले छद्म नाममा लेखेको थिएँ त्यो गीति कथा । मेरो मिल्ने साथी ज्ञान शाहीले पनि सुनेछन् । 'मनको मझेरीमा त्रिशूलीको छाल उर्लिन थालेपछि' जस्ता शब्दहरूले गर्दा उनले त्यो गीति कथा मेरै हो भन्ने लख काटेछन् । कीर्तिपुरमा उनले मलाई केरकार पारेको त्यो क्षणको सम्झना गर्दा अहिले पनि मिठो अनुभूति हुन्छ ।  

सिक्रे खोलाका रेष्टुरेण्टहरू खचाखच भएकाले अन्तिममा रहेको एउटा रेष्टुरेन्टमा बस रोकियो । म पनि त्यतै गएँ । सबैलाई अभिवादन गरेर पूर्व परिचित साहित्यकारहरूसँग मुक्का जुधाए । कोभिड १९ पछि हस्त मिलनको बैकल्पिक शैली हो यो । केही साथीहरूको दुइटा औंलामा भएको औँठीले चाहिं झसंग पनि बनाइदियो ।  

कोही बसेर, कोही उठेर गफ्फिदै, नास्ता खाँदै, चिया तथा कफी पिउने काम गरियो । एकदम रमाइलो भयो ।  म बसभन्दा अघि लागें । कवि तथा नियात्रा कार पवन आलोक दाइले मलाई साथ दिनुभयो । हामीले झन्डै ११ बर्ष एउटै अफिसमा काम गरेको हुनाले बिगतका घटनाक्रमहरूको स्मरण गर्दै भलाकुसारीलाई सुचारू गर्यौ ।  

गल्छीमा घर अगाडि गाडी पार्क गरेर सानीमालाई साँचो छोडेँ । एकैछिनमा बस पनि आइपुग्यो । पवन दाइ र म बसमा चढ्यौँ । अधिकांश साथीहरू खुसी हुनुभयो ।    

नचिनेको व्यक्ति भएको सिटमा बसेर यात्रा गर्दा चिनापर्ची राम्रोसँग गर्न पाइने हुनाले मैले त्यस्तै सिट रोजें । कविता, गीत र नियात्रामा कलम चलाउने स्रष्टा चेतन पथ माधवसँग चिनजान गरेपछि म झन् दंग परें ।  

महेश दोभान आएपछि त्रिशूली नदी नजरमा पर्यो । अलिक धमिलो अनुहार र अमिलो मन लिएर सुसेल्दै गरेको जस्तो लाग्यो त्रिशूलीले । पारीपट्टि को पाखा पनि केही उराठ लाग्दो देखिन्थ्यो । तुवाँलोले चुरी फुरी गर्दै थियो । आकाश पनि घुर्मैलो थियो । आखिर चैत्र मास न पर्यो ।  

बेल्खु खोलाको पुलमाथि बस कुद्न थालेपछि उभिएर मैले भनें, 'हाम्रो गजुरी गाउँपालिकामा सबैलाई स्वागत छ' । अझै एकिन गर्नको लागि केही साथीहरूले एकै स्वरमा सोध्नुभयो, 'यहीं हो तपाईंको घर ?'        

मलेखुको सुरुमै देब्रे तिर आफ्नो गाउँ अमिल्टार जाने सडक देखेपछि मलाई आफ्नो घर गाउँको सम्झनाले सताउन थाल्यो । मलेखु खोलाको पूल माथि गाडी गुडिरहेको क्षणमा झ्यालबाट दोभानतिर हेरें । आफैले लेखेको गीतको एक पंक्तिको सम्झना आयो, 'त्रिशूलीमा मलेखु मिस्सियो, नठान्नु है मित्रता चिस्सियो, रस छ फूलैमा जति नजिक बगे नि त्रिशूली प्यास छ दिलैमा' ।   

पछाडिका साथीहरू अन्ताक्षरी खेल्दै हुनुहुन्थ्यो । मलाई पनि सक्रिय सहभागिता जनाउन मन लाग्यो ।  तर बिडम्बना न त आफूलाई गलाले साथ दिएको छ न त कलाले नै !  

साथीहरूलाई भनें, 'मन भएपनि स्वर राम्रो नभएकोले गाउन सक्दिन भन्न बाध्य हुँदा उत्पातै नमिठो लाग्यो मलाई । दुइटा अक्षरबाट चाहिं अन्ताक्षरी गाउन जानेको छु है ।' 

'कुन कुन दुइटा अक्षर ?' भन्ने प्रश्न पछाडिबाट तिब्र बेगमा आयो र मेरो कानमा ठोकियो । मैले जवाफ दिएँ, 'र' र 'ह' । अर्को टोलीबाट गाउने साथीहरूले तुरुन्तै 'र'  अन्तिममा पारिदिनु भयो र भन्नुभयो, 'ल ल अब ‘र’ को पालो ।'

मैले उठेर मुखाकृति र शारीरिक भावभङ्गी सहित गाइदिएँ, 'रेलि माई रेलि माई रेलिमाई लाहुरे दाइको रेलिमाई रेलिमाई' । सुरु चाहिं ‘र' बाट नै हो की अर्कै अक्षरबाट हो भन्ने कुराको त्यति सम्झना थिएन मलाई । जे होस्, साथीहरू मज्जा ले हाँस्नु भयो । 

'अर्को अक्षर चाहिं के हो नि ?'  कसैले सोध्नुभयो । मैले तत्काल भनें, 'ह, ह, हरियो डाँडा माथि हलो जोत्ने साथी, हो हो माले हो हो...हो हो तारे हो हो ' । जे होस् स्वरको मिठासबाट मनोरन्जन दिन नसके पनि एकछिन हल्का रमाइलो सिर्जना गर्न सकिएछ कि क्या हो भन्ने लाग्यो–साथीहरू खुसी हुनुभएको देखेर ।  

जोगीमारा भन्दा अलिक पर पानीको धारा र शौचालय भएको ठाउँमा गाडी रोकियो– 'बायो ब्रेक'को लागि । हामी केही साथीहरूले बसको अगाडिको ब्यानर छेउमा उभिएर फोटो खिच्ने काम गर्यौं । ठुला अक्षरमा 'साहित्यिक अवलोकन भ्रमण'  लेखिएको ब्यानरमा 'ऐतिहासिक सुन्दर ठाम, साहित्यिक सिर्जनाको नयाँ आयाम' पनि उल्लेख  थियो ।  

अगाडि बढेपछि पुनः अन्ताक्षरी तथा गीत सुचारू भयो । ' त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ' बोलको गीत साथीहरूले गाउन थालेपछि म त उठेर बिचमा गएर नाच्न थालें ।

चलिरहेको गाडीमा नाच्न सजिलो चाहिं थिएन । तथापि भरपुर रमाइलो भयो । गाउँदा गाउँदै त्रिशूली त झ्याप्पै मर्स्याङ्दीमा झरिसकेको ठाउँ पो आइसकेछ ।  

मुग्लिनको पूल पार गरेर हामी तनहुँ जिल्लामा प्रबेश गर्यौं । आँबुखैरेनी हुँदै डुम्रे पुगेपछि अब त बन्दीपुर नजिकै पुगियो भन्ने लाग्यो ।  

पृथ्वी लोकमार्गलाई छोडेर पिप्लेबाट सिंगल लेनको पिच सडक हुँदै हामी उकालो लाग्यौं । मारुनी झैं नाच्लान् जस्ता देखिने रँगाइएका सालका रूखहरू, चिलाउनेका बुटोहरू तथा अनगिन्ती प्रजातिका बोटबिरुवा भएको सुन्दर जंगल लाई नियाल्दै जाँदा जति माथि चढ्यो त्यति आकर्षक र फराकिला देखिए तलतिर का बेसी, टार तथा थुम्काहरू ।  

बाटोमा बाख्रा अनुसन्धान केन्द्र पनि रहेछ । नयाँनयाँ होटेल तथा रिसोर्टहरू धमाधम बन्दै रहेछन् । हाम्रो यात्राको उचाई बढ्दै जाँदा मन भित्रको कौतुहलता ले पनि शिखर चढेको आभाष भइरहेको थियो । 

आधा घण्टापछि बसपार्कमा गाडी रोकियो । बजारको मौलिकता, स्वच्छता र सफाइको खातिर त्यहाँबाट गाडी प्रवेश निषेध गरिएको जानकारी मिल्यो । राम्रो प्रबन्ध मिलाइएको रहेछ भन्ने लाग्यो । तथापि गुरू जीले बजार माथिको बाटो हुँदै होम स्टेको नजिकसम्म जान सकिने बताए पछि हामीले अघि बढ्न पायौं । 

बन्दीपुर सामुदायिक होम स्टेको घर नम्बर ११ को आँगनमा व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी राना तथा अन्य महिलाहरूले गीत गाएर, हरेक पाहुनालाई रातो टिका लगाइ हातमा फुलका थुँगा दिएर स्वागत गर्नुभयो । न्यानो आतिथ्यले मेरो मन मयूर झैँ नाच्न थाल्यो । 

हामी २५ जना लेखनकर्मीहरू ५ वटा होम स्टेमा बाँडियौँ । संयोगले मेरो होम स्टे नं. ११ नै पर्यो र रुम पार्टनर चाहिं श्रद्धेय पुष्प प्रसाद लुइँटेल । उमेरले ८७ टेके पनि उहाँको जोस जाँगर २७ बर्षे लाई  माथ गर्ने खालको देखेर गतिलो पार्टनर मिलेको महसुस गरी मैले आफूलाई भाग्यमानी सम्झे ।  

'म पनि आफू ८७ बर्षको हुँदा साहित्यिक अवलोकन भ्रमणमा जान सक्ने भएँ भने त कत्ति धेरै साहित्यिक तथा अनुसन्धानमूलक सिर्जनाहरू पस्किन भ्याउने थिएँ होला ?'  हैट,  म पनि कल्पनाको सागरमा डुबुल्की मार्न पो थाले छु ।  

बिगतमा पेशागत कामले बलमिच्याइँ गरेर लेखनीलाई सीमान्तकृत बनाइ दिएकोमा दुखानुभुती महसुस हुँदा मन बहकिन्छ कहिलेकाहीँ । तथापि सिमान्तकृत लेखनी जुरमुराउँदै उठेकोले उत्साहित छ बर्तमान ।  हेरौं, भविष्य कस्तो हुनेछ ?

२०६८ सालबाट प्रारम्भ भएको होम स्टेले २२ घर समेटेको रहेछ । महिलाहरूको सक्रियता र नेतृत्वमा संचालित १५० जनासम्म पाहुनाको सत्कार गर्नसक्ने होम स्टे समावेशी भएको तथ्यले उल्कै सन्तुष्टि दिलायो । किनकि नेवार, बाहुन, क्षेत्री, सुनार, मगर, गुरुङ समुदायका घर परिवार एक सूत्रमा बाँधिएर चुस्त र दुरुस्त व्यवस्थापनमा होम स्टे संचालन गरिएको रहेछ ।  

नेस्रसले बन्दीपुरमा होम स्टे नै छान्नुको पछाडि केवल स्रष्टाहरूको बसाइ सुविधामात्र नभइ सामुदायिक होम स्टेको बढोत्तरीको लागि संदेश दिने अभिप्राय भएको कुरा बताउनु भयो समाजका अध्यक्ष विधान आचार्यले । यस्तो दामी उद्देश्य राख्ने संस्थालाई साधुवाद नभनी बस्न सकिएन ।  

टुँडिखेलको प्रवेशद्वारमा ठिङ्ङ उभिएका बर पिपलका भीमकाय वृक्षहरू चित्ताकर्षक थिए । बयोबृद्ध रूखमा झुण्डिएका अर्किड फूलहरू सुनगाभा, चाँदी गाभा तथा सुनाखरी आदिले झन् सुन्दरता बढाएको थियो ।  हाम्रो टोलीले ठुलो रूखमा आड लागेर फोटो खिच्न तँछाडमछाड गरेको दृश्य पनि हेर्न लायककै थियो ।  

होम स्टे नं. ११ की पार्वती भण्डारी बहिनीको सत्कारमा घरेलु स्वादको न्यास्रो मेटाइ दिने सरल र स्वादिष्ट भोजन पश्चात हाम्रो समुहका पाँचैजना बस रोकिएको ठाउँमा गयौं ।  

अरू समूहका साहित्यकारहरू तथा मित्र वरहरू पनि आउनु भएपछि प्रस्थान गरियो रेशम खेती तथा मौरीपालन अवलोकन गर्नको लागि ।  

पोखरा महानगरपालिका ३१ मा अवस्थित बेगनास मौरी घार उद्योगबाट ल्याइएका घारहरूमा मौरीहरू रमाइरहेका थिए । घारलाई आकर्षक ढंगले चिटिक्क पारेर बनाइएको रंगीन जस्ताको दुइ पाखे च्यान्टे घरमा राखिएको रहेछ । हेर्दै मा सेल्फी खिचूँ खिचूँ लाग्ने ! 

होर्डिङ बोर्डमा मौरी तथा महका फाइदाहरू उल्लेख गरिएका रहेछन् । 'बोटबिरुवाको बंश संरक्षणमा मौरीको प्रमुख भूमिका रहने तथा फूलले मौरीको र मौरीले फूलको संरक्षण गर्ने ' कुरा निकै घतलाग्दो रहेछ ।  

रेशम कीराको आहारा किम्बुका हरिया बुटाहरूलाई मोबाइलमा कैद गरेर केही साथीहरूका साथ म पसे कार्यालयमा । एक कर्मचारीले रेशम कीराबाट कसरी रेशम निस्किन्छ भनेर प्रयोगशालामा नै लगेर देखाइदिनु भयो ।  

'कृषिले साहित्यिक प्रस्फुटनमा सहयोग गर्ने र साहित्यले कृषिको जगेर्ना गर्न सघाउने' कुराको फेरी पनि आत्म बोध गरें मैले । आखिर साहित्य केवल कल्पनाको आकाशमा विचरण गर्ने वायुयान मात्र नभइ यथार्थताको धरातलमा टेकेर गन्तब्य तर्फ अग्रसर हुने पैदल यात्री पनि त हो नि !  

होम स्टेमा फर्केर हल्का ताजा भएपछि स्वच्छन्द हिसाबले बन्दीपुरको अवलोकन गर्ने कार्यको थालनी भयो ।  

ढुंगा बिछ्याइएका सफा सडकहरू; झिँगटी, ढुंगा र जस्ताको छाना भएका घरहरू; पुरानो ऐतिहासिक 'बहिदार १९३८ एडी' लेखिएको घर तथा समग्र बजारको परिदृश्यले भक्तपुर शहरको झझल्को दिएको महसुस गरें । बजारको मुटुमा भएका शृंगार सहितका रेष्टुरेण्टहरू तथा बिदेशी पर्यटकहरूको चहल पहलले ठमेल बिर्साउन खोजे जस्तो लाग्यो मलाई ।  

घर वा रेष्टुरेन्टको पिँढी तथा पेटीमा खोसेल्टाबाट बनेका गोलाकार चकटी र त्यसमा बसेर आनन्द लिइरहेका बिदेशी पर्यटकहरू देख्दा बाल्यकालमा आफ्नै घरमा बुनेको चकटी हातमा झुण्ड्याएर प्राथमिक स्कुलमा पढ्न गएको स्मरण भयो ।  

हाम्रो एक टोली गफगाफ गर्दै टुँडिखेल तिर लाग्यो । टुँडिखेलभन्दा अलिक माथि निर्माणाधीन १० तले भवन देखियो । यो त चार तारे होटेल र केवुल कारको माथिल्लो स्टेशन पो रहेछ । काठमाडौंको एयरपोर्ट होटेलमा रहेको रिभल्भिङ रेष्टुरेन्ट जस्तै गोलाकार आधुनिक दृश्यावलोकन प्वाइन्ट बनाएको जस्तो देखियो ।  

अब एक बर्ष भित्र निर्माण सम्पन्न भइसक्ने योजना रहेको केवुल कार ठूल्ढुङ्गास्वाँराबाट सुरु भएर सिद्वगुफाको नजिकबाट १.६ किलोमिटरको दुरी ९ मिनेटमा पार गरी बन्दीपुर स्टेशनमा पुग्ने रहेछ ।  

मूख्य बजारबाट १० मिनेटको हिँडाइ पश्चात हामी टुँडिखेलमा पुग्यौं । लाम्चो आकारमा फैलिएको टुँडिखेलमा बाहिरबाट अध्ययन भ्रमणमा आएका सयौं विद्यार्थीहरू देखिन्थे भने केही स्थानीय खेलाडीहरू पनि । छेउमा हिड्ने पेटी तथा बार लगाइएको रहेछ ।  

पल्लो छेउमा पुगेर बारमा समात्दै तल हेर्दा छङ्गाछुर भिर देखेपछि सुष्मा आचार्य ‘अंशु’ ले भन्नुभयो, 'हैट, यो त सुसाइड प्वाइन्ट जस्तो पो रहेछ त !' 

मौसम खुलेको थिएन । त्यसैले हामीले टुँडिखेलबाट तलको डुम्रे बजार, बेँसीका फाँटहरू, टारहरूको मनोरम दृश्य त देख्यौं तर बाक्लो तुवाँलोले गर्दा उत्तरी भेगमा पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमशृङखलामा अवस्थित लामटाङ, गणेश, मनास्लु, अन्नपूर्ण, धौलागिरि, काञ्जिरोवा आदि हिमालहरू अवलोकन गरेर रोमाञ्चित हुने अवसरबाट बन्चित भयौं ।  

टुँडिखेल आफैमा एउटा प्राकृतिक ‘भ्यू टावर' रहेछ । त्यसमाथि त्यहीँ नै शिशाको ‘दृश्यावलोकन विन्दु’ बनाउने तरखर गर्दै रहेछ गाउँपालिकाले ।  

फेदीबाट जुरुक्क उठेर तल तिरै ढल्किए जस्तो देखिने छेउको पहाडको बनोटाकृति बिछट्टै आकर्षक देखिन्छ । पहाडदेखि छिम्केश्वरी फेदीसम्म देखिने हरियाली जंगलको महिमा छुट्टै छ । यहीं नै माउन्टेन जंगल सफारीको सेवा सुरु हुनलागेको कुरो सुन्दा कसलाई आनन्द आउँदैन होला र ?    

टुँडिखेल छेउबाट फर्किदै गर्दा प्रा. डा. गोविन्द मान सिंह कार्कीले भन्नुभयो, 'छेउको बार जोखिमयुक्त भएकोले सचेत गराउन सूचना टाँस्नुपर्ने देखियो ।' 

होम स्टेमा फर्केपछि सोही ठाउँबाट केही हप्ता अघिमात्र 'बन्दीपुरमा कक्षा ९ मा अध्ययनरत एक छात्र टुँडिखेलमा लगाइएको पर्खाल भत्किएर ३ सय मोटर तल खसेकाले मृत्यु भएको दुःखद खबर' अनलाइन मार्फत थाहा पाउँदा नमिठो लाग्यो । यो अवस्थाले माथिको सुझावमा दम भएको पुष्टि गर्यो ।  

टुँडिखेलको प्रवेशद्वारमा ठिङ्ङ उभिएका बर पिपलका भीमकाय वृक्षहरू चित्ताकर्षक थिए । बयोबृद्ध रूखमा झुण्डिएका अर्किड फूलहरू सुनगाभा, चाँदी गाभा तथा सुनाखरी आदिले झन् सुन्दरता बढाएको थियो ।  हाम्रो टोलीले ठुलो रूखमा आड लागेर फोटो खिच्न तँछाडमछाड गरेको दृश्य पनि हेर्न लायककै थियो ।  

राणाकालमा २००१ सालमा स्थापित बन्दीपुर पद्म पुस्तकालय प्रवेश गर्नको लागि नगेन्द्र दाइले व्यवस्था मिलाउनुभयो । एक हुल स्रष्टाहरू भित्र पस्यौँ । पवन दाइले पुस्तकालयमा रहेका उहाँका दुई कृतिहरू 'यूरोपको झझल्को' (नियात्रा संग्रह) र 'पवन आलोकका केही कविता'  (कविता संग्रह) झिकेर देखाउनुभयो । हामी सबैलाई लेखनीको गतिलाई तिब्रता दिन हौसला प्रदान गर्ने खालको क्षण थियो त्यो ।  

पुस्तकालय खोली दिने भाइले नमस्तेलाल भुमि श्रेष्ठद्वारा लिखित एउटा पुस्तक नगेन्द्र दाइलाई उपहार दिंदै भन्नुभयो, 'यो मेरो बुवाको पुस्तक हो ।' 

मैले तत्काल सोधें, 'यूनिसेफमा काम गर्ने नमस्तेलालजीलाई त मैले पनि चिनेको छु, उहाँ नै हो कि ?' भाइले खुसी हुँदै सहमती जनाउनुभयो । इन्जिनियरिङ्ग पृष्ठभूमिको साथीले किताव लेखेको कुरा मलाई प्रलय नै मन पर्‍यो ।  

पुस्तकालयको भर्‍याङबाट तल झर्न लाग्दा गम खाँदै संकल्प गरें, 'कुनै दिन म यो पुस्तकालयमा आफ्नो प्रकाशित कृति ल्याएर दिनेछु' भनेर ।  

साँझ परेपछि बन्दीपुर सामुदायिक होम स्टेको हलमा साहित्यिक कार्यक्रम सुरु भयो । मधु पाठकद्वारा संचालित छोटो र मिठो कार्यक्रममा नगेन्द्र राज शर्मा, पुष्प प्रसाद लुइँटेल, बिमल बैद्य, प्रकाश घायल,  प्रा. डा. गोविन्द मान सिंह कार्की, डा. शान्ति माया गिरि, राजेन्द्र गुरागाई, रश्मि रिमाल, जानु धिताल, दुर्गा किरण तिवारी, ऋष भदेव घिमिरे, सुमन थापा ‘संगम’, चेतन पथ माधव, दीपक लोहनी, छवि रमण सिलवाल आदिले आफ्ना कविता वाचन गर्नुभएको थियो ।

अन्त्यमा नेस्रसका निबर्तमान अध्यक्ष पवन आलोक र साहित्यकार तथा मूर्धन्य साहित्यिक पत्रकार नगेन्द्र राज शर्माले आफ्नो विचार पनि राख्नु भयो भने समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आफ्नो मन्तब्य सहित कार्यक्रमको समापन गर्नुभयो ।  

मैले वाचन गर्न ठिक पारेको कोसेली मोबाइलमा थियो । साँझमा बिजुली बत्ती घर बिदामा बसेको हुँदा मोबाइल चार्ज गर्न सकिन । तसर्थ सबैका सामु कोसेली बाँड्न नपाउँदा भने अलिक खल्लो लाग्यो ।     

होम स्टेको पिँढी, पेटी तथा आँगनमा बसेर नाचगान, रमझम सहित डिनर गर्दाको मज्जा बिर्सि नसक्नुको थियो ।  

दोस्रो दिन बिहान ५.३० बजे सनराइज हेर्न माथि डाँडोमा जाने सल्लाह भए अनुसार तयार भएर होम स्टेबाट बाहिर निस्किँदा पानीले पो स्वागत गर्यो । पूर्व निर्धारित योजनामा तुषारापात हुँदा मनै खिन्न भयो । चुकिलो मन लिएर कोठामा फर्कनुभन्दा अर्को बैकल्पिक सातु सामल बाँकी रहेन मेरो धैर्यताको झोलीमा ।   

पानी रोकिएपछि रूपासँग बिस्तारै फोटो खिच्दै बजारतिर गएँ म । '२५ जनाको सूचीमै नभएकी कुन रूपा भन्ने केटीसँग घुम्न निस्किएछ फेरी ?' भन्ने सोचेर आश्चर्यचकित नहुनु होला ल ? यो त हिजो साँझ प्रकाश घायलले न्वारन गर्नु भएको छोटो नाम हो क्या ! रूपाको मतलब रुम पार्टनर ।  

रूपाको ट्याब्लेटले मेरो फुच्चे मोबाइलले भन्दा राम्रो रूप देखिने फोटो खिच्ने रहेछ । उहाँले बिहानै कलेजको ड्रेसमा निस्किएका एक विद्यार्थीलाई हामी दुईको फोटो लिन लगाउनु भयो होम स्टे लेखिएको द्वार मुनी बसेर ।  

विन्ध्याबासनी मन्दिर अगाडि केही साथीहरूसँगै रूपालाई छोडेर म चाहिं अर्को एउटा सानो समूहसँगै खड्देवी मन्दिरको अवलोकन गर्न गएँ । मन्दिरको नजिकै रहेको बर पिपलको पाको तथा आकर्षक जोडी देख्दा मलाई 'फुलबुट्टे सारी' बोलको गीतमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा यहीँ आएर अभिनय पो गर्दैछन् कि जस्तो अनुभूति भयो ।  

समयाभावले गर्दा म त्यो चौपट्टै दिल छुने चौतारीमा धित मरुञ्जेल बसेर रमाउन सकिन । नजिकै रहेको बन्दीपुर गाउँपालिकाको साइनबोर्ड आउने गरी सामुहिक फोटो खिचेर हामी बन्दीपुरको महिमाको चर्चा गर्दै तल झर्यौं ।  

बजारमा ड़ा. शान्ति माया गिरिले भन्नुभयो, 'हामी त ३ जना माथि डाँडामा गएर फर्केको । २० मिनेटमै पुगिने रहेछ ।'      

सनराइज हेर्ने सपनालाई झरीले रुझाई दिएपछि रुझेको बिरालो झैं भएको पहाड चढ्ने रहर एक्कासी जुरमुराएर उठ्यो । संजीवनी बुटी नै हुन पुग्यो उहाँको त्यो भनाइ ।  
प्रा. डा. गोविन्द मान सिंह कार्की र म कस्सियौं सूर्योदय र सूर्यास्त हेर्ने स्थलको रूपमा चर्चित थानीमाई डाँडामा हाइकिङ गर्नको लागि ।   

भलाकुसारी मार्फत आपसी चिनजानलाई झन् गाढा रंग भर्दै, एकले अर्काको फोटो खिच्दै, सेल्फीको पनि चित्त नदुखाई २० मिनेटमै हामी थानीमाई डाँडामा पुग्यौं । थानीमाई मन्दिरको दर्शन पनि गर्यौं । सूर्योदय हेर्ने समय भेड्कीसकेको थियो । तलतिर 'ह्वाइट लेक' अर्थात सेताम्मे कुहिरोले ढाकेपछि देखिने कुहिराको  तलाऊ पनि हेर्न सकिएन ।  

थानीमाई मन्दिर देखी मणिमुकुन्देश्वरी मन्दिरसम्म ४ किलोमिटर लामो ग्रेटवाल अर्थात थानीमाई – मणिमुकुन्देश्वरी पर्खाल निर्माण भइरहेको देख्दा हर्ष बिभोर भएँ म । यसले चीनको ग्रेटवालको झल्को दिइरहे जस्तो लाग्यो मलाई ।  

केही खुद्रा मसिना कमी बाहेक भ्रमण बेजोड रहेको सर्वसम्मत निस्कर्ष निस्कियो । 'अर्को साल यस्तै भ्रमणमा नछुटाउनु है ?' भन्ने आग्रह अधिकांशको थियो । सबैबाट भ्रमण व्यवस्थापनमा सक्रिय सुमन थापा, प्रकाश घायल, मधु पाठक र अर्जुन थापाको कुशलता र सहृदयताको मुक्त कण्ठले प्रशंशा गर्दै मुरी मुरी धन्यवाद दिने काम भयो ।  

थानीमाई डाँडाबाट देखिने मनोरम दृश्यले धुन धानसँग मोहनी लगाएकाले हामी मन्त्रमुग्ध भयौं । बन्दीपुरमा एक नम्बर आकर्षणको केन्द्र नै थानीमाई डाँडा रहेछ भन्ने निष्कर्षमा पुग्यौं हामी दुई भाइ । बन्दीपुरको पर्यटन विकासको लागि धुरी खाँबो हुनेछ ग्रेटवाल सहितको थानीमाई डाँडा । यहाँ आउन नपाएको भए त ठुलो मौका गुम्ने पो रहेछ !  

डाँडाबाट सिंगो बन्दीपुरलाई नजरमा कैद गरेर खुबै स्मरण गरें मैले साहित्यकार द्वय द्वारिका श्रेष्ठ र मोहनबहादुर कायस्थ, जनस्वास्थ्य शिक्षाविद एवं बरिष्ठ मानवअधिकारकर्मी प्रा. डा. मथुरा प्रसाद श्रेष्ठ र शिक्षाविद चिजकुमार श्रेष्ठ जस्ता पुर्ख्यौली घर बन्दीपुर भएका हस्तीहरूलाई ।    

बन्दीपुरको पर्यटन विकासले सफलताको सगरमाथा चुम्न खोज्दै रहेछ । प्याराग्लाइडिङको सुरुवात भएको रहेछ । रानीवन क्षेत्रमा ९ किलोमिटर साइकल लेनको निर्माण पनि गरिएको रहेछ । एक हजार एकसय मिटर लामो पदमार्ग निर्माण पनि भइसकेको भन्ने जानकारी पाउँदा अघोरै रमाइलो लाग्यो ।  

२००७ सालको क्रान्तिमा प्रजातन्त्रको लागि बिगुल फुक्ने बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम मात्र नभई एउटा प्रमुख ऐतिहासिक तथा व्यापारिक केन्द्र थियो । २०२५ सालमा सदरमुकाम दमौली सारिएपछि केही दशकसम्म बन्दीपुर मुर्झाएको तथ्य सार्वजनिक छँदैछ ।   

रैथाने मगर समुदाय र भक्तपुरबाट बसाइ सरेर आएका नेवार समुदाय (प्रधान, श्रेष्ठ, मल्ल, पिया, जोशी) को प्रयासबाट निर्माण भएको पुरानो बजारले आफ्नो विशिष्ट सांस्कृतिक मौलिकताको पहिचान दिइरहेछ । भौगोलिक, सामाजिक, भाषिक, सांस्कृतिक विविधताको अनुपम संगमको रूपमा रहेको बन्दीपुर अब नयाँ पर्यटकीय गन्तब्यको रूपमा उदियमान भएर आएको छ ।  

कृषि र पशुपालनको बिस्तार र उन्नतीको लागि सिकाइ केन्द्र तथा प्रेरणा स्रोतको रूपमा विकासित हुँदै गएको छ बन्दीपुर ।     

खानपिन गरेपछि होम स्टेकी अध्यक्षले छोटो मन्तब्य दिएर बिदाइ गीत पनि गाउनु भयो । हाम्रो साथी दुर्गा किरण तिवारीले नाचेर ऐक्यबद्धता जनाउनुभयो । महिला टोलीले हरेक पाहुनालाई रातो टिका र पुष्प थुंगा सहित बिदाई गर्नुभयो ।  

बसमा बन्दीपुरबाट ओरालो झर्दा साहित्यिक अवलोकन भ्रमणको समिक्षात्मक कार्यक्रम सुरु भयो । हरेक सहभागीले पालैपालो ड्राइवरको क्याबिनमा अडेस लागेर वा अगाडि उभिएर समग्र भ्रमणको राम्रा पक्ष र सुधार गर्नुपर्ने कुराहरूबारे बताउनु भयो ।  

केही खुद्रा मसिना कमी बाहेक भ्रमण बेजोड रहेको सर्वसम्मत निस्कर्ष निस्कियो । 'अर्को साल यस्तै भ्रमणमा नछुटाउनु है ?' भन्ने आग्रह अधिकांशको थियो । सबैबाट भ्रमण व्यवस्थापनमा सक्रिय सुमन थापा, प्रकाश घायल, मधु पाठक र अर्जुन थापाको कुशलता र सहृदयताको मुक्त कण्ठले प्रशंशा गर्दै मुरी मुरी धन्यवाद दिने काम भयो ।  

बन्दीपुर ! अब अर्को पटक केवुल कारमा चढेर तिम्रो मायालु काखमा निदाउने गरी अनि ग्रेटवालमा उभिएर तिमीलाई न्यानो अँगालोमा कस्ने गरी आउनेछु, तिम्रो महिमाले सजिएको कोसेली पनि बोकेर ।